निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदान भएकै साँझबाट मतगणना सुरु गर्न योजना बनाएको छ।
मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिब्र पारेको भट्टराईले बताए।
‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवहरूलाई पनि लिएर मतदान पश्चात मतपेटिका सङ्कलन गर्ने टाइम घटाउन थालेको छ। हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौँ। त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
विगतका अनुभवलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइने उनको भनाइ छ। आयोगको योजनाअनुसार मतदान सकिएकै साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।
‘मतपेटिका सङ्कलनको समय घटाउने, अनि मतदान पश्चात त्यसै दिन मतपेटिका सङ्कलनको समय घटिसकेपछि त्यसै दिन बेलुकीबाट मतगणना गर्ने कामलाई प्राथमिकतामा राख्ने र मतगणना काम गर्ने काम पनि त्यसलाई अलि छिटोछरितो बनाउने,’ उनले भने।
यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले बताए। मतदाताको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईको भनाइ छ।
स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको उनको भनाइ छ। धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए।
Shares

प्रतिक्रिया