राजनीति


पार्टी उपाध्यक्षबाट निलम्बनपछि मित्र परियारको टिप्पणी: ‘बालीघर सिउने दमाईं सम्झिनुभएछ!’

पार्टी उपाध्यक्षबाट निलम्बनपछि मित्र परियारको टिप्पणी: ‘बालीघर सिउने दमाईं सम्झिनुभएछ!’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र उपाध्यक्ष डा मित्र परियार


नेपालखबर
पुस ८, २०८२ मंगलबार १२:९, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका पार्टी अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले आफूलाई श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरेपछि डा मित्र परियार आक्रोशित भएका छन्।

निलम्बनको पत्र पाएपछि यस विषयमा बुझ्न अध्यक्ष राईलाई फोन गर्दा नउठेको गुनासो गर्दै परियारले सामाजिक सञ्जालमा लेख्न बाध्य भएको बताएका छन्।

स्टाटसमा उपाध्यक्ष परियारले आफूलाई ‘बालीघरे दमाईं’ नसम्झिन चेतावनी दिएका छन्। 

‘फेसबुकमा दोहोरी खेल्न मन त थिएन, तर कुरा गर्न हर्क राईको फोनै नउठ्ने रहेछ। निलम्बनको चिठी देखेपछि यति लेख्न बाध्य भएँ’, परियारले लेखेका छन्, ‘लन्डनमा पढाउन छाडेर जातीय मुक्तिका लागि संघर्ष गर्न फर्केको मान्छेलाई धराने मेयरले बालीघर सिउने दमाईं सम्झिनुभएछ! तपाईंको भाषण डेढ घण्टा सुनिदिनुपर्ने! मेरो भाषणचैँ दुई मिनेट नसुन्ने? कसैको रैती बन्न सकिन्छ?’

यद्यपि उनले अध्यक्ष साम्पाङलाई आफ्नो दृष्टिकोण परिवर्तन आग्रह गर्दै फेरि सँगै हुन सकिने आशा पनि व्यक्त गरेका छन्। 

परियारले अंग्रेजीमा लेखेका छन्, ‘चेन्ज योर एटिच्युड, सर एन्ड आई मे बि विथ योर अगेन (आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्, सर र म फेरि सँगै हुन सक्छौँ)।’

अध्यक्ष राईले सोमबार विज्ञप्ति जारी गरी पार्टीको आचारसंहिता उल्ल‌ंघन गरेकाले उपाध्यक्ष परियारलाई निलम्बन गरिएको जानकारी दिएका हुन्। 

विज्ञप्तिमा अध्यक्ष राईले लेखेका छन्, ‘२०८२-९-५ गते बुटवलमा आयोजित आमसभामा आयोजकमाथि पार्टीका उपाध्यक्षमा मनोनीत श्री मित्र परियारले पार्टीको आचारसंहिताको बर्खिलाप हुने गरी अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु (कारण-१) का साथै जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको (कारण-२) हुनाले कारबाही गरी पदबाट निलम्बन गरिएको जानकारी गराउँदछु! श्रम संस्कृति पार्टीमा कोही नेता या कोही कार्यकर्ता नहरने, सबै श्रमदाता रहने भएको हुँदा कोही कसैले 'केन्द्र समितिको हुँ' भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै प्रकारको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु।’

यसअघि घटनाकै दिन शनिबार सामाजिक सञ्जालमार्फत ‘नसच्चिएसम्म कारबाही’ गरेको भनी जानकारी गराएका राईले सोमबार पार्टीको लेटरप्याडमै लेखिएको आधिकारिक सूचना जारी गरेका हुन्। 

देशदौडाहा अभियानअन्तर्गत श्रम संस्कृति पार्टीले शनिबार रुपन्देहीको बुटवलमा चुनावी सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए। 

तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए।

त्यस सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू! यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू।...म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन।...’

यसअघि एउटा मुद्दामा प्रहरीले पक्राउ गरेपछि अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई उनले पुस २ गते निलम्बन गरिसकेका छन्। 

उपाध्यक्ष तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता भएको छ। त्यही मुद्दामा उनलाई सीआईबीले पुस १ गते बुढानीलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको थियो। थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको छ। 

धनकुटाको पार्खिवास नगरपालिका-९ का ५० वर्षीय राजकुमार काठमाडौँको बुढानीलकण्ठ-११ कपनमै बस्ने गर्थे। उनी यसअघि पनि जेल सजाय भोगिसकेका व्यक्ति हुन्।

दुई उपाध्यक्ष निलम्बन भएसँगै अब श्रम संस्कृति पार्टीमा एकजना उपाध्यक्ष लोकनाथ चुडाल मात्र बाँकी छन्। 

उपाध्यक्ष राजकुमारलाई निलम्बन गरिएपछि र अर्का उपाध्यक्ष परियार कारबाहीमा पर्नुअघि पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङले पुस २ गते जारी गरेको अध्यावधिक विवरणमा उपाध्यक्षमा लोकनाथ चुडाल र मित्र परियारको नाम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad