थलापति विजय अभिनीत दक्षिण भारतीय फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको ट्रेलर एक्सनपूर्ण छ।
विजयलाई ट्रेलरमा एक निडर प्रहरी अफिसरको भूमिकामा देखाइएको छ। जनताको साथ पाएका उनी समाजमा फैलिएको अन्याय र अत्याचार अन्त्य गर्न लाग्छन्।
ट्रेलरको अन्त्यतिर बबी देओलको इन्ट्री हुन्छ। जहाँ खलपात्रको रुपमा देखिएका बबी विजयलाई चुनौती दिन थाल्छन्। विजय र बबीको टकरावले ट्रेलरलाई थप रोचक बनाएको छ।
५१ वर्षीय विजयको ‘जन नायकन’ अन्तिम फिल्म हुनेछ। किनकी केहीअघिमात्रै उनले अभिनयबाट सन्यास लिएर पूर्णरुपमा राजनीतिमा सक्रिय हुने घोषणा गरिसकेका छन्। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावमा लड्ने उनको तयारी छ।
यस फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ। एच विनोथ निर्देशित यो फिल्म जनवरी ९ अर्थात पुस २५ गतेबाट रिलिज हुँदैछ। हिन्दीमा भने यो फिल्म ‘जन नेता’ शीर्षकका आउँदैछ।
Shares

प्रतिक्रिया