कला


चीन-नेपाल रेलमार्ग निर्माण आफैँमा सुन्दर र शक्तिशाली फिल्म बन्नेछ : वाङ बोताओ (भिडिओ)


अनिल यादव
चैत २५ , काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करण सोमबार अवार्ड समारोहसँगै सम्पन्न भयो। महोत्सवमा ‘सिजाङ प्यानोरामा’ अन्तर्गत प्रदर्शन भएको वृत्तचित्र ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ले निकै चर्चा पायो। 

यस डकुमेन्ट्रीले तिब्बतको रहस्यमय छविभन्दा बाहिर निस्केर त्यहाँका विद्यार्थीहरूको वास्तविक र आधुनिक जीवनलाई पर्दामा ल्याएको छ। आफ्नो फिल्मसहित महोत्सवमा सहभागी हुन काठमाडौँ आइपुगेका यस फिल्मका निर्माता वाङ बोताओ नेपालखबर स्टुडिओमा गफिन आइपुगेका थिए। उनले उच्च हिमाली भेगमा फिल्म छायांकन गर्दाका चुनौतीदेखि नेपाल र तिब्बतबीचको साझा सांस्कृतिक साइनोबारे चर्चा गरे। 

पश्चिमाहरूको रहस्यमय नजरबाट बाहिर निस्केर आधुनिक हिमाली कथा भन्नुपर्नेमा जोड दिने बोताओ भृकुटी र अरनिकोदेखि प्रस्तावित चीन–नेपाल रेलमार्गसम्मका विषयमा सहकार्यको सम्भावना देख्छन्। प्रस्तुत छ, उनीसँग अनिल यादवले गरेको कुराकानी :

तपाईंको फिल्मले सिजाङ (तिब्बत)को एउटा छुट्टै पाटो पर्दामा ल्याएको छ। यस कथाको मुख्य प्रेरणा के थियो? नेपाली दर्शक, जसको हिमाली संस्कृति मिल्दोजुल्दो छ, उनीहरुले यो फिल्मबाट कस्तो सन्देश वा भावना पाउनेछन् भन्ने तपाईंको अपेक्षा छ?
आज मैले तपाईंहरूसामु ल्याएको यो फिल्मले तिब्बतका तीन वटा सहरका ६ जना माध्यमिक विद्यालयका विद्यार्थीहरूको सामान्य जीवनलाई एक फ्रान्सेली निर्देशकको नजरबाट प्रस्तुत गरेको छ। दृश्य शैलीका हिसाबले हामीले कुनै बनावटी नाटक नगरी यसलाई यथार्थपरक र स्केचजस्तै बनाउने प्रयास गरेका छौँ। यो डकुमेन्ट्रीको मुख्य उद्देश्य नै जुनियर हाइस्कुलका विद्यार्थीहरूको वास्तविक र दैनिक जीवनलाई देखाउनु हो।

नेपालमा यसको प्रदर्शनी भइरहँदा दर्शकले यसबाट धेरै कुरा पाउनुभयो भन्ने आशा गर्छु। पहिलो, जानकारी– फिल्म हेरिसकेपछि तपाईंले आजका तिब्बती किशोरकिशोरीहरूको जीवन कस्तो छ, उनीहरूको विद्यालय र घरको वातावरण कस्तो हुन्छ र उनीहरूका खुसी, चिन्ता र सपनाहरू के–के हुन् भन्ने बुझ्नुहुनेछ।

दोस्रो, सामीप्य। नेपाल र तिब्बत छिमेकी हुन् र यहाँको संस्कृति धेरै मिल्दोजुल्दो छ। त्यसैले अन्य क्षेत्रका दर्शकको तुलनामा नेपाली दर्शकले आफ्नै छिमेकीका छोराछोरीको जीवन देख्दा अझ बढी आत्मीयता महसुस गर्नेछन् भन्ने मलाई विश्वास छ।

तेस्रो, भावनात्मक पक्ष। यो फिल्म एक फ्रान्सेली निर्देशकको भोगाइबाट खिचिएको हुनाले बालबालिका र उनीहरूका परिवारसँगको अन्तर्क्रियामा धेरै रमाइला क्षणहरू छन्, जसले दर्शकलाई हँसाउँछ। सँगसँगै, ती बालबालिकासँग बिदा माग्दाको एउटा साँचो दुःख पनि यसमा छ। हामी यही मानवीय सम्बन्धको गहिराइ दर्शकमाझ पुगोस् भन्ने चाहन्छौँ।

नेपाल र तिब्बतबीच गहिरो भौगोलिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्ध छ। काठमाडौँ आएदेखि तपाईंले यहाँका मानिस र वातावरणमा आफ्नो फिल्ममा देखाइएका कुराहरूसँग के–कस्तो समानता पाउनुभयो?
विगत केही दिनदेखि हाम्रो तालिका निकै व्यस्त थियो, हामीले फिल्म प्रदर्शन हुने ठाउँहरूमा मात्रै ओहोरदोहोर गरिरह्यौँ। त्यसैले सहरका गल्लीहरूमा डुल्ने र यहाँको वातावरणलाई पूर्ण रूपमा महसुस गर्ने समय भने पाएनौँ।

तर, तपाईंले भने जस्तै, यहाँ थोरै समय बस्दा पनि मैले तिब्बतसँग धेरै समानताहरू फेला पारेको छु। जस्तै, खादा ओढाउने चलन। हामी काठमाडौँ ओर्लंदा यहाँका साथीहरूले खादा ओढाएर स्वागत गर्नुभयो। तर मैले एउटा कुरा के याद गरेँ भने यहाँको खादाको कपडा र रङ अलि फरक हुँदो रहेछ। यहाँका खादाहरू धेरै रङ्गीन र विभिन्न कपडाका छन्। तिब्बतमा भने परम्परागत रूपमा सेतो सिल्कको खादा प्रयोग गरिन्छ।

त्यस्तै, यहाँका सडकमा हिँड्दा सजिलै देखिने स्तुप र मन्दिरहरूले पनि तिब्बतको सम्झना दिलाउँछन्, जुन त्यहाँ पनि निकै सामान्य हुन्। अर्को एउटा रमाइलो कुरा– मैले यहाँ मःम भन्ने परिकार निकै प्रख्यात छ भन्ने सुनेको छु। यसले मलाई मेरो डकुमेन्ट्रीको एउटा दृश्य सम्झायो। फिल्ममा फ्रान्सेली निर्देशक ज्याकले एउटी केटी र उसको परिवारसँग तिब्बती खाना बनाउने प्रयास गर्छन्। ज्याकले ‘यो के बनाएको?’ भनेर सोध्दा ती केटीले भन्छिन्, ‘तिब्बती भाषामा यसलाई मःम भनिन्छ।’ मलाई अचम्म लागेको छ, नेपालको मःम पनि त्यही हो कि?

‘विश्वको छाना’ भनेर चिनिने उच्च हिमाली क्षेत्रमा फिल्म खिच्नु शारीरिक र प्राविधिक रूपमा निकै चुनौतीपूर्ण मानिन्छ। फिल्म निर्माणका क्रममा तपाईंले भोग्नुभएको चुनौती कस्तो थियो र त्यसले तपाईंलाई एक चलचित्रकर्मीको रूपमा के सिकायो?
वास्तवमा, यो डकुमेन्ट्री निर्माणका क्रममा उचाइ नै सबैभन्दा ठूलो चुनौती थियो। हामीले छायांकन गरेका ठाउँहरू औसत ३,५०० मिटरको उचाइमा थिए भने सिगात्सेमा त ४,००० मिटरमाथि थियो। हाम्रा सिनेमाटोग्राफरहरूले काम गर्दागर्दै सास फेर्न र आराम गर्न बारम्बार रोकिनुपर्थ्यो।

हाम्रो अर्को ठूलो चिन्ता ६७ वर्षिया फ्रान्सेली निर्देशकको स्वास्थ्यलाई लिएर थियो। सुरुमा उहाँको शारीरिक अवस्थालाई लिएर हामी निकै डराएका थियौँ। काम सहज होस् भनेर उहाँले आउनुअघि पेरिसको एउटा प्रयोगशालामा उच्च उचाइको सिमुलेसन तालिम समेत लिनुभएको थियो।

भौगोलिक अवस्था अर्को चुनौती थियो। हामीले छायांकन गरेका तीन वटा विद्यालयहरू न्यिङ्ची, सिगात्से र ल्हासामा थिए, जुन एक–अर्काबाट निकै टाढा छन्। टोलीलाई धेरै थकाइ नलागोस् भनेर हामीले छायांकनलाई वसन्त, ग्रीष्म र शरद ऋतु गरी तीन चरणमा बाँडेर सम्पन्न ग¥यौँ। 

विश्वभर नै आदिवासी र हिमाली कथाहरूमा चासो बढ्दो छ। चीन र नेपालका चलचित्रकर्मीहरू मिलेर अन्तराष्ट्रिय मञ्चमा हिमाली न्यारेटिभलाई अगाडि बढाउन कसरी सहकार्य गर्न सक्छन्?
औपनिवेशिक कालदेखि नै पश्चिमा जगतमा हिमाली क्षेत्रप्रति एउटा गहिरो आकर्षण छ र सन् २०२० पछि यो अझ बढेको छ। तर, कलात्मक सिर्जनाको कुरा गर्दा मलाई लाग्छ, हामी हिमाली क्षेत्रका मानिसहरू एउटा पासोबाट जोगिनुपर्छ, त्यो हो पश्चिमाहरूको स्वाद अनुसार फिल्म बनाउनु।

धेरै पश्चिमाहरूको यस क्षेत्रप्रतिको चासो शताब्दीऔँ देखिको एउटै दृष्टिकोणमा अडिएको छ– उनीहरू यहाँको रहस्य, प्राचीन रहस्यमय कुरा र आध्यात्मिकता मात्र हेर्न चाहन्छन्। तर समय बदलिएको छ र समाज अगाडि बढेको छ। यदि हामीले अन्तराष्ट्रिय मञ्चमा केवल ती पुराना र रहस्यमय विषय मात्र देखायौँ भने हामीले यस क्षेत्रको पूर्ण तस्बिर प्रस्तुत गर्न सक्दैनौँ, बरु पश्चिमाहरूको गलत बुझाइलाई अझ बढावा दिने जोखिम रहन्छ।

चीनको अर्थशास्त्रमा एउटा शब्द लोकप्रिय छ– ‘सप्लाई–साइड स्ट्रक्चरल रिफर्म’ (आपूर्ति पक्षको संरचनात्मक सुधार)।  मलाई लाग्छ, हिमाली फिल्म क्षेत्रमा पनि यस्तै सुधार आवश्यक छ। हामीले आधुनिक नेपाल र आधुनिक तिब्बत झल्काउने कामहरूलाई बढावा दिनुपर्छ।

निफमा सिजाङ प्यानोरामाको सहभागीको रूपमा चीन र नेपालको चलचित्र उद्योगबीचको मित्रता र कलात्मक आदानप्रदानलाई अगाडि बढाउन यस्ता अन्तराष्ट्रिय महोत्सवहरूको भूमिका कस्तो देख्नुहुन्छ?
मलाई लाग्छ, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) विचार आदानप्रदानको एउटा उत्कृष्ट प्लाटफर्म हो। यसले विश्वभरका चलचित्रकर्मीलाई एक ठाउँमा ल्याउँछ र भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरू सिर्जना गर्छ।

हिजो नेपाल टेलिभिजनको एउटा कार्यक्रममा सहभागी हुँदा मैले महोत्सवका जुरी सदस्य अमेरिकी मानवशास्त्री प्राध्यापक र इरानी–फ्रान्सेली निर्देशकलाई भेट्ने मौका पाएँ। कार्यक्रमपछि हामीले सम्पर्क नम्बर साटासाट ग¥यौँ र भविष्यमा सहकार्य गर्नेबारे छलफल ग¥यौँ। 

चीन र नेपालबीचको चलचित्र सहकार्यको कुरा गर्दा अहिले हामी मुख्यतया डकुमेन्ट्रीमा केन्द्रित छौँ, जुन धेरैजसो मैले काम गर्ने टेलिभिजन स्टेसनले उत्पादन गरेको हो। त्यसैले फिल्म उद्योगका धेरै मानिससँग हाम्रो सम्पर्क भइसकेको छैन। तर, टेलिभिजन संस्थाहरूबीच डकुमेन्ट्री निर्माणमा हामीले केही नेपाली टेलिभिजन च्यानलहरूसँग सहकार्य सुरु गरिसकेका छौँ। म यस क्षेत्रमा ठूलो सम्भावना देख्छु। यस्तै महोत्सवले गर्दा नै मैले नेपाल र विश्वका सहकर्मीहरूलाई भेट्न पाएको हुँ।

नेपालको सुन्दरता र आतिथ्य अनुभव गरेपछि के तपाईं भविष्यमा चीन र नेपालका कलाकार, प्राविधिक र स्थानहरू समेटेर कुनै सह–उत्पादन गर्ने सम्भावना देख्नुहुन्छ?
आगामी २० वर्षको कुरा गर्दा, मलाई लाग्छ चीन र नेपालबीचको सबैभन्दा ठूलो र महत्वपूर्ण परियोजना भनेको चीन–नेपाल रेलमार्ग हुनेछ। यो रेलमार्ग दुई देशबीचको आर्थिक, व्यापारिक र जनस्तरको सम्बन्धको नयाँ कडी बन्नेछ। यसले गर्दा आपसी सम्बन्धका अनगिन्ती नयाँ कथाहरू जन्मिनेछन्।

यो मानव इतिहासकै सबैभन्दा चुनौतीपूर्ण सीमापार रेलमार्ग परियोजना हुन लागेकाले, यसको निर्माण प्रक्रियालाई मात्र डकुमेन्ट्रीमा उतार्ने हो भने पनि त्यो आफैँमा एउटा शक्तिशाली र रोचक फिल्म बन्नेछ।

यति मात्र होइन, यो रेलमार्ग बन्नुभन्दा धेरै अघिदेखि नै हिमालका दुवैतर्फका मानिसहरूको हजारौँ वर्ष पुरानो साझा इतिहास छ। स्रोङ्चन गम्पोसँग विवाह गर्न टाढाको यात्रा तय गरेकी राजकुमारी भृकुटीको कथा होस् वा ह्वाइट स्तुप बनाउन बेइजिङ पुगेका अरनिकोको कथा– यी सबै विषयहरू फिल्मका लागि निकै उत्साहजनक छन्। यसबारे सोच्दा मात्र पनि म निकै उत्साहित हुन्छु। 
 

चैत २४, २०८२ मंगलबार २०:५०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad