कला


यी हुन् ०८२ मा रिलिज हुने फिल्म, दसैँमा महाभिडन्त

यी हुन् ०८२ मा रिलिज हुने फिल्म, दसैँमा महाभिडन्त

लक्ष्मी बलायर
बैशाख १, २०८२ सोमबार १८:४, काठमाडौँ

आज वर्ष २०८२ को पहिलो दिन। नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि दुई नेपाली फिल्म ‘कर्मा’ र ‘पीताम्बर’ रिलिज भइसकेका छन्। दर्शकहरूले आफ्नो रुचिअनुसार नयाँ वर्षमा यी दुई फिल्म हेर्न सक्छन्।

गत बिहीबारदेखि हलमा लागेको बलिउड फिल्म ‘जाट’ को कमाइ खासै राम्रो छैन। अर्को शुक्रबार पनि नेपाली फिल्मको रिलिज सेड्युल छैन। यसैकारण पनि कर्मा र पीताम्बरसहित फागुन-चैतबाट प्रदर्शनरत लाज शरणम्, अञ्जिला र वसन्तलाई फाइदा पुग्ने देखिन्छ।

२०८१ मा जम्मा ६२ नेपाली फिल्म प्रदर्शन भए, जसमा धेरै फिल्मले राम्रै कमाइ गरे। अझ ‘पूर्ण बहादुरको सारंगी’ ले त ४६ करोडभन्दा बढी कमाउँदै इतिहास नै रच्यो।

त्यसपछि फिल्मको निर्माण संख्या पनि तीन गुणाले बढेको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ। नयाँ वर्षको अवसरमा सोमबार नै मिरमिरे, जारी २, पुष्पलता, ढुकढुकी, यानीमाया लगायतका फिल्महरू घोषणा भइसकेका छन्। यसर्थ २०८२ सालमा फिल्मको रिलिज सेड्युल अझ भरिने पक्का छ।

यस वर्षका लागि थुप्रै फिल्मले अघिल्लो वर्ष नै प्रदर्शन तिथि तोकिसकेका छन्। केही फिल्मले नयाँ वर्षको अवसरमा रिलिज मिति घोषणा गरेका छन्। यीमध्ये धेरैजसो फिल्म बहुप्रतीक्षित छन्। जसकारण पनि २०८१ जस्तै ०८२ पनि सिनेक्षेत्रका लागि सानदार हुने देखिन्छ।

नयाँ वर्षको पहिलो साता नेपाली फिल्म नभए पनि दोस्रो साताबाट रिलिज सेड्युल प्याक छ। वैशाख १२ गतेबाट दुई नेपाली फिल्महरू एकसाथ रिलिज हुँदैछन्। विनोद पौडेलको लेखन र निर्देशन रहेको फिल्म ‘भूठान’ रिलिज हुँदा हरर फिल्म ‘खेल’ पनि हलमा लाग्दैछ।

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ यसवर्षको बहुप्रतिक्षित फिल्ममा पर्छ। यस फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै हाल अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नुपर्दाको कथा समेटेको छ।

यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोयस पाण्डे लगायतको अभिनय छ। अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन्।

‘खेल’ मा अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त निर्देशन रहेको छ। फिल्ममा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय छ।

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’  वैशाख १९ गतेबाट रिलिज हुँदैछ। ‘झोला’ र ‘भोर’ पछि यो भट्टराईको तेस्रो निर्देशकीय फिचर हो। यस फिल्ममा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मुख्य भूमिका छ।

यस फिल्मले मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावलाई समेटेको छ। ‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्।

वैशाख २६ गतेबाट ‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ भिड्दैछन्। ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर मुख्य भूमिकामा छन्। म्युजिक फिल्महरू बनाउँदै आएको आर्टमाण्डुले बनाएको यो फिल्म नवीन चौहानको डेब्यु निर्देशनमा बनेको हो। साहित्यकार इन्द्रबहादुर राईको कथामाथि बनेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको अभिनय छ।

जेठमा पनि नेपाली फिल्महरूको सेड्युल व्यस्त छ। जेठ २ गतेबाट दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा: घर नं २’ रिलिज हुँदैछ। यस फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ।

सोहीदिनबाट ‘हेल्लो काशिराम’ पनि रिलिज हुँदैछ। कमेडी जनरामा बनेको यस फिल्ममा दिलिप रायमाझी, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, नवज्योति रसाइलीको अभिनय छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन फिल्म ‘नरसिंहाः अवतार’ जेठ ९ गतेको रिलिज मिति तोकिएको छ। यो पनि वर्षको बहुप्रतीक्षित फिल्म हो। किनकि यसै फिल्मबाट महानायक राजेश हमालले आठ वर्षपछि कमब्याक गर्दैछन्।

जेठ ९ गतेबाटै सिमोस सुनुवारको निर्देशित फिल्म ‘जन्ते बाख्रो’ रिलिज हुँदैछ। यस फिल्ममा सौगात, आशिफ र गरिमाका साथमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, कुसुम शर्मा लगायतको अभिनय छ।

त्यस्तै, गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेबाट दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ हलमा लाग्दैछ। यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। जेठ ३० गतेबाट भने फिल्म ‘भाइरल गोर्खे’ चल्दैछ। यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ। निगम श्रेष्ठको निर्देशित फिल्म नेपालमा  सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्तिमा केन्द्रित छ।

असारमा भने खासै फिल्महरू छैनन्। असार २७ गतेको लागि ‘यो मन त मेरो नेपाली हो’ को डेट तोकिएको छ। यस फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, आयुषा समाल, बुद्धि तामाङको अभिनय छ।

साउन २३ गतेका लागि सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ। गतवर्षको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको तयारीमा जुटेका छन्। यस फिल्मलाई साउन २४ गते रिलिज गर्ने योजना छ।

साउन २५ गतेबाट भने पल शाह, बेनिशा हमाल, नीति शाह अभिनीत ‘मोहर’ रिलिज हुने टुंगो लागेको छ।

त्यस्तै, भदौ महिनामा विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको बाहुन’ रिलिज हुँदैछ। हरितालिका तीजको अवसरमा भदौ १० गतेबाट हलमा लाग्ने फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्ममा विजयसहित मनिष राउत मुख्य भूमिकामा छन्। सोही दिन ऋषि लामिछानेको निर्देशन रहेको फिल्म ‘माग्ने राजा’ रिलिज हुँदैछ। यस फिल्ममा केदार घिमिरे, आर्यन सिग्देल, पर्षा शिवाकोटी, विल्सन विक्रम राई लगायतको अभिनय छ।

छायाङ्कनरत फिल्म ‘कुस्ती’ २०८२ को भदौमा प्रदर्शन गरिने निर्माणटिमको योजना छ। यस फिल्ममा धिरज मगर र मिरुना मगर लिड रोलमा छन्।

संविधान दिवसको अवसरमा असोज ३ बाट फिल्म ‘सोल्टिनी’ रिलिज हुने कुरा छ। यस फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बू मुख्य भूमिकामा छन्।

चाडपर्व आउँदा नेपाली फिल्मबीच प्रदर्शनका लागि होडबाजी चल्छ। अझ कतिपयले त फिल्म सुटिङअघि नै दसैँका लागि रिलिजको मिति तोक्छन्। दर्शकको राम्रो उपस्थिति हुने भएकाले निर्माताहरू यहीबेला फिल्म प्रदर्शनका लागि लालायित हुन्छन्।

अघिल्लो वर्षझैँ यो वर्ष पनि दसैँको अवसरमा आधा दर्जन बढी फिल्महरू क्यालेन्डरमा अटाइसकेका छन्। समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म फूलपाती (असोज १३) गतेदेखि प्रदर्शन हुनेछ।

फूलपाती लक्षित गरेर ‘हरिबहादुरको जुत्ता’, ‘दशमी’, ‘परालको आगो’, रोहित अधिकारीको ‘माइतीघर’ र पल शाहको मुख्य भूमिकामा ‘महाराजधिराज’ रिलिज हुने तय भइसकेको छ।

त्यस्तै, आज नयाँ वर्षमा दयाहाङ राई र मिरुना मगरको भूमिकामा बन्ने ‘जारी २’ पनि दसैँमा रिलिज हुने घोषणा गरिएको छ। सबै फिल्महरू रिलिज भएको खण्डमा दसैँमा ठूलो भिडन्त हुने देखिन्छ।

अनमोल केसीको ‘जेरी अन टप’ असोज ३१ बाट रिलिज हुँदैछ। यस फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’, निर्मल शर्मा, भुवन केसी, सुरक्षा पन्तलगायतको अभिनय छ।

त्यस्तै, प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्लो’ पनि तिहारमा आउने कुरा छ। तुलसी घिमिरे निर्देशन रहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ। यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ।

जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को प्रदर्शन मिति तय भइसकेको छ। कात्तिक २१ गतेबाट फिल्म रिलिज हुने यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत लगायतको अभिनय छ।

सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ पनि २०८२ मा रिलिज हुँदैछ। यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा लगायतको अभिनय छ।

त्यस्तै, शेखर गोल्छाको लगानीमा निर्माण भइरहेको ‘परान’ पनि यसैवर्ष रिलिज हुने कुरा छ। साथै निश्चल बस्नेतको डेनी डेन्जरस, ह्याप्पी डिभोर्स, ढुकढुकी, पुष्पलता, मिरमिरे, रोल नम्बर १, राम नाम सत्य, चमेलीको पोइ, द महावीर लगायतका फिल्महरू समेत यसैवर्ष रिलिज हुँदैछन्। 

अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुने घोषणा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad