प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आइफा अवार्ड भएरै छाड्ने बताएका छन्।
आगामी वर्ष २० लाख पर्यटन भित्राउने लक्ष्य सरकारको रहेको भन्दै ओलीले त्यसलाई सफल हुन नदिन आइफा अवार्ड रोक्न लागिएको बताए।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लगानीमा धेरै प्रतिफल प्राप्त गर्नेगरी अवार्ड गर्ने भनिएको भन्दै प्रधानमन्त्रीले भने, ‘अर्बौ खर्च गर्ने कुरा हावा कुरा हुन्।’
आइफा नेपालमा गर्ने निर्णय नभइसकेको अवस्था र बागर्नेनिङ चलिरहेको अवस्थामा देशकै सर्वनाश भयो भनेर रोक्ने आदेश दिएर हल्ला फिजाइएको प्रधानमन्त्रीले बताए।
उनले अहिले पनि आइफा नेपालमा गर्ने विषयमा छलफल भइरहेको दाबी गरे। प्रधानमन्त्रीले केही दिनअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा आइफा अवार्ड नगर्न दिएको निर्देशनको समेत विरोध गरे।
बलिउडको फिल्म अवार्ड इन्टरनेशनल इण्डियन फिल्म एकेडमी अवार्ड (आइफा) नेपालमा गर्न सरकारले ठूलो रकम खर्च गर्न लागेको सार्वजनिक भएपछि त्यसको चर्को विरोध भएको थियो। संसदका्े अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राष्ट्रको ढुकुटी (झन्डै १ अर्ब) खर्च गरेर विदेशी कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो।
चौतर्फी विरोध र संसदीय समितिको निर्देशनपछि पर्यटन बोर्डले नेपालमा आइफा अवार्ड स्थगित गरिएको जनाएको थियो।
यता, नेपालमा हुने भनिएको आइफा अवार्ड स्थगित गरिएपछि आयोजक संस्था विजक्राफ्ट इन्टरनेशनलले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।

प्रतिक्रिया