आज चैत १५ देखि नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ।
देशभर करिब १२० शोसहित यो चलचित्र रिलिज भएको हो।
काठमाडौँ उपत्यकामा आजै गणतन्त्रवादी र राजावादी दुवै पक्षका अलग-अलग प्रदर्शन भएका कारण नयाँ रिलिज तथा प्रदर्शनरत कुनै पनि चलचित्रका बुकिङ भने उत्साहजनक देखिएको छैन।
आन्दोलनका कार्यक्रम सकिएपछि साँझतिरका शोमा दर्शक हलमा पुग्ने अपेक्षा गरिएको छ।
‘डोरी’लाई केन्द्रीय चलचित्र जाँचपास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ। जसअनुसार यो चलचित्र १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन्।
चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण गरी ‘डोरी’ तयार भएको बताए।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। चलचित्रमा अरुण आफैँ मुख्य भूमिकामा छन्। प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा हुन्। चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्।
Shares

प्रतिक्रिया