अभिनेत्री नीति शाहको एक वर्षे वैधानिक रोमान्स सकिन नपाउँदै अब धार्मिक अनुष्ठानको चर्चा सुरु भएको छ। लामो समयदेखिको प्रेम सम्बन्धलाई गत वैशाख ५ गते काठमाडौँ जिल्ला अदालतको चार पर्खालभित्र 'कोर्ट म्यारिज'मा सीमित राखेका नीति र प्रेमी याञ्चित राणाले अब भने धुमधामका साथ लगनगाँठो कस्ने भएका हुन्।
अदालतको कानुनी कागजमा 'मिसेज राणा' बनिसकेकी नीतिले अब फागुन ८, ९ र १० गते अग्निसाक्षी राखेर सामाजिक र धार्मिक परम्पराअनुसार सिन्दूर–पोते गर्नेछिन्।

तीन दिनसम्म चल्ने यो विवाह केवल दुई परिवारको मिलन मात्र नभई एउटा 'ग्रान्ड सेलिब्रेसन' हुनेछ। यसको तयारीका लागि नीतिले आफ्ना फिल्मका 'सेड्युल' समेत धमाधम फेरबदल गरिरहेकी छिन्।
'अदालती विवाह भइसके पनि सामाजिक र धार्मिक विधि बाँकी नै थियो, त्यसैले फागुनमा सिन्दूर-पोतेको रीत पुर्याउन लागिएको हो,' नीति निकट स्रोतले भन्यो। काठमाडौँमा हुने यो विवाहमा फिल्म क्षेत्रका सीमित व्यक्तिहरूलाई मात्र निम्तो दिने भनिएको छ।
नेपाली रजतपटकी 'ग्ल्यामरस' सुन्दरी नीति 'मिस नेपाल इन्टरनेसनल २०१७' की बिजेता पनि हुन्।
Shares

प्रतिक्रिया