बलिउड अभिनेता आमिर खान आफ्नो कामका कारण मात्र नभई व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन्। ६० वर्षको उमेरमा हालै नयाँ प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा अझ चुलिएको छ।
यसैबीच आमिरले आफ्नो प्रेम, परिवार, फिल्म र व्यक्तिगत जीवनका विषयमा अन्तर्वार्ता दिएका छन्।
युट्युबर राज शमानीलाई दिइएको अन्तर्वार्तामा उनले आफ्नो जीवनका निजी कुराहरू पनि खुलेर बताएका छन्।
अन्तर्वार्तामा राज सोध्छन्- व्यावसायिक वा व्यक्तिगत जीवनमा सबैभन्दा ठूलो गल्ती के हो?
जवाफमा आमिर भन्छन्, ‘मैले जीवनमा एउटा होइन, धेरैवटा गल्ती गरेको छु। आज म जे छु त्यो, सफलताका कारण मात्र होइन, ती गल्तीहरूका कारणले पनि हो। म एउटा साधारण कुरा भन्छु। रीना र मेरो धेरै चाँडै विवाह गरेका थियौँ। म २१ वर्षको थिएँ भने उनी मात्र १९ वर्षकी थिइन्। विवाहअघि हामीले एकअर्कालाई चार महिनादेखि मात्र चिनेका थियौँ।’
उनका अनुसार ती ४ महिनामा पनि उनीहरूले एकअर्कासँग धेरै कम समय मात्र बिताएका थिए।
आमिर अगाडि भन्छन्, ‘हाम्रो मनमा एकअर्काप्रति धेरै माया थियो, त्यसैले हामीले विवाह गर्यौँ। आज पछाडि फर्केर हेर्दा मलाई भन्न मन लाग्छ- तपाईंले विवाहजस्तो महत्त्वपूर्ण कदम धेरै सोचविचार गरेर चाल्नुपर्छ। त्यतिबेला युवावस्थाको उत्साहमा तपाईं धेरै कुरा बुझ्नुहुन्न, तर पछि तपाईंलाई थाहा हुन्छ। यद्यपि, मैले रीनासँग धेरै राम्रो जीवन बिताएको छु। त्यसैले तपाईंले यसलाई रीनाको गल्ती थियो भनेर बुझ्नु हुँदैन।’
आमिर थप भन्छन्, ‘रीना एक अद्भूत व्यक्ति हुन्। हामी एकअर्कासँग हुर्केका छौँ। हामी एकअर्कालाई धेरै सम्मान गर्छौं। हाम्रो हृदयमा एकअर्काप्रति धेरै माया छ। मलाई लाग्छ- कसैले पनि यति चाँडै, सानै उमेरमा, हतारमा यति ठूलो कदम चाल्नु हुन्थेन। तर आज मलाई लाग्छ- यदि मैले त्यो निर्णय नगरेको भए म आज तपाईंको अगाडि बसिरहेको हुने थिइनँ। म यसलाई गल्ती भन्न सक्दिनँ, किनभने त्यो विवाहले मलाई दुई सबैभन्दा सुन्दर उपहार दियो- जुनैद र इरा। मैले रीनासँग १६ वर्ष बिताउन पाएँ। यी सबै कुरा गल्ती होइनन्, बरु राम्रा कुरा हुन्।’
तर एक हिसाबले यसलाई गल्ती पनि भन्न सकिने उनको भनाइ छ। किनकि चार महिनामै विवाह गर्ने निर्णय गर्नु ठिक नहुने उनको बुझाइ छ।
आमिरले अगाडि भनेका छन्, ‘मेरो जीवनमा यस्ता धेरै कुरा भएका छन्। मान्छेले गल्ती गर्छ र त्यसबाट सिक्छ।
आमिरले आफ्नो पहिलो फिल्म 'कयामत से कयामत' छायांकनका क्रममा रीना दत्तसँग विवाह गरेका थिए।
तर उनीहरूले सन् २००० मा आपसी सहमतिमा सम्बन्ध विच्छेद गरे।
उनीहरूबाट दुई छोराछोरी जुनैद खान र इरा खान छन्।
पहिलो वैवाहिक सम्बन्ध टुटेपछि आमिरले सन् २००५ मा किरण रावसँग विवाह गरे। तर उनीसँगको सम्बन्ध पनि सन् २०२१ मा टुट्यो। उनीहरूबाट एक छोरा आजाद छ।
अहिले भने आमिर गौरी स्प्रेटसँग सम्बन्धमा छन्।
Shares

प्रतिक्रिया