कला


संगीता प्रधानले नेपालीमा गाइन् खयाल र ठुमरी

संगीता प्रधानले नेपालीमा गाइन् खयाल र ठुमरी

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १६:३३, काठमाडौँ

सन् २००७ मा पलेँटीमा पहिलो खेप गीत सुनाएकी संगीता प्रधानले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छन्।

झण्डै २ घण्टाको पलेँटीमा संगीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरिन्।

खयाल गायनबाट सुरु भएको प्रस्तुतिमा राग 'रागेश्री'को विलम्बित लयमा सङ्गीता आफैँले सृजना गरेको बन्दिस (गीत) 'सब सुख दियौ' प्रस्तुत भएको थियो।

एकतालबाट सुरु भएको रागले मध्य लय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो। तीन तालमा रहेको मध्य लयको बन्दिस 'उनी उनी रहिछौ किन हो संगिनी' कविवर माधव घिमिरेको शब्द सृजना थियो।

कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए। पहिलो ठुमरी राग 'माझ-खमाज' मा आधारित थियो। यसपालीको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो।

लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील संगीता प्रधानलाई 'ब्रजभाषा' र हिन्दीमा मात्र होइन, आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ। त्यो इच्छालाई आंशिक रूपमा भए पनि यसपाली पूरा गर्न पाउँदा खुसी लागेको उनले बताइन्।

यसमा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन्। आभासले माझ खमाजमा रहेको ठुमरीको बोल ‘झर्झर बर्खा ऋतु आयो' र राग पहाडीमा आधारित दादराका निम्ति 'मौन बसी बित्यो रात' लेखेका हुन्। त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य 'कठिन समयमा, एक मेरो घनश्याम' गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो।

पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने सङ्गीताले आफ्ना नयाँ-पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरिन्।

गीति चरणको सुरुवातमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भएका थिए। पहिलो प्रस्तुतिमा 'कुन पापीले कुन निष्ठुरीले' रहेको थियो। जसलाई सङ्गीतकार गुरुदेव कामतले धुन भरेका थिए। गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो।

'राग माण्ड'मा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो। कालीप्रसादको दोस्रो रचना ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ'लाई सङ्गीतकार आभासले धुन भरेका थिए। यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो।

त्यस्तै अर्को गीत ‘जीवन चुपचाप गुजारेँ त के भो? तिमीले जित्यौ म हारेँ त के भो?’ शान्ति ठटालको नयाँ धुन सङ्गीताको स्वरमा गुञ्जिएको थियो। शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना 'तिर्सना छल्किन्छ' र मन्जित तामाङ्को 'मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ' गाउँदा सङ्गीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो।

कार्यक्रममा सङ्गीताले आफू काठमाडौं आउँदाका क्षणहरू सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन्। त्यही क्रममा उनले सङ्गीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु सङ्गीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै 'आँगनमा आज मेरा प्रियतम आए' सुनाएकी थिइन्। निर्मोही व्यासको शब्द सृजना रहेको यो गीत सङ्गीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो।

कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना 'एकान्तमा फूल फुल्छ कि म फुल्छु' लाई अत्यधिक रुचाइएको थियो। फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले सङ्गीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए।

सङ्गीताले कार्यक्रममा आरती नेवाको शब्दमा रहेको 'किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ' गाउँदा सङ्गीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन्।

कार्यक्रमको अन्त्य भइसक्दा पनि दर्शकहरू आसनमै स्थिर देखिन्थे। पलेँटी हेरेर बाहिरिँदै गरेका शेष नारायणको प्रतिक्रिया थियो, ‘शास्त्रीय सङ्गीत र आधुनिकको सङ्गम गज्जबै सुनिँदो रहेछ; पलेँटी नहुँदा न्यास्रिएका थियौं । आज त्यो नियास्रो मेटियो ।' सँगै उभिएका पंकज नेपाल भन्दै थिए, ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रैछ।'

पलेँटीमा बारम्बार आइपुग्ने जर्मन सङ्गीत प्रेमी रेनाटे साम्बोकको प्रतिक्रिया थियो, ‘मैले पहिले पनि यो कार्यक्रम हेरेको छु। मलाई नेपाली गीत मन पर्छ तर नेपाली नारीले गाएको हेरेको यो मेरो पहिलो कन्सर्ट हो । 'सि ह्याज सच् अ बोल्ड याण्ड ब्युटिफूल भोइस!’

संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठशिल्पी हुन्। विश्वभारती विश्वविद्यालय शान्ति निकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन्।

पलेंटी कार्यक्रम हरेक अंग्रेजी महिना को अन्तिम शुक्रबार र शनिबार नेपालयको आर सालामा हुने गर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad