अतीतका पाना पल्टाउने बानी छैन उनको। बरु ‘अब के हुन्छ’ भन्ने प्रश्नको शाश्वत धुनमा आफ्नो जीवनको लय खोज्न रुचाउँछन् उनी। उनी अर्थात् कामेश्वर चौरासिया। करिब १७ वर्षको मौन प्रतीक्षापछि उनले बल्ल लिड रोलमा अभिनय गर्ने अवसर पाएका छन्, फिल्म ‘अभिमन्यु’मार्फत।
असोज २४ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मलाई लिएर उनी विशेष उत्साहित छन्। नेपाली र भारतीय दुवै भाषामा रिलिज हुँदैछ यो फिल्म। लकडाउनयता सन् २०२० देखि २०२४ सम्म, करिब चार–पाँच वर्ष उनी कामविहीन भए। त्यसपछि ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’मा हरिया बनेर फर्किए। अनि अहिले ‘अभिमन्यु’।
‘लिड रोलमा काम पाउन कामेश्वरलाई किन यति लामो समय लाग्यो?’
नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका उनलाई सोधिएको यो प्रश्नमा कामेश्वरले भने, ‘किनभने यसअघि अभिमन्यु बनेन नि त।’
यो फिल्मका निर्माता विनोद पौडेलले सुरुमा कामेश्वरलाई फोनमार्फत अभिनयको प्रस्ताव राखेका थिए। उनले सिधै भनेका थिए– ‘मैले अभिमन्यु तपाईंमा देखेको छु। तपाईं नै अभिमन्यु हो।’

यो प्रस्ताव सुन्दा कामेश्वरमा कुनै आवेग वा अतिरञ्जित खुसीको भाव थिएन।
‘मलाई त्यस्तो केही लागेन,’ उनले भने, ‘बरु, प्रस्ताव सुनेपछि एक गिलास पानी मागेँ अनि केही बेर मौन भएँ। अरुले अफर गर्नेजस्तो त्यही हँसाउने भूमिका नै होला कि भन्ने अनुमान थियो। तर जब स्क्रिप्ट मागेँ र पढेँ, बिल्कुलै फरक पाएँ। यो फिल्ममा तपाईंले कामेश्वरको फरक अवतार देख्नुहुनेछ।’
कामेश्वर अलग स्वभावका छन्। काम माग्दै निर्माता–निर्देशकको दैलो चहार्न रुचाउँदैनन्। बस्, ती कामहरु मात्र स्वीकार गर्छन्, जसमा उनको विशेष रुचि हुन्छ।
हामीले उनलाई सोध्यौँ– एउटा कलाकारलाई काम नपाउँदा कस्तो अनुभूति हुने रहेछ?
जवाफमा उनले कुनै छटपटी नभएको बताए।
‘अभिनय भनेको जीवनभरको कर्म हो। यसको कुनै आयु हुँदैन,’ उनले भने, ‘हरेक दिन फिल्ममा काम पाइन्छ र पाउनुपर्छ भन्ने पनि हुँदैन। जीवनमा आराम पनि त गर्नुपर्छ, सुत्नु पनि पर्छ, मान्छेको आफ्नै एउटा संसार हुन्छ, त्यसलाई पनि त हेर्नुपर्छ।’
६ वर्षअघि असारतिरको समय थियो, कामेश्वर काठमाडौँ, मीनभवनस्थित बागमतीको करिडोरमा भेटिन्थे। फिल्म क्षेत्रले माया मारे पनि उनले त्यहाँ सानो छाप्रोमा माछा पसल खोलेका थिए। दर्शकलाई ‘मिठो’ माछा पकाएर खुवाउनु उनको दैनिकी बनेको थियो। कामेश्वरको अभिनयको फिल्मवृत्तमा प्रशंसा नै हुने गरेको थियो। तैपनि काम नपाएपछि गुजाराका लागि उनले त्यो पेसा रोजका थिए। ताप्केमा माछा तार्दै गर्दा भेटिएका ती कामेश्वर अहिले लिड रोलमा देखिँदैछन्, सायद खुसीले गदगद् छन्।
भन्छन्, ‘मैले आफ्नो सक्दो दिएको छु। माउथ पब्लिसिटीले पनि फिल्म चल्छ कि भन्ने आशा छ।’
कामेश्वर आफ्नो करिअरका कुनै पनि मोडमा पछुतो मान्दैनन्। उनका लागि हरेक अनुभव कलाको एक अंश हो। यो क्षेत्रमा आएर उनलाई कहिल्यै किन आएछ भन्ने भावनाले सताएन। उनी आफूलाई अरूभन्दा भिन्न ठान्छन् र आफ्नो निर्णयलाई लिएर पछुतो मान्दैनन्।
‘म ठीक छु, म सही छु,’ उनको ‘कन्फिडेन्ट लेभल’ कमजोर छैन।

कामेश्वरका लागि जिन्दगी भनेको ‘ननस्टप ट्राइ’ र ‘ननस्टप प्राक्टिस’ हो। उनी भावुकतामा खासै विश्वास गर्दैनन् र विगतका घाउहरू कोट्याउन चाहँदैनन्।
‘म अरूलाई मेरो विगतको कथा सुनाएर भावुक बनाउन चाहँदिनँ, मलाई त्यो मनपर्दैन,’ उनी सिधा जवाफ दिन्छन्।
फिल्ममा अभिनय गर्छु भन्दा आफ्नै साथीहरु कामेश्वरलाई देखेर हाँस्थे, उडाउँथे। भन्थे– ‘तँ हिरो बन्न सुहाउँदैनस्, तँ किराना पसल चलाउन मात्र ठीक छस्।’
कामेश्वर केही प्रतिक्रिया दिँदैनथे, मौनता नै उनको जवाफ हुन्थ्यो।
भन्छन्, ‘मैले केही भनिनँ, एकछिन उसको आँखामा मात्र हेरिदिन्थेँ। त्यो नै मेरा लागि पर्याप्त थियो।’
धेरैलाई थाहा नहुनसक्छ, पर्साको नगवास्थित सीमावर्ती क्षेत्र, जहाँ कामेश्वर हुर्के, त्यहाँ कोही कलाकार जन्मिएको थिएन।
‘म जहाँ जन्मिएँ, हुर्किएँ, त्यो धर्तीबाट या त कलाकार जन्मिन्छन् या त क्रिमिनल, म मात्रै हो त्यहाँ, जो कलाकार बन्यो,’ उनको दाबी छ।
उनका अनुसार बाल्यकालदेखि नै उनले हत्या, बलात्कार, चोरी, डकैती, जातीय द्वेष जस्ता जघन्य अपराधहरू आफ्नै आँखा अगाडि देखेका छन्। भन्छन्, ‘म त्यही डरलाग्दो र कठोर परिवेशबाट कलाकार बनेँ, अरु धेरै क्रिमिनल बने– मन र दिमागबाट।’
यही परिवेशमा हुर्किएर होला, कामेश्वरको आँखाबाट हत्तपत्त आँसु झर्दैन।
‘प्रायः रुँदिनँ म,’ उनी भन्छन्, ‘मेरो मनमा अब त्यो कोमलता वा कठोरताको भेद छैन। ’

हामीले उनलाई सोध्यौँ– ‘तपाईं निर्देशक हुनु भयो भने आफूलाई कुन भूमिकामा कास्ट गर्नुहुन्थ्यो?’
जवाफमा उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम लिए। उनी बालेनको बिग फ्यान हुन्।
‘मलाई त्यो व्यक्ति मर्द लाग्छ,’ उनी भन्छन्, ‘उहाँको बौद्धिकता अद्भुत छ, धैर्य उस्तै लोभलाग्दो छ।’
तपाईं सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ भने पक्कै कामेश्वरलाई भेट्न सक्नुहुन्छ। उनी निजी गाडी चढ्दैनन्, सार्वजनिक बसमै यात्रा गर्न रुचाउँछन्।
‘पछि आफ्नै साधन भयो भने पनि म पब्लिक बस नै चढ्छु। मलाई पब्लिक सेफ लाग्छ,’ कामेश्वर भन्छन्।
हेर्नुहोस्, ‘लेट्स टक’ जहाँ कामेश्वरले आफ्नो फिल्म करिअर र जीन्दगीका अनेक आयामबारे खुलेर कुराकानी गरेका छन् :
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया