नेपाली सेनाको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडीद्वारा पुरस्कृत गरे।
आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्प सहित कठिन तालिम पश्चात् आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै नव आयुक्त अधिकृतहरू सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायरा भित्र रही सदैव आफ्नो जिम्मेवारी र दायित्व प्रति सजग र कर्तव्यनिष्ठ रहने विश्वास व्यक्त गरे।
सि.सं.६३ अधिकृत क्याडेट, सि.सं.५ स्नातक अधिकृत क्याडेट र सि.सं. ५३ पदिक तथा बिल्लादार अधिकृत आधार तालिममा सहभागी जम्मा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेको उक्त समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्वियाबाट तालिममा सहभागी ३ जना शिक्षार्थी अधिकृत क्याडेटहरुलाई नेपाली मिलिटरी एकेडमी (एनएमए) मेडालियन प्रदान गरेका थिए।
नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेट गरी ६७३४ जना तथा १६०८ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन्।
सन् २०१२ बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरूका ३२ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन्।
आजको समारोहमा नवआयुक्त अधिकृतहरूलाई आ-आफ्नो अभिभावक लगायत आफन्तजनहरूबाट सुशोभन गरिएको जंगी अड्डाले जनाएको छ।











Shares

प्रतिक्रिया