कला


मनोज गजुरेलको दसैँ सम्झना : पहाड हुन्जेल १ रुपियाँ पाइने दक्षिणा मधेस झरेपछि १० भयो

मनोज गजुरेलको दसैँ सम्झना : पहाड हुन्जेल १ रुपियाँ पाइने दक्षिणा मधेस झरेपछि १० भयो

लक्ष्मी बलायर
असोज १६, २०८२ बिहिबार ९:३२, काठमाडौँ

सयपत्री फूल देख्नेबित्तिकै कलाकार मनोज गजुरेल दसैँ सम्झन्छन्। दसैँमा घरमा फूलपाती भित्र्याउने गरिन्थ्यो। सयपत्रीको बास्नाले घरै मगमगाउँथ्यो। बाल्यकालको त्यो स्मृति उनको मानसपटलमा ताजै छ।

त्यसैले त अहिले पनि जब मनोज सयपत्री फूल देख्छन्, त्यसलाई सुँघेर बाल्यकालको दसैँमा फर्किन्छन्। त्यो बचपन, जतिबेला उनी निस्फक्री थिए। महिना दिन अघिदेखि दसैँ मनाउने हुटहुटी हुन्थ्यो। मिठो खाने, राम्रो लाउने रहर हुन्थ्यो। दक्षिणा पाउने आशसहित टीका र जमरा थाप्न आफन्तकहाँ जान्थे। त्यही पैसाले मिठाइ किनेर खान्थे।

आजकल दसैँ त्यस्तो छैन। तर ती सुखद सम्झना भने बाँकी छन्। हास्य कलाकार गजुरेलले यसरी साटे दसैँ सम्झना:

म ताप्लेजुङमा जन्मेको। घरबाट ३ मिनेट पर मामाघर थियो। बाल्यकालको दसैँ मामाघरबाट सुरू हुन्थ्यो। सधैँ आमासँगै बसेको भएर पहिले मामाघर गइन्थ्यो। किनभने आमा आफ्नो आमाबुवाको हातबाट टीका लगाउन जानुहुन्थ्यो। त्यसकारण हामी पनि मामाघरबाटै टीका लगाउन सुरू गर्थ्यौँ।

मामाघरभन्दा पाँच मिनेटको दूरीमा स्कुल थियो। जहाँ स्कुलमा पिङ लगाएको हुन्थ्यो। मामाघरबाटै सिधै पिङ खेल्न गइन्थ्यो। त्यही नजिकै पसलहरू थिए। जहाँ मिठाई किनेर खाइन्थ्यो। मिठाई खान पाउनु बाल्यकालमा ठूलो कुरा लाग्थ्यो। वर्षमा एकचोटि दसैँमा टीका लगाएको पैसा पाइन्थ्यो। त्यसै पैसाले मिठाई किनेर खान्थ्यौँ।

दसैँ आउँदा मनमा छुट्टै उत्साह हुन्थ्यो। आमाले हामी सबैलाई एउटै थानको कपडा ल्याउनुहुन्थ्यो। एउटै कपडा ल्याएर दिदीहरूलाई जामा र हामी दाइभाइलाई कमिज सुरूवाल सिलाइदिनुहुन्थ्यो। त्यसैले दसैँ भनेपछि एक/दुइ महिनाअघिनै व्यग्र प्रतीक्षा र छुट्टै उमंग हुन्थ्यो।

मामाघरमा आमा र सानिमाहरूलाई पाँच रूपैयाँ, दाजु र दिदीहरूलाई दुई रूपैयाँ र हामी सानालाई १ रूपैयाँ दिनुहुन्थ्यो। त्यतिखेर यो सिस्टमजस्तै थियो। बाल्यकालमा म अन्तिमतिरै पर्थेँ। सानिमाको घर टाढा थियो। उहाँका छोराछोरी आउँदा सेकेन्ड लास्टमा हुन्थे। नआएको बेला मेरो लास्टमा पालो पर्थ्यो।

म ६ वर्षको छँदा हामी पहाड छोडेर तराई बसाईं सरेर आयौँ। ०३६ सालमा झापा आएपछि दसैँ अलिकति ठूलो हुन थाल्यो। काका, आफन्तदेखि सानिमाको घर जान थालियो। दक्षिणा पनि धेरै आउन थाल्यो। त्यतिखेर ५ देखि १० रूपैयाँसम्म दक्षिणा पाएको थिएँ।

१५ वर्षको उमेरपछि म काठमाडौँ आए। काठमाडौँ आएपछि दसैँको उत्साह र उमंग अर्कै हुन्थ्यो। किनभने एक वर्षसम्म घर गइँदैनथ्यो। दसैँमा झापा जाने भनेपछि एकदुई महिनादेखि नै गाडीको टिकट काट्ने र कपडा किनिन्थ्यो। कोसेलीको रूपमा न्युरोड गएर गुँदपाक र पुष्टकारी किनेर लगिन्थ्यो। त्यो चाहिँ खास दसैँजस्तो लाग्थ्यो। आमालाई कपडा पनि लगिन्थ्यो।

त्यतिबेला किशोरावस्थामा थियौँ। दसैँको खुबै महत्त्व हुन्थ्यो। सानो हुँदा कमै सम्झना छ। त्यतिखेर खासै उल्लेखनीय दसैँ पनि भएन। त्यो बेलाको दसैँको मसिनामसिना कुरा याद छन्। एक महिनापहिल्यै टिकट काट्नुपर्थ्यो।

म जहिल्यै अगाडि बसेर जान्थे। मलाई अगाडिको दृश्य हेर्दै जान मजा लाग्थ्यो। घर जाँदा गाडीका ड्राइभर र स्टाफहरूसँग नजिक हुन्थेँ। जसले गर्दा बाटोमा खानाहरू उहाँहरूले खुवाउनुहुन्थ्यो। अनि धेरैवर्षसम्म गाडीको छतमा बसेर दसैँमा घर जानेआउने गरेको छु। यहाँदेखि झापासम्म पुग्न १२ घण्टा लाग्थ्यो।  गाडीमा गीतहरू बज्दा रमाइलो लाग्थ्यो। दसैँको भन्दा पनि ड्राइभरको रूचिअनुसार गीत बजाइन्थ्यो। त्यसपछि गाडीमा भिडिओ कोच भनेर आउन थाल्यो। फिल्म हेर्दै जान थाल्यौँ। त्यतिबेला दसैँसम्बन्धी नै फिल्महरू लगाउनुहुन्थ्यो।

सामाजिक र पारिवारिक रूपमा भेटघाट हुन्छ, त्यो नै दसैँको ठूलो पाटो जस्तो लाग्छ। साथै भावनात्मक पाटो चाहिँ दसैँको बेला फूलपाती लाइन्छ नि। त्यो मलाई असाध्यै मन पर्ने। अहिले पनि बेलाबेला त्यो पात सुँघ्ने गर्छु। जसले दसैँको फिल सधैँभरि आउँछ। सयपत्री देखेपछि पहिलेको दसैँ सम्झना आइरहन्छ।

हाम्रो घरमा आमाबुवा र हजुरबुवा शाकाहारी हुनुहुन्थ्यो। त्यसकारण अष्टमीमा घरमा बली चढाउने चलन छैन। घरमा खसी काट्ने गरिँदैन।

यसपटक भने दसैँ खासै उत्साह छैन। आमा काठमाडौँमै हुनुहुन्छ, उहाँबाट नै टीका थापेर दसैँ मनाउछु। देश यस्तो अवस्थामा छ। कुनै पनि खालको उत्साह र रमाइलो गर्ने खालको भाव छैन। सामान्य सांस्कृतिक परम्पराअनुसार परिवारसँगै मनाइन्छ।

दसैँसँग हाम्रो सांस्कृतिक परम्परा मात्रै जोडिएको हुँदैन। शक्तिपिठहरूको आराधना हुन्छ। त्यही भएर गर्दा सक्नेले सहयोग गरौँ। खासगरी सामाजिक सञ्जालले टाढा बनाएका मनहरूलाई दसैँले जोडोस्। यही कामना छ। दसैँको सबैलाई शुभकामना दिन चाहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad