पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको पारिवारिक कलह छताछुल्ल भएको छ। पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै उषाले मंगलबार दिउँसो फेसबुकमा एकपछि अर्को स्टाट्स लेखिरहेकी छिन्।
उनले मंगलबार पहिलो स्टाट्समा लेखेकी छन्: ‘तिम्रो लोग्नेलाई सम्हाल्नुपर्यो। मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दै छ। पुलिस प्रशासनमा शान्ति सुरक्षा नहाली भएन अब यो एक्स भनाउँदोलाई। अत्ति गर्यो मलाई साथीहरू।’
त्यस्तै, उनले अर्को स्टाट्स लेखेकी छिन्। ‘आफू विवाह गरेर त्यही घरमा बच्चाहरूको अगाडि बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने। कोही आउँदा जाँदा जथाभावी बोल्ने। मेरो माइतीबाट परिवारका सदस्य, साथीहरू आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने धेरै भैसक्यो। अत्ति भएर बोल्दैछु आज। अदालतले मलाई पनि यो घर अंशमा दिएको छ । त्यसले मेरो घर, मेरो घर भनेर मात्र भनेर तनाव दिने। मेरो अधिकार खोज्न म कता जाने? यो देशमा नियम र कानुन छ कि छैन? अधिकार सुरक्षा छ कि छैन? नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्यो,’उनले लेखेकी छिन्।
तेस्रो स्टाट्समा लेखिएको छ, ‘यो घरमा ४ अंशियार, मेरो २५ प्रतिशत, मेरो छोरी २५ प्रतिशत, छोराको २५ प्रतिशत, अनि त्यसको २५ प्रतिशत। अनि तिमल्सिनाले कसरी त्यसको मात्र घर भन्न मिल्छ?’
त्यसैगरि, चौंथो स्टाट्समा उनी लेख्छिन् ‘मलाई यो घरबाट निस्की, निस्केर जा, निक्ली हाल भनेर टर्चर दिन्छ यो नार्मदले। अब यो घरबाट म निस्किने होइन्, तलाई निकाल्ने हो। तैलै सुरु गरिन्, म अन्त्य गर्छु। ’
यसअघि सोमबार भने उनले सिंगल मम भएकोमा गर्व महसुस हुने भन्दै स्टाट्स लेखेकी थिइन्।
२०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा उषा र जीपी तिमल्सिनाबीच सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेदको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो बिहे गरेका थिए।
Shares

प्रतिक्रिया