कला


फिल्मकर्मीले जनाए चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति असन्तुष्टि

फिल्मकर्मीले जनाए चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति असन्तुष्टि

नेपालखबर
पुस ८, २०८२ मंगलबार १२:१६, काठमाडौँ

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ प्रति फिल्मकर्मीले असन्तुष्टि जनाएका छन्।

उक्त कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई समेत जाँच गर्नुपर्ने नियमप्रति उनीहरूले आपत्ति जनाएका हुन्।

बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ लाई सच्याउनुपर्ने उनीहरूको धारणा छ।

याे विषयमा फिल्म निर्देशक केपी पाठकले नयाँ कार्यविधिले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्‍याउने बताए। उनले भने, ‘महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो। यो प्रावधानले नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई प्रत्यक्ष असर गर्छ।’ उनले यसबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए।

फिल्म निर्माता रामकृष्ण पोखरेलले चलचित्रको जाँचको सट्टा वर्गीकरण गर्ने नियम हुनुपर्ने धारणा राखे। ‘अधिकांश देशमा चलचित्रलाई जाँच गर्ने नाममा काट्नुको सट्टा वर्गीकरण गरिन्छ। उक्त चलचित्र हेर्न बन्देज गरिएको उमेर समूहमा निगरानी बढाइन्छ तर नेपालमा महोत्सवमा प्रदर्शन हुन् आउने चलचित्रलाई जाँच गर्ने नियम ल्याइएको छ। यसले दीर्घकालीन रुपमा घाटा नै गर्छ’, निर्माता पोखरेलले भने।

जाँच समितिले चलचित्रकर्मीको सिर्जनशीलता बुझ्ने र प्रोत्साहन गर्ने हुनुपर्नेमा उनले जोड दिए।

नयाँ कार्यविधिमा ‘चलचित्रसँग सम्बन्धित प्रचलित कानुनको पूर्ण पालना गर्दै’ स्वयंले जाँच गर्ने पद्दतिको विकास गर्ने (सेल्फ सेन्सरसिप) लाई प्रोत्साहन गर्ने कुरा पनि उल्लेख छ तर, कार्यान्वयनमा आएको नयाँ कार्यविधिले चलचित्रकर्मीलाई प्रोत्साहन नगर्ने चलचित्र समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले बताए।

‘हामीले चलचित्रलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय महोत्सव निकै आवश्यक छ। त्यहाँ विश्वभरका चलचित्रकर्मी एक ठाउँमा आएर आफ्नो देश चिनाउने सिर्जना प्रस्तुत गर्छन्। हामीले चलचित्र जाँचसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय अभ्यास पनि बुझ्नुप¥थ्यो। अहिलेको अवस्थामा चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने कार्यविधि ल्याउनुपर्ने हो, तर चलचित्रकर्मीले नै असन्तुष्टि व्यक्त गरेकाले त्यसमा पूर्णविचार गर्नु नै उत्तम हो’, अध्यक्ष तिमल्सेनाले भने।

नयाँ कार्यविधि कार्यान्वयनमा आएसँगै यसअघिको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ खारेज गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad