नेपालमा माघ २३ गतेबाट प्रदर्शनरत फिल्म ‘कुमारी’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिहीबारदेखि सुरु हुँदै छ। नेपालमा समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले बताएका छन्।
थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले अस्ट्रेलिया वितरण गरेको ‘कुमारी’को अस्ट्रेलियाका विभिन्न राज्यहरूको शो तालिका सार्वजनिक भएका छन्। न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हर्स्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा ‘कुमारी’ रिलिज हुनेछ। यो बाहेक अन्य सहरहरूमा पनि क्रमशः चलचित्र रिलिज हुनेछन्।
यस्तै, अस्ट्रेलियासँगै भोलिदेखि नै मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन हुँदै छ। नेपफिल्मको व्यवस्थापनमा यूएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा फिल्म रिलिज हुन लागेको हो।
फिल्मका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशहरूमा पनि दर्शकको माग उच्च रहेको बताए। उनले अमेरिका र क्यानडामा पनि फिल्मको रिलिज छिट्टै हुने जानकारी दिए। अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत चलचित्र प्रदर्शन हुनेछ।
दिनेश राउत निर्देशित यस फिल्मबाट अविषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गरेका छन्। विकास सुवेदीको लेखन रहेको फिल्मको गीत ‘डोको बुन्ने’ अहिले चर्चामा छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मले जीवनमा ठूलो समस्या भोगिरहेकी एक युवतीको कथासहितको प्रेम कथा बोकेको छ।
Shares

प्रतिक्रिया