कला


क्यानाडामा शृङ्खलाबद्ध यात्रामा नेपथ्य, टोरन्टोको टिकट ‘सोल्ड आउट’

क्यानाडामा शृङ्खलाबद्ध यात्रामा नेपथ्य, टोरन्टोको टिकट  ‘सोल्ड आउट’

नेपालखबर
चैत १८, २०८२ बुधबार १७:३०, काठमाडौँ

नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ। क्यानाडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो।

नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ। १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीतहरु प्रस्तुत गर्नेछ।

मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ। यात्राको अन्तिम शो भने अप्रिल १८ शनिबार लन्डन सहरमा हुनेछ। त्यो दिन ‘लन्डन म्युजिक हल’ मा नेपथ्य गुन्जिनेछ।

टोरन्टोमा आयोजना हुने कन्सर्टको टिकट सकिएको छ भने अन्य सहरका लागि पनि तीव्र गतिमा टिकट बिक्री भइरहेको छ ।

नेपथ्यले तीन वर्षअघि क्यानाडाका क्यालगरी, भ्यानकुभर र टोरन्टोमा शृङ्खलाबद्ध प्रस्तुति दिएको थियो। यसपटकको नेपथ्य यात्रामा तीनवटै क्यानाडेली सहर संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी भेगसँग जोडिने ओन्तारियो राज्यमा पर्छन्। मुख्य आर्थिक केन्द्र टोरन्टोसमेत अटाएको यस भेगमै नेपालीको उल्लेख्य उपस्थिति छ ।

बढ्दो नेपाली जनसङ्ख्यासँगै उनीहरूको सम्मानजनक उपस्थितितर्फ पनि उक्त राज्यको ध्यान आकर्षित हुन थालेको छ। केही साताअघि मात्र त्यहाँका काउन्सिलर निथन सानले हरेक अप्रिल १०–१७ लाई ‘नेपाली सम्पदा सप्ताह’ का रूपमा मनाउन टोरन्टोका मेयरसमक्ष प्रस्ताव गरेका छन्।

‘नेप्लिज क्यानाडियन कम्युनिटी सर्भिसेज’ को पहलमा अघि बढेको यो प्रस्ताव हाल विचाराधीन छ । प्रस्ताव स्वीकृत भएपछि महानगरले नै यसलाई उसको कार्यक्रमका रूपमा अघि बढाउनेछ। नेपाली नयाँ वर्षको समयलाई आधार मानेर प्रस्ताव गरिएको यस अवधिमै नेपथ्य उक्त भेगमा प्रस्तुत हुने समय पनि यसपाला जुरेको छ।

‘हाम्रो सहरमा नेपथ्य पहिलोपटक आउन लागेको छ,’ सदबरीकी क्यानुका बस्नेतले आफ्नो फेसबुक पोस्टमा भनेकी छन्, ‘यो सङ्गीत, ऊर्जा र सम्झनाले भरिएको स्मरणीय साँझ बन्नेमा ढुक्क छु ।’

क्यानाडाका तीनवटै सहरमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको ७ बजे ढोका खुला हुनेछन्।

‘अमेरिका गएको बेला क्यानाडा पनि पस्ने नेपाली प्रस्तोताहरूको परम्परालाई तोड्दै नेपथ्यले तीन वर्षअघि पहिलोपटक त्यही मुलुकमा केन्द्रित शृङ्खलाबद्ध यात्रा गरेको थियोत्यसैको प्रतिफलमा अब क्यानाडा नियमित रूपले भ्रमण गरिने गन्तव्य बन्न पुगेको छ,’ नेपथ्यको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने। 

क्यानाडामा बसोबास गर्ने नेपाली समुदायको गौरवसँगै नेपाली कलाकारप्रति उनीहरूले दर्साउने माया पनि बढ्दै गएको उनको भनाइ छ। अघिल्ला विदेश यात्राहरूमा जस्तै यस पटक पनि ६ कलाकार र ८ प्राविधिक एवं व्यवस्थापक गरेर १४ जनाको टोली अप्रिल ४ मा क्यानाडा प्रस्थान गर्दै छ। यो टोली अप्रिल २० सम्म त्यहाँ रहनेछ ।

‘क्यानाडामा बसोबास गर्ने नेपालीले देखाएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘नयाँ वर्षको बेला स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ।’

क्यानाडामा रहेका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए‍। ‘कतिपय साथीले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर भए पनि कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ। यो मायाका लागि म र मेरो टिम आभारी छौँ,’उनले भने। 

क्यानाडाका तीनवटै कन्सर्टमा अमृतलाई सधैंझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad