अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ले प्रदर्शनको ५१औं दिन मनाएको छ।
गत असोज ३१ गतेबाट प्रदर्शनमा आएको फिल्मले हिजो शनिबार ५१औं दिन पूरा गरेको हो। क्यूएफएक्ससहित रञ्जना सिनेप्लेक्स, वान सिनेमाज, एफक्यूब लगायतका हलहरूमा ५१औं दिन मनाउन सफल भएको हो।
यसै अवसरमा निर्माण टिमले शनिबार साँझ एफक्यूब सिनेमाजमा एक कार्यक्रम गरेको छ। जहाँ कलाकारसहित निर्देशक र निर्मातालगायतले केक काट्दै खुशी साटे।
अभिनेता अनमोल फिल्म ‘बाटुलो जून’को छायांकन सेटबाट सिधै कार्यक्रममा पुगेका थिए। जहाँ उनले यो सफलता दर्शकको मायाले नै सम्भव भएको सुनाए।
‘जेरी अन टप’ले हालसम्म बक्सअफिसमा १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। जुन कमाइसँगै ‘जेरी अन टप’ अनमोलको दशक लामो करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म हो। यसअघि अनमोलका कुनै पनि फिल्मले १० करोडमाथिको आकंडा पार गर्न सकेका थिएनन्।
सुयोग गुरुङ निर्देशित यस फिल्मका निर्माता सरोज न्यौपाने हुन्। फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्की लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया