स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ को कमाइ घरेलु बक्सअफिसमा नौ करोड नाघेको छ। चलचित्र विकास बोर्डका अनुसार गत आइतबारसम्म यस फिल्मले नौ करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
वैशाख २५ गतेबाट प्रदर्शनरत यस फिल्मलाई हिजोसम्म तीन लाख ११ हजार ४०३ जनाले हेरेका छन्। यो कमाइसँगै षट्कोण आर्ट्सको यो फिल्म लगानी उठाएर पनि नाफामा छ।
फिल्मको डिजिटल र विदेश राइट जोड्दा कलेक्सन १० करोड रुपैयाँभन्दा धेरै पुगेको छ। योसँगै ‘लालीबजार’ यस वर्षको धेरै कमाउने फिल्म समेत बनेको छ। साथै यस वर्षको नाफा कमाउन सफल फिल्म समेत हो।
यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यू गरेका छन्।
फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
Shares

प्रतिक्रिया