रेखा थापाको निर्देशनमा फिल्म ‘माया भनेकै यस्तो होला’ बन्ने भएको छ। आइतबार महाशिवरात्रीको अवसर पारेर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
यस फिल्ममार्फत अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी हुन्।‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिल्म हो। झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसपटक आफ्नै 'रेखा फिल्मस्' भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन्।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको जम्बो टोली रहनेछ। यस फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ।
निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित 'प्रेम त्रिकोण' को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ।
पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भब्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन्। यसले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू, सम्बन्धमा आउने उतारचढाव वा सम्भावित 'लभ ट्रयाङ्गल' (प्रेम त्रिकोण) को कथा हुन सक्ने संकेत गर्छ।
दोस्रो पोस्टरमा अभिनेता दिल एक वृद्ध (वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा देखिएका छन्। ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ।
साथै फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको अभिनय रहनेछ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ।
फागुनको दोस्रो साताबाट सुरु छायांकन सुरू हुने फिल्म आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन हुनेछ।
पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले यो चलचित्र हाम्रो आफ्नै समाजमा घटेका घटनामा रहेको बताइन्। चलचित्रमा तीन जना पूर्व मिस नेपालहरू श्रृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई एकैसाथ देख्न पाइने बारेमा स्पष्ट पार्दै रेखाले थपिन्, ‘मिस नेपालको ट्याग भएका कारणले मात्र उहाँहरूलाई लिएको होइन। मेरो चलचित्रको विषयवस्तु र कथाको माग अनुसार नै श्रृष्टि, नम्रता र नीति फिट हुनुभएकाले उहाँहरूलाई छनोट गरिएको हो।’
त्यस्तै, १० वर्षपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए ।
Shares

प्रतिक्रिया