रणवीर सिंहको मुख्य भूमिका रहेको सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ आजबाट रिलिज भएको छ। आदित्य धर निर्देशित यो फिल्म बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको हो।
नेपाली सिनेमा हलले यस फिल्मलाई ठूलो संख्यामा शो दिएका छन्। शो संख्या र बुकिङ हेर्दा फिल्मले नेपालमा पनि आक्रामक ओपनिङ गर्ने देखिन्छ।
रिलिज अगावै ‘धुरन्धर २’ ले चर्चामा थियो। यस फिल्मले पेड प्रिभ्यूबाट ठूलो कमाइ गरिसकेको छ। फिल्मले पेड प्रिभ्यूमार्फत विश्वभर ७५ करोड भारतीय रुपैयाँ कमाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
फिल्मको बुधबार साँझ विश्वभरका चुनिएका हलहरूमा सशुल्क प्रिभ्यू शो आयोजना गरिएको थियो। भारतमा मात्र ६ हजार स्क्रिनमा ९ हजार शो गरिएको थियो। यसबाट भारतमा ग्रस ५२.५० करोड भारू कमाएको थियो। प्रिभ्यू शोको यो कमाइ नयाँ सर्वकालीन रेकर्ड हो।
त्यस्तै, विदेशी बजारमा पनि यस फिल्मले भारतीय फिल्महरूमध्ये अहिलेसम्मकै सबभन्दा ठूलो प्रिमियर कलेक्शन गर्दै २५ लाख अमेरिकी डलर कमाएको छ। जसमा विशेषगरी उत्तर अमेरिकामा प्राप्त उत्कृष्ट प्रदर्शनको ठूलो योगदान रहेको छ। यसअघि १२ लाख डलरको रेकर्ड ‘एनिमल’ ले बनाएको थियो।
आदित्य धरको निर्देशनसहित लेखन रहेको यो फिल्म हिन्दीसहित तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज भएको छ। यस फिल्ममा रणवीर एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।
यसअघि गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो।भारतमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो। नेपालमा पनि यस फिल्मले १० करोडको आँकडा पार गरेको थियो।
Shares

प्रतिक्रिया