कला


किन परिवर्तन गरियो विजय बराल अभिनीत ‘जनै हराएको बाहुन’को  टाइटल?

किन परिवर्तन गरियो विजय बराल अभिनीत ‘जनै हराएको बाहुन’को  टाइटल?

नेपालखबर
जेठ १९, २०८२ सोमबार १२:२४, काठमाडौँ

फिल्म ‘जनै हराएको बाहुन: सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ। अब यस फिल्मको नाम ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ राखिएको छ। 

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ।

भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य पात्र विजय बराल छन्।

रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ। आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ। पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ। घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ। 

पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ। निर्माणपक्षले विजयलाई एउटा ट्याग दिएको छ। विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो।

छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ। यस फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो।

निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ। फिल्मका असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

फिल्ममा विजयसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ। चलचित्रमा  रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको पनि अभिनय रहेको छ।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको यो फिल्म भदौ ६ गते रिलिज हुने छ।

ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad