कला


दसैँयताका १० फिल्मको कमाइ ५५ करोड : परान र जेरी अन टप चल्दा अरु कमजोर

दसैँयताका १० फिल्मको कमाइ ५५ करोड : परान र जेरी अन टप चल्दा अरु कमजोर

लक्ष्मी बलायर
मंसिर ११, २०८२ बिहिबार १९:२०, काठमाडौँ

दसैँयता सिनेमा हलमा १० नेपाली फिल्महरू प्रदर्शन भए। जसमा बलिदान, हरिबहादुरको जुत्ता, माइतीघर, जेरी अन टप, मैझारो, वरिष्ठ बलराम, सोल्टिनी, परान, मनबिनाको धन र जारी २ पर्छन्। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यी सम्पूर्ण फिल्मले ५५ करोड बढीको व्यापार गरेका छन्। यो कमाइ असोज १३ गतेदेखि मंसिर ६ गतेसम्म अर्थात् ५५ दिनको हो।

तथापि, यो कमाइ गत वर्षको तुलनामा भने कम हो। किनकि गतवर्ष दसैँदेखि तिहारमा रिलिज भएका फिल्मको व्यापार एक अर्ब नाघेको थियो। जसमा सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले मात्रै ४७ करोड ग्रस कलेक्सन गरेको थियो।

कुल कमाइ राम्रै भए पनि यो वर्ष बहुप्रतीक्षित फिल्महरूले खासै तहल्का मच्चाउन सकेनन्। १७ करोड बढी कमाइ गरेको ‘जारी’को सिक्वेलले समेत दर्शकहरूको साथ पाउन सकेन। तर, सुरूमा न्युन व्यापार गरेको ‘परान’ले भने आक्रामक कमाइ गरिसकेको छ।

दसैँका फिल्मले गर्न सकेनन् अपेक्षित व्यापार
हरेकवर्ष दसैँमा धेरै फिल्महरूको रिलिज सेड्युल तय हुन्छ। यो वर्षको दसैँको पनि असोज १३ गतेबाट एकसाथ तीनवटा फिल्म प्रदर्शन भए। जुन फिल्महरू थिए: बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर।

स्टारकास्टदेखि बलियो हाइपका कारण यी तीनै फिल्मबाट निकै आशा गरिएको थियो। तर, यसवर्ष दसैँका फिल्महरूले उत्साहजनक व्यापार गर्न सकेनन्। गत वर्ष १५/२० करोड व्यापार गरे पनि यो वर्ष ५ करोड कटाउन पनि मुस्किल पर्‍यो।

एक्सन फिल्म ‘बलिदान’ले हालसम्म घरेलु बक्स अफिसमा ५ करोड १० लाख ग्रस कलेक्सन गरेको छ। जुन समीरकै गतवर्षको डेब्यु फिल्म ‘१२ गाउँ’को तुलनामा निकै कम हो। गतवर्ष रिलिज भएको ‘१२ गाउँ’ ले २२ करोड बढीको व्यापार गरेको थियो। कमेडी जनरामा बनेको ‘हरिबहादुरको जुत्ता’ले पनि खासै कमाल गर्न सकेन। यस फिल्मले ४ करोड ७१ लाख व्यापार गरेको देखिन्छ। ‘माइतीघर’ले पनि ४ करोड १५ लाख ग्रस कलेक्सन गरेको छ।  

सन्तोष सेनको निर्देशन र लगानी रहेको फिल्म ‘बलिदान’ मा समीर भट्टको मुख्य भूमिका थियो। त्यसैगरी, मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ मा उपासना सिंह ठकुरी, धिरज मगर, श्यामाश्री शेर्पा, केदार घिमिरे, प्रकाश सपुत मुख्य भूमिकामा छन्। दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुतको लिड रोलमा थिए।

अनमोलले दिए करिअरकै हिट फिल्म
दसैँका फिल्मले अपेक्षातकृत व्यापार नगरे पनि अनमोल केसीका लागि भने यो दसैँतिहार निकै फाप्यो। किनकि यस वर्ष उनले आफ्नो दशक लामो करिअरकै हिट फिल्म दिन सफल भए। साथै अभिनयका हिसाबले समेत तारिफ बटुले।

सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ असोज ३१ गतेबाट रिलिज भएको थियो। एडभेन्चर लभस्टोरी जनरामा बनेको यस फिल्मलाई दर्शकहरूले सुरूवातबाटै साथ दिए। मंसिर ६ गतेसम्मको बक्सअफिस तथ्यांकअनुसार यस फिल्मले ३७ दिनमा १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरिसकेको छ। यो सँगै ‘जेरी अन टप’ यस वर्षकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

तिहारका फिल्मको हालत नाजुक
दसैँमा जस्तै तिहारमा पनि तीन वटा फिल्म रिलिज भए। कात्तिक ६ गतेबाट रिलिज भएको ‘वरिष्ठ बलराम’ ले राम्रै गरे पनि मैझारो र सोल्टिनी खासै चलेनन्।

दयाहाङ राई र विजय बराल अभिनीत ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख ५७ हजार व्यापार गरेको छ। त्यस्तै, धिरज मगर र मिरुना मगरको ‘मैझारो’ले १ करोड ४ लाख कमाउँदा प्रकाश सपुत र परीक्षा लिम्बू अभिनीत ‘सोल्टिनी’ फ्लप भयो। यसले जम्मा २९ लाख मात्रै कमाइ गरेको देखिन्छ।

बलियो माउथ पब्लिसिटीले चम्कियो ‘परान’
कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’ले पहिलो दिन ६ लाख मात्रै ओपनिङ गरेको थियो। पहिलो विकेन्डमा खासै दर्शक नआएपछि धेरैले यस फिल्मबाट आशा मारिसकेका थिए। बक्सअफिसमा कमजोर भएपछि निर्देशक दीपकराज आचार्यले समेत भावुक हुँदै स्टाट्स लेखेका थिए।

तर, तेस्रोचौथो दिनसम्म यस फिल्मका दर्शकहरू बढ्न थाले। विशेषगरी, बलियो वर्ड अफ माउथ पब्लिसिटीका कारण यो फिल्म बक्सअफिसमा चम्कियो। सकारात्मक समीक्षासहित फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडिओ सामाजिक सञ्जालमा छाए। त्यसकारण फिल्मप्रति दर्शकहरूको रूचि ह्वात्तै बढिदियो।

दोस्रो शनिबार एकै दिन फिल्मले एक करोड बढीको व्यापार गर्न सफल भयो। दोस्रो सातादेखि त फिल्ममा दर्शकहरूको ओइरो लाग्न थाल्यो। २३ दिनसम्म आइपुग्दा यस फिल्मले १४ करोडको आँकडा पार गरेको छ।

नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले ‘जेरी अन टप’ को रेकर्ड तोडिसकेको छ। अनमोल केसी अभिनीत ‘जेरी अन टप’ लाई उछिन्दै ‘परान’ यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

‘परान’ धेरै कमाउने फिल्म मात्रै बनेन, यसले देशकै ठूलो चेन क्यूएफएक्स मापदण्ड समेत परिवर्तन गरेको छ। क्यूएफएक्सले प्रदर्शनको पहिलो साता सबै हलबाट १ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइ गर्ने फिल्मलाई सुपरहिटको ट्याग दिँदै आएको छ। तर, ‘परान’ले भने दोस्रो साता समेत आक्रामक कमाइ गर्न सक्छ भन्ने उदाहरण बनिदियो। जसकारण क्यूएफएक्ले दुई साताको कमाइलाई पनि समेट्ने मापदण्ड बनायो। दोस्रो सातासम्म ८ करोड कमाएसँगै ‘परान’लाई सुपरहिट ट्याग दिइयो।

बहुप्रतिक्षीत सिक्वेल आउँदा पनि बक्सअफिसमा चलेन जादु

कात्तिक २१ गतेबाट ‘मन बिनाको धन’ र ‘जारी २’ एकसाथ प्रदर्शन भए। ‘जारी २’ यसअघिको चर्चित फिल्म ‘जारी’को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ले १७ करोडभन्दा बढी व्यापार गरेको थियो। जसकारण यो फिल्म दर्शकसहित चलचित्रकर्मीहरूका लागि बहुप्रतिक्षीत थियो।

तर, पहिलो पार्टभन्दा कमजोर हुँदा सिक्वेललाई दर्शकहरूले खासै रुचाएनन्। त्यसैले आफ्नै रेकर्ड तोड्न ‘जारी २’ लाई मुस्किल छ। चलचित्र विकास बोर्डले गएको सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘जारी २’ ले १६ दिनमा ५ करोड ८९ लाख कमाएको छ।

लिम्बू संस्कृतिमा आधारित ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय छ। फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्।

सोही दिनबाट रिलिज भएको बाल गायक अशोक दर्जीको जीवनमा आधारित फिल्म ‘मन बिनाको धन’ ले ठिकै कमाइ गरेको छ। यस फिल्मले तीन करोड ४० लाख ६३ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको छ। टंक बुढाथोकी निर्देशित फिल्ममा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।

मंसिर पहिलो साता नेपाली फिल्म प्रदर्शनमा आएनन्। तर, मंसिर १२ बाट पारिवारिक फिल्म ‘हर्ष’ प्रदर्शनमा आउँदैछ। एकता पौडेलको डेब्यु निर्देशन रहेको यस फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादी मुख्य भूमिकामा छन्।

दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी एकताले न्युयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेकाले उनको डेब्युलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad