कला


फिल्ममा देखिन चाहन्छन्, ‘राधा’ गीतबाट तारिफ कमाएका मनोज महर्जन (भिडिओ)

‘ऐला लुवया’ले बदलिदियो विदेश जाने योजना

लक्ष्मी बलायर
जेठ १२ , काठमाडौँ

बोल्नलाई बोल्न त पाइन्छ
बोल्न पनि तरिका चाहिन्छ

तरिका सिकेर आइन्छ
बोल्नलाई तिमी नै चाहिन्छ

बिजुली बलेको होला
मै जाने पुतली रेलैमा

टिकटक होस् वा सामाजिक सञ्जाल, स्वप्न सुमनको ‘राधा’ गीत चर्चामा छ। यस गीतका हरफमा दर्शकहरूले रमाउँदै टिकटक र रिल्स बनाइरहेका छन्। गीतसँगै दर्शकको नजरमा परेका छन्: मनोज महर्जन।

जो गीतको भिडिओमा एक प्रेमिल युवक बनेका छन्। चञ्चल अनि चुलबुले स्वभाव। निर्दोष रूपरङ र लजालु स्वभाव। जो मनपर्ने मान्छेलाई फकाउँदै छन्। मायाको आभास दिलाउँदै छन्। त्यो माया, जसमा बढी सरलता र मिठास भेटिन्छ।

त्यसैले त उनको पात्रले धेरैको ध्यान खिच्दैछ। मान्छेहरू मनोजको अभिनयको खुलेरै तारिफ गरिरहेका छन्। एक कमेन्टमा लेखिएको छ: 'खोकनाको सडक नाटकदेखि थिएटर हुँदै नेवा म्युजिक भिडियो र सबैभन्दा योग्य व्यक्तिसम्म।' 

यस्ता प्रतिक्रियाले मनोजलाई रमाइलो लागिरहेको छ।

‘एकदमै रमाइलो अनुभूति भइरहेको छ। आफूलाई मन परेको कामबाट राम्रो प्रतिक्रिया आउँदा र सबैले मन पराउँदा निकै खुसी लागिरहेको छ,’ उनले भने, ‘मेल एक्टरको काम एकदम राम्रो लाग्यो, उहाँको एक्सप्रेसन राम्रो लाग्यो भनेर प्रतिक्रिया दिनुभएको छ। म्यासेजमा मुस्कान एकदम मन पर्‍यो भन्नुहुन्छ।’

हुन त मनोज एकाएक चर्चामा आएका होइनन्। यसअघि उनले हिट नेवारी गीत सालुगु गाचा, ऐला लुवया, मखं त्वा या ग्वा, जित य:म्ह, माया मदुला लगायतका गीतमा अभिनय गरिसकेका छन्। तर, त्यो बेलाभन्दा अहिले धेरै दर्शकहरूले चिनेको उनको अनुभव छ।

उनी भन्छन्, ‘पहिले धेरैजसो नेवार भाषाको गीत गरेँ, जसले स्रोता र दर्शकहरू अलिकति बढी नेवार हुनुहुन्थ्यो। तर, यो गीत गरिसकेपछि अझै धेरै दर्शकले चिन्नुभएको छ। त्यो बेलामा गीत पनि राम्रो छ, काम पनि राम्रो छ भनेर समग्रमा प्रतिक्रिया आउँथ्यो। तर, राधामा आइपुग्दा व्यक्तिगत रूपमा काम नै राम्रो छ भनेर मेरो कामको लागि राम्रो प्रतिक्रिया पाइरहेको छु।’

अहिले टिकटक स्क्रोल गर्दा धेरैजसो यो गीत बजिरहेको हुन्छ। साथै युट्युबमा पनि म्युजिकतर्फ यो गीत ट्रेन्डिङमा छ। आफूले गरेको काम दर्शकहरूको रुचाउँदा खुसीसँगै सचेत समेत छन् उनी।

‘लोकप्रियता क्षणिक हो। यति मात्रै होइन, भविष्यमा अरु पनि काम गर्नुछ। यो काम राम्रो भयो, अर्को कामको लागि जिरोबाट सुरु गर्नुछ। अझै राम्रो काम गर्न पाइयोस् भन्ने चाहना छ,’ मनोज भन्छन्।

मनपर्ने गायककै गीतमा अफर
गायक स्वप्न सुमन मनोजका मनपर्ने गायक हुन्। स्वप्नका गीतहरू सुन्न रुचाउने उनलाई 'वाचा भयो' गीत औधी मनपर्छ। तर, मनपर्ने गायककै म्युजिक भिडिओको लागि अफर आउला भनेर उनले सोचेका थिएनन्।

तर, उनका अघिल्ला कामहरूसँग स्वप्न र उनकी श्रीमती ज्योत्सना योगी जानकार थिए। जसकारण ज्योत्सनाले आफ्नो निर्देशनमा काम गर्न मनोजलाई अफर गरिन्। गीतसहित भिडिओको कन्सेप्ट र स्क्रिप्ट मन परेपछि काम गर्ने तयार भएको सुनाउँछन्।

‘अचानक मनपर्ने गायकको गीतबाट अफर आउँदा निकै खुसी लाग्यो। स्वप्न सुमन र जोत्सना दिदीले मेरो नेवारी गीतको भिडिओ हेर्नुभएको रहेछ। ती गीतहरू हेरेपछि तपाईंलाई हाम्रो गीतमा कलाकारको लागि अफर गरेको भन्नुभयो। ज्योत्सना दिदीको भिजन पनि गजबको लाग्यो। आफूलाई मनपर्ने गायकको गीतमा अभिनय गर्न पाए भनेर गर्व लाग्छ,’ उनले सुनाए।

सुटिङ गर्नुअघि ज्योत्सनाले पात्रबारे सविस्तार सुनाएकी थिइन्। त्यो पात्र चुलबुल र केटीलाई फकाउने खालको थियो। त्यो सुनेपछि मनोज आफूलाई कल्पना गर्न थाले। क्यारेक्टर कसरी चुलबुल हुनसक्छ? त्यसले के के गर्नसक्छ होला? र, केटीलाई भेट्दा उसको रियाक्सन चाहिँ कस्तो हुन्छ होला? आफूलाई त्यसरी पात्रमा ढाल्न सजिलो भएको सुनाउँछन् उनी।    

खोकनाको सडक नाटकदेखि म्युजिक भिडिओसम्म
खोकनामा जन्मेका मनोजले सानैबाट अभिनयसँग साइनो गाँसे। बाल क्लबमा हुँदा उनी सडक नाटकहरू गर्थे। सडकमा जब उनी अभिनय गर्थे, तब उनको अभिनय देखेर दर्शकहरू गलल हाँस्थे। जुन कुरा मनोजलाई निकै मन पर्थ्यो। सडक नाटक होस् वा गाईजात्रा, अभिनय पुगिहाल्थे उनी।

प्लस टु सकेपछि मनोजले साथीबाट रंगमञ्चबारे सुने। दयाहाङ राई र सौगात मल्लजस्ता कलाकार पनि थिएटरबाट आएका हुन् भन्ने थाहा पाए। त्यसपछि उनी रंगमञ्चतिर ढल्किए। सन् २०१७ मा सर्वनाम थिएटरमा अभिनय कक्षामा भर्ना भए।

‘सडक नाटक गर्दा सबै हाँस्दा म त खत्रै मान्छे हुँ कि भन्ने सोच्थेँ। तर, थिएटरमा आएपछि ओहो! मलाई त केही आउँदैन रहेछ भन्ने भयो। म त जिरो रहेछु भन्ने थाहा पाएँ,’ उनले भने।

तीनमहिनाको अभिनय कक्षा सकियो। अब पालो आयो स्टेज अभ्यासको। मनोजमा स्टेजमा कहिले देखिन पाउँला भनेर हुटहुटी थियो। रंगकर्मी राज शाहले नाटक ‘जनयुद्ध जारी छ’ को रिहर्सलको लागि स्टेजको लागि बोलाए।

थिएटरको स्टेजमा पहिलोपल्ट नाटक गर्ने भनेपछि उनी निकै उत्साहित भए। तर, स्टेजमा गएपछि खालि दौडन र व्यायाम मात्रै गर्न लगाइयो। लगातार तीन सातासम्म त्यस्तै गर्दा दिक्क लागेको उनी सम्झन्छन्।

‘एकहप्ता बितिसक्यो। दोस्रो हप्तामा पनि त्यही दौडन र पुसअप गर्न लगाएको छ। नाटक गर्ने भनेको छ न स्क्रिप्ट दिएको छ, न डाइलग। तीनहप्तासम्म पनि केही भएको छैन। यस्तो पनि नाटक हुन्छ, यो त घरमै गरे पनि हुन्थ्यो लाग्यो,’ उनले भने, ‘नाटकको प्रक्रियामा बग्दै जाँदा र पात्र बाँचिसकेपछि त्यो पात्र जस्तै हुने होइन कि त्यो पात्रले कस्तो फिल गरेको होला भन्ने कुराहरू अनुभूति गर्नुपर्नेरहेछ भयो। धेरै सिक्न बाँकी रहेछ भन्ने भयो।’

त्यसपछि उनले ठूला माछा साना माछा, सपना अनेक अनेक, अर्को कुरुक्षेत्र, पिँजडाकी चरी,  २४ मा १२ लगायतका थुप्रै नाटकहरू खेले। साथै नाटकबाटै केही अन्तर्राष्ट्रिय महोत्सवमा समेत सहभागी भए। रंगमञ्चमा लागेको पाँच/वर्ष भइसकेको थियो। सपना पूरा भए पनि आर्थिक समस्याले सताइरहेको थियो। जसकारण उनले केहीवर्षको लागि विदेश जानेबारे सोचे।

‘थिएटर गरेको यत्रो वर्ष भइसक्यो। कतिञ्जेल नाटक गर्ने त? धेरै साथीहरूको थिएटर गरेर खान्छु भन्ने वातावरण छैन। मेरो पनि त्यही थियो। घरको जिम्मेवारी पनि छुट्टै छ। अब कमाउने बेला भयो भन्ने लाग्यो। त्यसपछि क्यानडाको लागि अप्लाइ गरेँ,’ महर्जनले भने।  

तर, सुरुमा अप्लाइ गर्दा पनि भिसा लाग्न सकेन। त्यहीबेला उनलाई बाल्यकालका साथी तथा संगीतकार रोजमान महर्जनले म्युजिक भिडिओको लागि अफर गरे। जुन नेवारी गीत थियो: सालुगु गाचा। साढे २ वर्षअघि सार्वजनिक भएको यो गीत निकै चल्यो। जसले मनोजलाई पनि पहिचान दियो।  

पहिलोपटक असफल भए पनि उनले दोस्रोपटक विदेशका लागि अप्लाइ गरे। सोहीबेला रोजमानले फेरि नयाँ गीत गर्न भनेर प्रस्ताव राखे। रोजमानसँगको दोस्रो गीत ‘ऐला लुवया’ भाइरल भयो। टिकटकदेखि सामाजिक सञ्जालभरि निकै छायो। गीतले चर्चा मात्रै पाएन, मनोजको बाटोनै मोडिदियो। किनकि यसपछि मनोजले विदेश जानेबारे कहिल्यै सोच्नुपरेन।

भन्छन्, ‘भिजा रिजेक्ट भएपछि ऐला लुवया रिलिज भयो। त्यस गीतले अरु कामहरूका लागि ढोका खुला भयो। म यतै काममा लागिरहेछु र मेरो गन्तव्य यतै रहेछ भन्ने महसुस भयो। त्यसपछि कहिल्यै विदेश अप्लाइ गरिनँ।’

मनोजले खेलेको पहिलो भिडिओ नै नेपाल भाषाको भयो। पहिलो गीत नै चलेपछि उनलाई नेपाल भाषाकै गीतकै अफर आउन थाल्यो। तर उनलाई सबैखाले गीतमा काम गर्न मन थियो।

‘फरक रोल गर्न पाऊँ भन्ने चाह त सधैँ हुन्छ। तर, गीतको प्रकृति एउटै भइरहँदा र रोमान्टिक हुँदा त्यस्तो धेरै फरक नपाइने। जुन कुरा राम्रो लागेन। एउटै किसिमको काम गरिरहेको रहेछु भन्ने फिल भइरहेको छ। अलिकति म सीमित भएँ कि के हो,’ उनी भन्छन्, ‘मलाई त सीमित हुनुछैन। मलाई अरु काम पनि गर्नुछ। अब चाहिँ अलिकति हेरेर गर्छु। फिल्टर गर्दैछु। यो गीतबाट अलिकति सुरुवात भएजस्तो लागिरहेको छ।’

नाटक, सर्ट फिल्म र म्युजिक भिडिओ गरे पनि मनोजलाई भविष्यमा नेपाली चलचित्रमा देखिनु छ। जसको लागि पनि संघर्षको दौडमा छन् उनी।

भन्छन्, ‘मेरो गन्तव्य नेपाली कला क्षेत्र नै हो। त्यो ठाउँसम्म पुग्नलाई धेरै चाहिन्छ। सर्ट फिल्म र म्युजिक भिडिओहरू गरिरहेको छु। नयाँ अनुभव र सिकाइलाई जोडेर भविष्यका कामहरू गर्नेछु। अहिले त बामे सर्दै छु। अबको पाँचवर्षमा नेपाली चलचित्रमा देखिनेछु भन्ने आशा र सपना छ।’

भिडिओ

जेठ १३, २०८२ मंगलबार १८:५८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad