गत चैत्र २२ गतेबाट प्रदर्शन भएको फिल्म ‘वसन्त’ले सुखद् व्यापार गरिरहेको छ। दर्शकबाट सिनेमालाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ। सिनेमाले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन्।
यो सिनेमा हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन्। जसमा महानायक राजेश हमाल लगायतका केही नाम चलेका कलाकारलाई दर्शकले हेर्न पाउँछन्। महानायक हमाललाई धेरैपछि सिनेमाको पर्दामा देख्दा दर्शकहरू सरप्राइज हुन्छन्।
महानायक हमालसहित अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई फिल्मभित्र हेर्न पाइनेछ।
सिनेमामा लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई हेर्न सकिन्छ। ‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि जानकारी दिएका थिएनन्।
कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहेपनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन्।
प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए यसले सिनेमाको व्यापारमा समेत प्रभाव पार्ने धारण दर्शकको छ। यी कलाकारहरूको भूमिका कस्तो छ र कति महत्त्वपूर्ण छ त्यो भने हलमा सिनेमा हेर्न पुगेका दर्शकले महसुस गर्छन्।
फिल्म ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ। मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्।
Shares

प्रतिक्रिया