राजनीति


मोर्चा र राजावादीको प्रदर्शनको प्रभावले यस्तो देखियो काठमाडौँको सडक (फोटो फिचर)

मोर्चा र राजावादीको प्रदर्शनको प्रभावले यस्तो देखियो काठमाडौँको सडक (फोटो फिचर)

सरोज नेपाल/सौगात दाहाल
चैत १५, २०८१ शुक्रबार १२:१७, काठमाडौँ

आज  शुक्रबार काठमाडौँका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ। नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न ठाउँ तोकिदिएको छ।  

एसईई परीक्षा जारी रहेकाले दुवैले बिहान ११ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने जनाएका थिए। सोहीअनुसार ११ बजेपछि मात्रै प्रदर्शनकारी सडकमा निस्किएका छन्। अहिले प्रदर्शनकारीहरू तोकिएको ठाउँमा जान ठाउँठाउँमा भेला भइरहेका छन्।   ।

समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ। माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्नेछ। माओवादी केन्द्रले निकाल्ने र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित  सभा हुने स्थल पुग्नेछ।

माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्‍याली निकाल्ने छ। उक्त र्‍याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ।   

मोर्चामै रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्नेछ। उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने प्रवक्ता प्रकाण्डले बताए।

नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकाल्नेछ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट  नेकपा (एकीकृत समाजवादी)ले र्‍याली निकाल्नेछ। मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ।

चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्‍याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने नेता विश्वकर्माले बताए।

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ।  प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

दुई समूहले फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ। दुई फरक फरक विचारधाराका समूहले एकैदिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ।

मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए।  त्यस्तै २ हजार हाराहारी सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। 

भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल क्षेत्रको सडक बिहानैदेखि बन्द छ। विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ९ सय बढी ट्राफिक प्रहरी खटाइएको बताइएको छ।  

बिहानैदेखि पद्मोदय, सिंहदरबार दक्षिण गेट, जयनेपाल, बागबजार, भद्रकाली, रत्नपार्क क्षेत्रमा डाइभर्सन गरिएको छ। दल र राजावादी समूहले र्‍याली गर्ने भनेका स्थानहरूमा यातायात प्रभावित हुने प्रहरीको आँकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad