एक बेफिक्री पात्र, जो पाँच वर्षअघि टिकटकको दुनियाँमा आइन्। भद्दा मेकअप अनि बिन्दास पारा। कहिले फिल्मका संवादहरूमा आफ्नो स्वर भर्दै नक्कल गर्थिन् त कहिले नागिन गीत आफ्नै तरिकाले गाएर हसाउँथिन्। यस्तो लाग्थ्यो, अरुलाई हँसाउनु उनको सोख हो। त्यसैले त उनका भिडिओहरू हेरेर तनावमा भएका पनि खित्का छाड्दै हाँस्थे।
उनी अर्थात गुराँस नानी। जो कोरोनाकालमा धेरैका पीडाको ओखती बनिन्। अनौठो हाउभाउ, कन्फिडेन्ट बोली र भिन्न शैलीका कारण गुराँस टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भइन्। मनोरञ्जनभन्दा पनि धेरैले उनलाई मजाकको पात्र बनाए। इन्टरनेटमा उनी छाइरहँदा अन्तर्वार्ता लिने युट्युबरहरूको पनि लाइन लाग्यो।
हाम्रो समाजमा पहिल्यैदेखि सौन्दर्यको मापदण्ड गलत छ। जसमा गुराँस नानी पर्दिनन्। उनको बोल्ने शैली, मौलिक सौन्दर्य र सोच्ने तरिका सौन्दर्यको मापनभित्र अटाउँदैनन्। सौन्दर्य चेत कमजोर भएको धरातलले गुराँस नानीलाई मजाकको पात्र ठान्यो। जसकारण उनका टिकटक भिडिओ र अन्तर्वार्ताका क्लिप राखेर ट्रोल गरियो।
न उनलाई प्रश्न सोध्ने युट्युबरले बुझे, न सामाजिक सञ्जाल प्रयोगकर्ताले। उनलाई एकदमै संकुचित र सतही प्रश्न सोधिए। गलत प्रश्नमार्फत उनीहरूले गुराँस नानीका जवाफमा मनोरञ्जन मात्र खोजिरहे। तर, उनीभित्रको सिर्जनशील पाटोलाई कहिल्यै खोजिएन।
यसरी सबैले मजाकको पात्र बनाइरहँदा गायक दुर्गेश थापा र भ्लगर सिसन बानियाँ भने गुराँसको किरण बनेर झुल्के। उनीहरूले गुराँसलाई म्युजिक भिडिओ ‘जाने भए जाम् माया’ मा अवसर दिए। जुन धेरैका लागि आश्चर्यजनक भयो। किनकि यसमा उनीहरूलर् कुनै चर्चित मोडल वा अभिनेत्रीलाई राख्न सक्थे। तर, उनीहरूले गुराँसलाई स्थान दिएर नौलो प्रयोग गरे।

भलै गीतबाट चर्चा कमाउनैका लागि मात्र किन नहोस्, उनीहरूले गुराँसलाई एउटा कलाकारसरह व्यवहार गरे। राम्रो पारिश्रमिक दिए र सुटिङस्थलमा पनि मोडल वा अभिनेत्रीसरह सेवासुविधा उपलब्ध गराए।
दुर्गेश र सिसनको कामले गुराँसलाई हेर्ने दृष्टिकोण र मानसिकतामा सकारात्मक परिवर्तन आएको छ। उनलाई उडाउने र ट्रोल गर्नेहरू यतिखेर उनको तारिफ गरिरहेका छन्। गुराँसको सफलतामा खुसी लागेको भन्दै दर्शकहरू कमेन्ट गरिरहेका छन्। गुराँस मजाकको पात्र मात्रै होइनन् भन्ने उनको प्रस्तुतिले पनि देखाउँछ। भिडिओमा राम्रो अभियन गरेकी उनले अन्तर्वार्तामा पनि परिपक्क धारणा व्यक्त गरिरहेकी छिन्। त्यसैले दर्शकहरू प्रतिक्रियामा लेखिरहेका छन्: गुराँसले देखाएको परिपक्वता साँच्चै अद्भूत छ।
पछिल्लो समय दर्शकबाट पाएको प्रतिक्रिया देख्दा गुराँसलाई पनि निकै खुसी लागिरहेको छ। हाल आफ्नै घर सोलुखुम्बुमा रहेकी गुराँसले दुर्गेश र सिसनसँगको सहकार्यपछि अरुले आफूलाई गर्ने व्यवहारमा निकै परिवर्तन आएको बताइन्।
‘अहिले कलियुगमा प्रत्येक मान्छे स्वार्थी हुन्छन्। राम्रो काम वा केही नाम, दाम आयो भने चाहिँ मान्छेहरूले यो त मेरो मान्छे हो भन्छन्। आफन्तहरू पनि त्यस्तो हुन्छन्। म कहिले पनि हार खाने व्यक्ति होइन। यसमा मैले सबैभन्दा फरक पाएको चाहिँ अब पहिला मेरै नराम्रो भन्ने मान्छेहरूले पनि अहिले वाउ गरिराछन्। पहिला ट्रोल गर्नेहरू र उडाउनेहरू राम्रो गर्दाखेरि यो चाहिँ मेरो आफ्नै मान्छे हो भन्दारहेछन्। मान्छेलाई दुःख परेको बेला चाहिँ साथ दिँदैनन्। सफल हुँदा मात्र मान्छेले गन्ने रहेछन्,’ उनले भनिन्।
उसो त यस गीतमा गुराँस जोडिनुमा सिसनको ठूलो हात छ। कुनै समय अनमोल केसीलाई मन पराउँछु भन्ने गुराँसलाई केही महिनायता सिसनसँग जोडेर चर्चा गर्न थालिएको थियो। ‘मेरो माया छ भने रुमाल चिनो देऊ’ गीतमा गुराँसले बनाएको टिकटकमा सिसनले डुएट गरेका थिए। जुन टिकटक सबैतिर छायो।
दर्शकहरूले दुवैको केमेस्ट्री मिलेको भन्दै कमेन्ट गर्न थाले। गुराँसले पनि ह्यासट्याग सिसन बानियाँ लेख्दै भिडिओ अपलोड गर्न थालिन्। सिसनले कहिले नागिन भन्दै उनको आवाजमा भिडिओ बनाउन थाले। गुराँसले पनि सिसनलाई नागराज भन्दै जिस्काउन थालिन्। महिनौँसम्म एकअर्कालाई उडाउने यो सिलसिला जारी रह्यो। त्यसपछि दुवैलाई जोडेर टिकटकमा मिम र ट्रोल भिडिओ बन्न थाले। यही क्रममा गीतको लागि अफर आएको सुनाउँछिन् गुराँस।
भन्छिन्, ‘सिसन सर र मेरो टिकटकमा चाहिँ एउटा केमेस्ट्री चलिराथ्यो। अब दर्शकहरूले यताउता सेयर गर्ने कार्य गर्नुभयो। टिकटक इनबक्समा सिसन सरसँग मेरो कुरा भइरहेको थियो। त्यसपछि दुर्गेश सरको म्यानेजरले नि कल गरेर अफर गर्नुभयो।’
भिडिओ खेल्ने भनेपछि गुराँस सोलुखुम्बुबाट काठमाडौँ आइन्। सुरुमै भेट्नेबित्तिकै दुर्गेशले गुराँसलाई भनेका थिए: अब तिम्रो दुस्मनहरूलाई जलाउनु पर्छ।
हुन पनि त्यस्तै भयो। गुराँसलाई नराम्रो भन्नेहरू दुर्गेशको अघिल्लो चर्चित गीत ‘दुस्मन हेरेको हेर्यै’ झैँ भएका छन्। त्यसैले त यस सफलताको सम्पूर्ण श्रेय उनी दुर्गेश र सिसनलाई दिन्छिन्। बिनास्वार्थ परिवारजस्तै आफूलाई दुवैले साथ दिएको भन्दै उनले खुसी पोखिन्।
‘अहिले त जीवनमा एउटा सिसन सर र दुर्गेश सर उभिनुभयो। कहिले पनि नचिनेको मान्छे, एउटा स्वार्थबिना त्यसलाई पनि राम्रो गर्नुपर्छ लाग्नुभयो,’ उनले भनिन्, ‘त्यही भएर म नि:स्वार्थ साथ दिनुहुने दुर्गेश र सिसन सरप्रति धन्य छु। मैले जन्मेदेखि अहिलेसम्म नि:स्वार्थ मान्छे भेटेकै मेरो परिवारबाहेक उहाँहरू नै हो।’
‘जाने भए जाम माया’ ले युट्युबमा नयाँनयाँ रेकर्ड बनाइसकेको छ। २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत बन्यो। साथै यस गीतले सार्वजनिक भएको छोटो समयमै ग्लोबल ट्रेन्डिङमा पर्ने गीतको रेकर्ड कायम गर्यो। यति मात्र होइन, यो अमेरिकाको युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो।
यसरी विश्वभर गीत हिट हुँदा आफूलाई अरु कामको अफर आइरहेको बताउँछिन् उनी। तर, आगामी दिनमा कस्तो काम गर्नेबारे सचेत रहेको बताउँछिन्।
‘अफर त आइराछन्। कतिपयको लिरिक्स नराम्रो हुन्छ। धेरैले मान्छेले हेर्दियोस् भन्नको लागि मात्र लिरिक्स लेख्ने अनि त्यस्तै खालको क्यारेक्टर उनीहरूले खोजिराको छ। मैले त्यस्तो क्यारेक्टर स्वीकार गरिरहेको छैन,’ उनले थपिन्, ‘पहिले भाइरल भइहालेँ, एकचोटि मान्छेले गुराँस-नानी भनेर चिनिहाले। अब मलाई राम्रो रोल अथवा राम्रो ठाउँबाट अफर आउँदा मात्र काम गर्छु। राम्रो प्रोजेक्टबाट अफर आएन भने म काम गर्दिनँ, खेतीपाती गरेर बस्छु भन्ने मान्छे हो। अनि दुर्गेश सरले पनि मलाई गीत पठाउनू, जथाभावी चाहिँ नखेल्नू भन्नुभएको छ।’

दुर्गेश थापा भन्छन् : सेलेब्रिटीलाई जस्तै ट्रिट गर्यौँ
दुर्गेश थापाका अनुसार गुराँस अन्य भाइरल व्यक्तिहरूभन्दा भिन्न छिन्। सोहीकारण उनलाई म्युजिक भिडिओका लागि अफर गरेको उनको दाबी छ।
‘भाइरल हुन खोज्नेहरू धेरै छन्। गुराँस बहिनी चाहिँ अरुभन्दा भिन्न हुनुहन्छ। इनोसेन्ट तरिकाले बोल्नुहुन्छ। सोलुखुम्बुजस्तो ठाउँमा बसेर पनि केही गर्न खोजे पनि पारिवारिक पृष्टभूमिका कारण गाह्रो भइरहेको थियो। त्यस्तोमा उहाँलाई लिएर एउटा म्युजिक भिडिओ गरौँ भन्ने भयो,’ उनले भने, ‘घरतिर सानो पसल अथवा दुईचारवटा ब्राखा किनेर उहाँको जीविकोपार्जन गर्ने माध्यम होस् भन्ने थियो। सुरुमा हामीले कति पारिश्रमिक लिनुहुन्छ भनेर सोध्यौँ। उहाँले यति भनेपछि ल ठिक छ आउनुहोस् भनेर काम गर्यौँ।
साथै गुराँसको सेलेब्रिटी बन्ने सपनालाई पूरा गर्न सघाएको उनको भनाइ छ।
अस्ट्रेलियामा रहेका थापा भन्छन्, ‘उहाँलाई मानिसहरूले अर्कै किसिमले जज गर्दै आउनुभएको थियो। एउटा गाउँको मान्छेको पनि सपना हो नि। म फलानोसँग खेल्छु भनेर सपना देखेको हो नि त। त्यो सपनालाई हामीले साकार बनाइदिएका हौँ।’
दुर्गेशले गुराँसलाई कामगरेबापत ५० हजार रूपैयाँ पारिश्रमिक दिएका थिए। जुन चलनचल्तीका मोडलहरूले लिने पारिश्रमिक बराबर हो। यतिमात्रै होइन, दुर्गेशले म्युजिक भिडिओको सुटिङ गर्दा गुराँसका लागि सहयोगी समेत खटाएका थिए। गुराँसलाई नायिकाजस्तै व्यवहार गरिएको उनको भनाइ छ।
‘एउटा नायिकालाई जस्तो किसिमले सुटिङमा ट्रिट गरिन्छ, त्यस्तै फिल गुरास बहिनीलाई सेलेब्रिटीवाला फिल होस् भनेर दुईजना मान्छे खटाएका थियौँ। सेलेब्रिटी भएपछि यस्तो हुन्छ भन्ने कुरा उसलाई पनि थाहा होस् भनेर केही कुरामा कमी राखेनौँ,’ उनले भने।
हाल दुर्गेश सांगीतिक टुरका लागि अस्ट्रेलियामा छन्। गुराँसलाई ल्याउनुपर्यो भनेर अमेरिकाबाट कुरा आइरहेको समेत उनले खुलाए।
‘आयोजकले गुराँसलाई अमेरिका ल्याउनुपर्यो भन्ने कुराहरू आइरहेका छन्। उहाँहरूले आयोजना गरेर बोलाउनुहुन्छ भने हामी लगेर जान तयार छौँ। हामीसँग काम गरेर उहाँको भविष्य बन्छ भनेपछि हामीले किन नलाने?’ उनले भने।
हालै आफू ब्रान्ड एम्बासडर बनेपछि उनले अनरको मोबाइल पाएका थिए। त्यो मोबाइल पनि उनले गुराँसलाई गिफ्ट दिएका छन्। त्यस्तै, आजमात्रै गीतले युट्युबमा करोड भ्युज पाइसकेको छ। यस खुसीमा पनि गुराँसको बारेमा सोचेको बताउँछन् उनी।
गुराँसको बारेमा राम्रो सोच्ने बताउँदै आफूले सुझाव समेत दिने गरेको उनले सुनाए।
‘मान्छेले यत्तिकै भ्युजको लागि प्रयोग गरिरहेका हुन्छन्। अब चाहिँ लेभलको र गीत हेरेर मात्रै काम गर भनेको छु। अब तिमीलाई मान्छेले हेर्ने नजर नै फरक छ। अब गीत छान्दा पनि समाजले पचाउने र फ्यामलीले हेर्ने टाइपको होस्। गीत छानेर काम गर भनेको छु,’ दुर्गेशले भने।

सोलुखुम्बुदेखि टिकटकमा भाइरलसम्म
सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका खास्तापमा जन्मे हुर्किएकी गुराँसको वास्तविक नाम गृष्मा खालिङ राई हो। उनलाई सानैबाट फिल्म हेर्न औधि मन पर्ने। विशेषगरी, राजेश हमाल र रेखा थापाका फिल्महरू बढी हेर्ने गर्थिन् उनी। फिल्म हेरेपछि उनलाई लाग्थ्यो: उहाँलाई भेट्दा कस्तो हुन्थ्यो होला?
यद्यपि, कलाकार बन्ने चाहना थिएन।
एक दाइ र पाँच दिदीबहिनीमध्ये माइली हुन् गुराँस। सामान्य घरपरिवारमा हुर्किएकी गुराँसको जीवन भाइरल हुनुअघि गाउँमा साधारण तवरले बितिरहेको थियो। खेतीपाती र पशुपालनमै उनले समय दिइरहेकी थिइन्।
दस कक्षासम्मको अध्यन गरेपछि गुराँस जागिर गर्ने हिसाबले पहिलोपल्ट काठमाडौँ आइन्। उनका अनुसार त्यतिबेला उनले हेल्थ केयरको काम पाएकी थिइन्।
केही समय काम गरेपछि कोभिडमा उनी घर फर्किन्। त्यतिबेला उनीसँग काठमाडौँ फर्किने खर्च समेत थिएन। गुराँसलाई पहिल्यैदेखि आफ्नै परिश्रम गर्छु र आफ्नै खुट्टामा उभिन्छु भन्ने लाग्थ्यो। जसकारण उनले बुवाको पैसा लिइनन्। बरु गाउँमै गिट्टी कुटेर खर्च जोहो गरेर काठमाडौँ आइन्।
दोस्रोपटक पनि गुराँसले हेल्थ केयरमै काम गरिन्। गुराँसलाई हेल्थकेयरका म्यानेजरले बहिनी बनाएका थिए। त्यतिबेला गुराँससँग राम्रो भिडिओ बनाउने मोबाइल पनि थिएन। जसकारण ती दाइसँग मोबाइलबाट पहिलोपल्ट टिकटकको दुनियाँमा आइन् गुराँस नानी। कहिलेकाहीँ भिडिओ बनाउँथिन् उनी।
गुराँसले भनिन्, ‘सुरुमा त टिकटक नै के हो भन्ने थाहा थिएन। त्यतिखेर टिकटक पनि भर्खर-भर्खर नै नेपालमा चलिराथ्यो। प्लस जाने अनि रेकर्ड गर्थेँ। एक-दुईवटा गीतमा बनाउँथेँ। धेरैजसो आफ्नै भ्वइसबाट केही डाइलगहरू बोलेर, के-के बनाएर हाल्थेँ। नेपालमा चाहिँ जे होस् यस्तो खालको भिडिओहरू चल्छ भन्ने थाहा थियो। अरु ममाथि हाँस्यो भने चाहिँ भिडिओ चल्छ भन्ने मेरो दिमागमा आइहाल्यो। त्यही हिसाबले मैले भिडिओ बनाएँ। जुन भिडिओहरू भाइरल भए।’
मान्छेहरू नराम्रो कुरातिर छिटो हुन्छन् भन्ने गुराँसलाई लाग्छ। जसकारण सुरुवातमा आफू त्यही बाटोबाट आएको उनको स्वीकारोक्ति छ।
‘मलाई सुरुमै थाहा थियो कलियुगमा नेगेटिभ कुराहरू बढी सेयर गर्छन्, बढी मान्छेले रुचाउँछन् भन्ने। त्यही वेबाट म आएको थिएँ। आफ्नो इज्जतको चाहिँ ख्याल राख्नुपर्छ तर मलाई दुनियाँको अगाडि राम्रो हुनु छैन, भगवानको अगाडि राम्रो हुनु छ। त्यो बाहेक चाहिँ अब दुनियाँलाई कसरी पागल बनाउन सकिन्छ भन्ने हिसाबले मैले टिकटक बनाएको हो,’ उनले सुनाइन्।
हेल्थ केयरमा काम गर्दा उनी मण्डिखाटारमा बस्थिन्। टिकटकमा चले पनि उनीसँग राम्रो मोबाइल थिएन। नाइट ड्युटी गरेर दिनभरि इन्टरभ्यु, कहिले सुटिङमा पुग्थिन्। यसरी दिनरात ड्युटी गरेर पैसा कमाएर मोबाइल किनेको उनको भनाइ छ।
रेखाको फ्यान भएकाले गुराँस उनकै फिल्मका डाइलगमा टिकटक बनाउँथिन्। गुराँसले फिल्म ‘जाऊँ हिँड पोखरा’ मा समावेश रेखाको डाइलगमा आफैँ बोलेर टिकटक बनाएकी थिइन्। जुन डाइलग यस्तो थियो:
एसक्युज मी, जाने हो?
अरे! यति राति कहाँ जानु हो?
पोखरा…
जुन भिडिओ टिकटकमा मात्रै भाइरल भएन, सामाजिक सञ्जालभरि छायो। यतिसम्म केहीले त जाने हो? भन्ने डाइलगलाई आफ्नो बिजनेसमै समेत प्रयोग गरेका थिए।
त्यस्तै, ‘लाग्दैन मलाई कसैको माया’ होस् वा ‘मेरे दुस्मनोँ को नहीँ छोडुंगी मै’ भन्ने नागिनवाला गीत। यस्तैयस्तै रमाइला भिडिओले गुराँस दर्शकमाझ परिचित बनिन्।

१० कक्षापछि पढाइ भने अगाडि बढाइनन् गुराँसले। पढाइलाई निरन्तरता नदिनुको कारण खुलाउँदै उनले भनिन्, ‘एकैचोटि म भाइरल भएँ। अनि टाइम पनि थिएन। अब त्यही इन्टरभ्यु कहिलेकाहीँ सुटिङमा भयो। अनि अर्को कुरा भनेको चाहिँ एजुकेसनलाई मैले सुरुबाटै त्यति महत्त्वपूर्ण पनि सोचिनँ। अहिले अब पीएचडी गरेको मान्छेहरू पनि विदेशमा गएर स्ट्रगल गरिराख्नुपर्ने स्थिति छ। नेपालमा एजुकेटेड भए पनि खासै त्यति काम चाहिँ रहेनछ भन्ने कुरा मैले बुझेको थिएँ।’
सात वर्षअघि गुराँसले आमा गुमाइन्। जसकारण यो सफलता आमासामु सुनाउन पाइनन्। तर, उनका बुवाले भने छोरीको सफलतामा खुसी हुँदै आशीर्वाद दिए।
‘मेरो सफलतामा बुवा निकै खुसी हुनुभयो। बुवाले अब तिम्रो छुट्टै काम छ। राम्रो गर्दै जानू, नराम्रो मान्छेहरूसँग संगत नगर्नू भन्नुभयो। मैले तिमीहरूलाई जति कडा वातावरणमा हुर्काएँ, त्यो मेरो लागि होइन, तिमीहरू आफ्नै लागि हो भनेर भन्नुभएको थियो। बाबाले अहिले पनि हामीले गल्ती गरेको खण्डमा पिट्नुहुन्छ।’
यो सफलता अनि अहिलेको प्रतिक्रियाले पनि गुराँस धेरै उत्साहित छैनन्। अहिले प्रशंसा गर्नेहरूले नै भोलि नराम्रो हुँदा गाली गर्नेछन् भन्नेमा उनी ढुक्क छिन्।
‘सफल भइसकेपछि वा राम्रो मान्छेको संगत गर्दा मान्छेले तारिफ गर्छन्। भोलि मेरो केही नराम्रो दिन आयो भने अहिले तारिफ गर्ने मान्छेहरूले नराम्रो गर्न पनि सक्छन्। त्यही भएर मलाई केही ठूलो लाग्दैन,’ उनी भन्छिन्, ‘मेरो भोलिको दिनमा केही कुनै समयले साथ दिएन र नराम्रो दिन आयो भने त्यही मान्छेहरूले नराम्रो लेख्ने पनि हो। म संसारमा कसैको पनि भरमा नपर्ने व्यक्ति हो। मलाई राम्रो भन्छन् या नराम्रो भन्छन्। त्यो कुराको मलाई केही पनि विश्वास छैन। राम्रो भन्ने मान्छेहरूले पनि पछाडिबाट छुरा प्रहार गरिरहेको हुन्छ। कुनै मान्छेले मलाई वाउ भनिहाल्यो भने बिग्रिने सम्भावना पनि धेरै हुन्छ।’
Shares

प्रतिक्रिया