गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ। यो चलचित्रको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो।
यस फिल्मले सलमान खान अभिनीत बलिउड फिल्म ‘सिकन्दर’लाई समेत धक्का दिएको छ। भारतमा ठिकै व्यापार गरिरहेको भए पनि ‘सिकन्दर’ नेपालमा भने कमजोर देखिएको छ। नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेको कारण हल सञ्चालकहरू ‘सिकन्दर’को शोहरू खाली भएको सुनाउँछन्।
यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। चलचित्रको प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरहरूमा दर्शक भेटिरहेकी छिन्।
उनले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छिन्।
एन्जिला गत शुक्रवार ग्रिसबाट नेपाल आएकी थिइन्। उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन्। यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन्। एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि हो। प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया