झण्डै तीनवर्षअघि ‘मिस्टर एन्ड मिस नेसनल’ को फिनाले भइरहेको थियो। प्रश्नोत्तर राउन्डको पालो थियो।
प्रतिस्पर्धी समा पराजुलीलाई जज इभाना लोहारले प्रश्न सोधिन्, ‘यदि तपाईं नेपाली चलचित्रमा जानुभयो भने कस्तो भूमिका खेल्नुहुन्छ र किन?’
समाले जवाफमा भनिन्, ‘नेपाली फिल्ममा देखिनु मेरो सपना हो। पक्कै पनि तपाईंहरूले एकदिन मलाई नेपाली फिल्ममा देख्नुहुनेछ। र, म बोल्ड र ब्रेभ महिला पात्रको भूमिका खेल्छु।’
समा २०२३ को मिस सुप्रानेसनल नेपालको उपाधि जित्न सफल भइन्।
‘आँटेको कुरा पुग्छ’ भनेझैँ समाको त्यो सपना पूरा भएको छ। ‘होस्टेल ३’ बाट समाले नेपाली फिल्ममा डेब्यु गर्दैछिन्। जुन फिल्म फागुन २३ गतेबाट हलमा रिलिज हुँदैछ। रमाइलो त के छ भने पहिलो फिल्ममै समा बोल्ड क्यारेक्टरमा छिन्।
‘मिस सुप्रानेसनलको अन्तिम प्रश्न फिल्मसँगै सम्बन्धित थियो। फिल्ममा कस्तो भूमिका खेल्नुहुन्छ भन्ने प्रश्नमा मैले बोल्ड अनि कन्फिडेन्ट रोल गर्छु भनेको थिए। होस्टेल ३ मा मेरो त्यस्तै क्यारेक्टर छ। रियलमा त्यो सपना पूरा भएको छ,’ उनले भनिन्।

पोखरामा जन्मिएकी समालाई सानैदेखि नृत्यमा रुचि थियो। स्कुल पढ्दा डान्स सिक्थिन् उनी। एकदिन डान्स टिचरले उनीहरूलाई फिल्म ‘ए मेरो हजुर २’ को सुटिङमा लगे। जहाँ समाले ब्याकग्राउन्ड डान्सर बनेर काम गर्ने मौका पाइन्। त्यो बेलादेखि फिल्मक्षेत्रप्रति रुचि जागेको सुनाउँछिन् समा।
‘साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेतले डान्स गरेको देखेर म अगाडि गएर डान्स गर्न कहिले पाउँला भनेर सोच्थेँ। त्यसले पनि फिल्मक्षेत्रमा आकर्षित भएँ,’ उनले सुनाइन्।
उनले डकुमेन्ट्री ‘छाया’ मा समेत सानो भूमिका गर्न पाएकी थिइन्। हजुरआमासँग बस्दै आएकी समा प्लस टु पछि भने जर्मनी बुवाआमाकोमा गइन्। र, उतै डेन्टल नर्सको कोर्स पढ्न थालिन्।
जर्मनीमा बसे पनि समालाई नेपाली फिल्म खेल्ने हुटहुटी बाँकी थियो। त्यसकै तयारीका लागि उनले थिएटर क्लास लिनेदेखि मोडलिङ समेत गरिन्। अन्तर्राष्ट्रिय मोडल रहेकी समाले सन् २०२२ मा मिस ग्लोब जर्मनीको उपाधि समेत जितेकी थिइन्।

‘मलाई नेपाली फिल्मक्षेत्र मन पर्छ। यो मेरो १० वर्षदेखिको सपना हो। कसरी जोडिने भनेर मैले उतैबाट पनि बाटो खोजिरहेको थिएँ। अनलाइन अडिसन हुँदा अप्लाइ गर्थें। नयाँ फिल्मको पोस्टर देख्दा निर्माता र पोड्युसरलाई म्यासेज गर्थेँ। मैले यो क्षेत्रमा आउन एकदम मेहनत गरेको छु,’ समाले सुनाइन्।
त्यसैबीच, सन् २०२३ तिर एकदिन समाले ‘मिस्टर एन्ड मिस नेसनल’ को अडिसनमा आवेदन दिइन्। र, छनोट भएपछि उनी प्रतिस्पर्धाको लागि नेपाल आइन्। विभिन्न चरण पार गर्दै उनी मिस सुप्रानेसनल नेपाल बन्न सफल भइन्।

मिस सुप्रानेसनल बनेसँगै समाको नेपाल बसाइ बाक्लियो र उनी फिल्ममेकरको नजरमा पर्न थालिन्। उनलाई फिल्मको अफर आउन थाले। तर, विभिन्न कारण उनको डेब्यु जुरिरहेको थिएन।
‘मिस सुप्रानेसनल बनेपछि मलाई धेरै फिल्मको अफर आएको थियो। कहिले के नमिल्ने, कहिले के। डेब्यु पूरा हुन सकिरहेको थिएन। जर्मनीमा बस्ने भएकाले समय मिलाउन गाह्रो भइरहेको हुन्छ,’ उनले भनिन्, ‘होस्टेलको लागि अफर आउँदा सुरुमा द्विविधामा थिएँ। तर, केही समयसम्म पनि दिमागमा त्यही कुरा खेलिरह्यो। गल्ती नै गरेँ जस्तो लाग्यो। अनि एकदुई हप्तापछि हुन्छ भने। स्क्रिप्टले लोभ्याएर खेल्न तयार भएँ।’
फिल्मभित्र समा आशिष घिमिरेको जोडीको रूपमा छिन्। आशिष चर्चित कलाकार केदार घिमिरे (माग्ने बुढा) का छोरा हुन्। जसकारण सुरुवातमा निकै डर लागेको उनको भनाइ छ।
‘आशिषको जोडी भन्दाखेरी डर लागेको थियो। किनकि उहाँले धुन्धुकारी बनेर खेलिसकेको। उहाँको परिवार पनि कलाकारितातिरकै छ। तर, भेटिसकेपछि एकदम सहज फिल भयो। कसरी काम गर्ने, के गर्ने भनेर निकै कुराकानी हुन्थ्यो,’ उनले सुनाइन्।

आशिषसहित अन्य कलाकारहरू पनि निकै राम्रो भएको सुनाउँछिन् उनी। डेब्यु फिल्म भएकाले सबैजनाले एकअर्काबाट सिक्दै काम गरेको बताउँछिन्। विशेषगरी, थिएटर आर्टिस्ट हेना नगरकोटीसँग धेरै कुरा सिक्न पाएको उनको भनाइ छ।
स्कुल पढ्दा समा आफैँ पनि होस्टेल बसेकी थिइन्। फिल्मको सुटिङ गर्दा ती दिनहरू सम्झिएको सुनाउँछिन् उनी।
‘म पनि ९/१० पढ्दा होस्टेल बसेकी थिएँ। होस्टेलमा केही खानेकुरा खान मिल्दैनथ्यो। तर, हामी बाहिरका साथीहरूबाट चाउचाउ ल्याइमागेर सबैजना सुतिसकेपछि खान्थ्यौँ। त्यो मोमेन्ट एकदमै मिस भयो। सुटिङमा पनि निकै रमाइलो भयो,’ उनले सुनाइन्।
प्रियंका कार्की समालाई मनर्ने अभिनेत्री हुन्। आफू प्रियंकाबाट प्रभावित भएको उनको भनाइ छ। अभिनेतामा भने उनलाई सलोन बस्नेत मन पर्छन्।
फिल्मको गीतदेखि ट्रेलरले प्रतिक्रियाले दंग छिन् समा। रिलिजको सँघारमा रहेको फिल्मलाई लिएर उत्साहसँगै डर पनि लागिरहेको सुनाउँछिन्।

समाले भनिन्, ‘सुरुमा डर लागिरहेको थियो। के कस्तो प्रतिक्रिया आउला भनेर। हामीले एकदम मेहनत गरेको थियौँ। त्यसकारण डरसहित एक खालको विश्वास पनि थियो। दर्शकहरूले गीतदेखि ट्रेलरलाई मन पराइसक्नुभएको छ। डेब्यु फिल्म भएकाले उत्साहित छु। तर, कस्तो होला भनेर अलिकति नर्भस पनि छु।’
डेन्टल नर्स भए पनि समालाई नेपाली फिल्मक्षेत्रमै काम गर्न मन छ। यो क्षेत्रमा अवसर पाएसम्म काम गर्ने उनको अठोट छ।
‘म धेरै कुरा गर्न मन पराउँछु। त्यहाँ म डेन्टल नर्सको रूपमा काम गर्छु। साथसाथै रेस्टुरेन्टमा काम गर्नेदेखि फोटोसुटमा जान्थेँ। यो क्षेत्रमा सधैँ काम पाइयो भने नेपालमै बस्छु। हैन भने जर्मनी नै फर्किन्छु,’ उनले सुनाइन्।
भिडिओ-
Shares

प्रतिक्रिया