कला


चुनावको मुखमा बालेनलाई सघाउन युट्युबमा ल्याइयो ३ फिल्म

चुनावको मुखमा बालेनलाई सघाउन युट्युबमा ल्याइयो ३ फिल्म

लक्ष्मी बलायर
फागुन १३, २०८२ बुधबार १७:१९, काठमाडौँ

चुनाव नजिकिएसँगै चलचित्र क्षेत्र लगभग ठप्प अवस्थामा छ। न हलमा नयाँ नेपाली फिल्म लागेका छन्, न कुनै फिल्मी कार्यक्रम नै चलिरहेको छ। तर, केही फिल्ममेकरले भने यसै समयमा आफ्ना फिल्म युट्युबमा रिलिज गरे।

चुनावी गतिविधिले देश गर्माएको बेला ‘दिमाग खराब’देखि ‘सेन्टी भाइरस’ र ‘झरीपछिको इन्द्रेणी’जस्ता फिल्म युट्युबमा आए। रोचक कुरा के छ भने यी तीनै फिल्मको कथा राजनीतिक विषयवस्तुमा केन्द्रित छ। त्यसभन्दा पनि रोचक कुरा यी तीन वटै फिल्मले एउटै कुरा भन्छन्- नेपालमा चलिरहेको राजनीति खत्तम छ। देश परिवर्तन गर्न अब नयाँ नायक चाहिन्छ।

मतदाताले फिल्मकै कारण मत परिवर्तन गर्लान् वा नगर्लान् त्यो बेग्लै कुरा, तर चुनावको मुखमा यी फिल्म युट्युबमा रिलिज गर्नुको उदेश्य  मतदाता प्रभावित पार्नु रहेको देखिन्छ।

सुरुमा चर्चित निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’ युट्युबमा सार्वजनिक गरे। पछिल्लो समय बस्नेत कलाबाहेक राजनीतिमा पनि संलग्न छन्। विशेषत उनी काठमाडौँका पूर्वमेयर बालेन शाहनिकट छन्। बालेन मेयर बन्नुभन्दा अघिदेखि उनी बालेनका साथमा छन्। खासमा बालेन र रास्वपाबीच एकता गराउनमा उनको समेत भूमिका थियो। कतिपयले त निश्चललाई बालेनको राजनीतिक करिअरको पनि निर्देशक मान्छन्।

बालेन रास्वपाबाट प्रत्यक्षतर्फ झापा क्षेत्र नं ५ बाट मैदानमा उत्रेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको उनको चुनावी ब्याटल अहिले देशभरिकै चासोको विषय बनेको छ। जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए। त्यस आन्दोलनमा थुप्रै जनताहरूले ज्यान गुमाए। जसकारण ‌ओलीप्रति जनताहरूको आक्रोश ज्यादा छ। त्यस्तै, युवापुस्तामाझ चर्चित बालेनले चुनाव लड्न ओलीकै क्षेत्र रोजे।

निश्चलले बालेनको चुनावी प्रचारप्रसारमा पनि सहयोग गरिरहेका छन्। र, यही मेसोमा उनले ‘दिमाग खराब’ युट्युबमा रिलिज गरे। यसबाट निश्चलले जनमत बालेनको पक्षमा ढल्काउन बल गरिरेहको प्रस्ट हुन्छ। अझ निश्चलले यो फिल्म नै बालेनकै राजनीतिक करिअरलाई सघाउने हेतुले बनाएको बताइन्छ।

हलमा रिलिज भएको दुई वर्षपछि युट्युबमा आएको ‘दिमाग खराब’को मुख्य भूमिकामा छन् खगेन्द्र लामिछाने। फिल्ममा आर्थिक अवस्था कमजोर हुँदा विदेश जान खोजिरहेको एक युवाको सपना र राजनीतिक प्रभाव केन्द्रमा छ। राजनीतिका कारण आम जनताले भोग्नुपरेको सास्ती र अविश्वासलाई फिल्ममा बलियो रुपमा प्रस्तुत गरिएको छ। र, फिल्मले अब पुरानो राजनीतिक शैली स्वीकार्य छैन भन्ने सन्देश प्रवाह गर्छ।

यस फिल्ममा निश्चल र खगेन्द्र लामिछानेसहित दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, पुस्कर गुरुङलगायतको अभिनय छ। फिल्मको कथा आकाश बरालको लेखेका हुन्।

युट्युबमा सार्वजनिक फिल्मलाई ५७ लाख भ्युज आइसकेको छ। दर्शकहरूले फिल्म अहिलेको अवस्थासँग ठ्याक्कै मिलेको बताउँदै निश्चललाई दूरदर्शी भनिरहेका छन्।

एक दर्शक लेख्छन् ‘चुनावको मुखैमा यो फिल्म राखेर पुराना नेताको सास सुकाएकोमा धन्यवाद।’ अर्का प्रयोगकर्ता लेख्छन्, ‘यो फिल्म त अहिलेको माहोलसँग ठ्याक्कै मिल्छ।’

‘दिमाग खराब’पछि युट्युबमा रिलिज अर्को राजनीतिक फिल्म हो, झरीपछिको इन्द्रेणी। अर्जुन घिमिरेको डेब्यु निर्देशन रहेको फिल्म हलमा रिलिज भएको दुई महिनामै युट्युबमा आयो। जुन केही अप्रत्याशित थियो। किनकि यति चाँडै पनि नेपाली फिल्महरू डिजिटल रिलिज हुँदैनन्।

अझ रमाइलो कुरा यो फिल्म बालेन शाहकै युट्युब च्यानलमार्फत रिलिज गरियो। बालेन आफैँले फेसबुकमार्फत फिल्म रिलिज भइसकेको जानकारी दिएका थिए। यस फिल्मको कथामा बालेनको कोर टिममा कुमार व्यञ्जनकार (कुमार बेन) को पनि संलग्नता छ। फिल्मको पटककथा भने अर्जुनसहित गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।

खासमा यस फिल्मका निर्देशक घिमिरे पनि पहिल्यैदेखि बालेननजिक छन्। यस फिल्मका लागि बालेनले ‘आम नेपाली’ बोलको गीत गाएका थिए। उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। तर, हलमा भने फिल्मले १ करोड २८ लाख मात्रै कमायो। लगानी उठाउन नसकेको फिल्मलाई यति चाँडै चुनावकै मुखमा ल्याउनुले फिल्म बालेनलाई सघाउन बनाएको देखिन्छ। यो फिल्म बालेनकै चुनावी अभियानका लागि बनाइएको निकटस्थहरू बताउँछन्। घिमिरे अहिले झापा पुगेर बालेनको लागि भोट मागिरहेका छन्।

फिल्ममा सरकारी तहमा हुने भ्रष्टाचारसँगै अहिलेका युवाको कथा पनि समेटिएको छ। प्लस टु पास भएसँगै युवामा आउने विदेश मोह र मनस्थितिलाई फिल्ममा दुरुस्तै उतारिएको छ। सन्तानले विदेशको हठ कसिरहँदा अभिभावकले आफ्नो सन्तानको बारेमा देखेको सपना र चिन्तालाई पनि देखाइएको छ। जसले अहिलेका युवा र जेनजीलाई अझ बढी कथा रिलेट हुन सक्छ। फिल्मले अन्त्यमा भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनलाई समेत छोएको छ। जसले सही उम्मेदवारलाई मत दिन सचेत गराउँछ।

घिमिरे आफूले मन परेको व्यक्तिलाई सहयोग र समर्थन गरेको स्वीकार्छन्। फिल्म रिलिजका लागि निकै अनुकूल समय रहेको बताउँदै फिल्ममार्फत दर्शकलाई सचेत बनाउन खोजेको उनको भनाइ छ।

उनले नेपालखबरसँग भने, ‘म कुनै पनि पार्टीमा छैन। आफूले इच्छा लाग्ने व्यक्तिलाई सहयोग र समर्थन गरेको हो। आफूलाई मन पर्ने व्यक्तिलाई चुनावमा सहयोग गर्नु मेरो अधिकारको कुरा हो।’

यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ। ६ दिनमा फिल्मलाई युट्युबमा २३ लाख बढीले हेरिसकेका छन्।

त्यसैगरी, ६ वर्षअघि हलमा आएको राजनीतिक फिल्म ‘सेन्टी भाइरस’ पनि यसैबखत युट्युब रिलिज गरियो। खासमा यो फिल्म हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणमा सहयोगका लागि भन्दै बनाएका थिए। फिल्ममा चुनावले एक परिवारमा ल्याउने राजनीतिक प्रतिस्पर्धाको कथा देखाउँछ। दम्पतीनै फरकफरक दलको पक्षमा हुँदा पारिवारिक सम्बन्धमा आउने दरारको कुरा फिल्मभित्र छन्।

कमेडी जनरामा बनेको यस फिल्मले राजनीतिमा हुने चलखेल र सामाजिक दायित्व बुझाउन खोजेको देखिन्छ। साथै निर्वाचनअघि घोषणा गरिएका गाउँ विकासका आश्वासन चुनाव जितेपछि नेताहरूले कसरी बिर्सिन्छन् भन्ने पनि फिल्ममा देखाइएको छ। यस फिल्मको कथा चर्चित टेलिसिरियल ‘सक्किगोनी’ टिमकै कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्। अर्जुन घिमिरे पनि सोही टिमकै हुन्।  

रामबाबु गुरुङको निर्देशनमा बनेको यस फिल्ममा धुर्मुससहित कुञ्जना घिमिरे ‘सुन्तली’ मुख्य भूमिकामा छन्। साथै दयाहाङ राई, विल्सन विक्रम राई, वसन्त भट्ट, बुद्धि तामाङ, सन्दीप क्षेत्रीलगायत कलाकारको अभिनय छ।

२०७६ सालमा रिलिज भएको यस फिल्मले हलमा भने दर्शक तान्न सकेन। तर, युट्युबमा भने फिल्मले सकारात्मक प्रतिक्रियासहित राम्रो भ्युज बटुलिरहेको छ। पाँच दिनमै यस फिल्मलाई १७ लाख पटक हेरिएको छ। युट्युबमा आएका अधिकांश कमेन्टमा बालेनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad