आउँदो चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करणको तयारी तीव्र रुपमा चलिरहेको छ।
अहिले निफ ‘प्रि-इभेन्ट’मा प्रवेश गरेको छ। यस अन्तर्गत रहेर निफले फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ।
नक्सालस्थित कान्तिपुर थिएटरमा बिहीबार निफले ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशकहरू समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तर्क्रिया गरेको छ। निफका अध्यक्ष केपी पाठकका अनुसार महिला मेकरले फिल्म क्षेत्रमा भोग्नु परेको समस्या उजागर गर्न यो कार्यक्रम राखिएको हो ।
कार्यक्रममा तीन निर्देशकले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको अपमान र कठिनाइ सेयर गरे। संगीता श्रेष्ठले महिला निर्देशकको बौद्धिकता र रचनात्मक क्षमताको कदर नभएको सुनाइन्। उनले भनिन्, ‘एउटा भिडिओ वा फिल्म तयार हुन्छ तर त्यसको जस महिला निर्देशकले पाउँदैनन्। क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले भिडियो तयार गर्यो होला। त्यसले के भूमिका छ र? भन्ने कुरा सुनिन्छ। यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो।’
महिला भएकै कारण आफूले छायाङ्कन स्थलमा निर्देशकको दर्जा नपाएको समुन्द्र भट्टले सुनाइन्। ‘एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमतिविना नै अर्को पुरुष निर्देशक खोजेर बेड सिन खिच्नुभएको छ, जुन फिल्ममा म निर्देशक थिएँ,’ उनले भनिन्। यस विषयको प्रतिकार गर्दा आफूलाई बदनाम गराउने प्रयास भएको उनको दाबी छ।
अर्को फिल्ममा भिडियो सम्पादकले ‘एक साता घरमा गएर सुत्नू, बुहारी मान्छे, म आफैँ फिल्म सम्पादन गर्छु’ भनेर रचनात्मक अधिकार र पदीय मर्यादाको सम्मान नगरेको उनले सुनाइन्।
महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो रहेको उनीहरूको भोगाइ छ। निर्देशक उषा रजकले भनिन्, ‘महिला निर्देशकहरूलाई बजारले पत्याउँदैन। स्पोन्सर र लगानीकर्ता भेट्नै सकिँदैन।’
यहि विषयसँग सम्बन्धित अर्को यथार्थ समुन्द्रले सेयर गरिन्। ‘बजारमा महिला निर्देशकको प्रोजेक्टमा लगानी गर्ने निर्माता पाइँदैनन्। मैले आफ्नै श्रीमान्लाई निर्माता बनाउँदा, मूर्ख बुढाको सम्पत्ति सकाउने भई भन्ने टिप्पणी गरेको सुनेको छु।’
फिल्म क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उनीहरूको भनाइ छ। महिला भएका कारण सहकर्मीबाट अपमानजनक व्यवहार खेप्नुपर्ने दुःखद विषय रहेको उनीहरूले भोगाइ सुनाए।
‘हर सिनेमा, हर भोइस’ निफको दोस्रो ‘प्रि-इभेन्ट’ अन्तर्क्रिया कार्यक्रम हो। यसअघि ‘द न्यु वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तर्क्रिया गराएको थियो, जहाँ युवा फिल्म मेकरबीच अन्तर्क्रिया भएको थियो।
निफले लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम तय गरेको छ। निर्माताको खोजीमा रहेका लेखकहरूका लागि अवसर बन्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको अध्यक्ष पाठकले बताए।
यो कार्यक्रम निफको तेस्रो दिन अर्थात् चैत २१ गते हुने निफले बताएको छ। यसका लागि लेखकहरूले चैत ६ गतेभित्र निफमा आवेदन दिइसक्नुपर्नेछ।
त्यस्तै, युवालाई फिल्म महोत्सवसँग जोड्ने उद्देश्यले ‘फ्रेम योर फ्युचर’ शीर्षकको प्रतियोगिता ल्याइएको छ। यस प्रतियोगितामा सहभागी हुन आफ्नो कथामा दुई मिनेटको भिडियो बनाउनुपर्नेछ।
विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनका लागि चैत ११ सम्म आवेदन दिन सकिन्छ।
Shares

प्रतिक्रिया