‘ऐना झ्यालको पुतली’का निर्देशक सुजीत बिडारीले चलचित्र उद्योगमा नयाँ पुस्ता र पुराना पुस्ताबीचको ट्युनिङ मिल्न गाह्रो भइरहेको बताएका छन्। काठमाडौँ उत्सवको दोस्रो दिनको सत्रमा बोल्दै उनले भने, ‘इगोले कारण नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गरिरहेको छैन। पुरानो जेनेरेसनले पनि सम्मान नपाएपछि नयाँलाई किन माया गर्छ? यसले नयाँ र पुराना पुस्ताबीच ट्युनिङ मिल्न गाह्रो भइरहेको छ।’
खास गरी फिल्म स्कुलमा अध्ययन गरेर आउने नयाँ निर्देशकहरुमा यस्तो इगो बढी उनको तर्क थियो।
निर्देशनमा नयाँ पुस्ता शीर्षकमा भएको अन्तरक्रियामा सुजीतसँगै निर्देशक कृषा चौंलागाई र अनिल बुढामगर वक्ताका रुपमा सहभागी थिए। लेखक प्रभाकर गौतमले सहजीकरण गरेको अन्तक्र्रियामा तीनै जना वक्ताहरुले आफूले पहिलो पटक फिल्म निर्देशन गर्दाका अनुभव साटे।
निर्देशक अनिल बुढा मगर निर्देशित पहिलो फिल्म ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भयो। यसैवर्ष पहिलोपल्ट ठूलो पर्दामा डेब्यु गरेका अनिलले पनि निर्देशक बिडारीको कुरामा समर्थन गर्दै भने, ‘यसअघि मैले सर्ट फिल्म र डकुमेन्ट्री बनाएको थिएँ। तर फिचर फिल्म निर्देशन गर्ने क्रममा मभित्रको इगो सकियो।’
झन्डै दुई दशकदेखि निर्माताका रूपमा सक्रिय भएपिछ निर्देशनमा अएकी कृषा चौलागाईंको दोस्रो निर्देशकीय फिल्म ‘पीताबम्बर’ चैत २९ गतेबाट रिलिज हुँदैछ। सहजकर्ता गौतमले उनलाई प्रश्न गरे, ‘निर्माता बन्न सजिलो रहेछ कि निर्देशक?’
‘निर्माताभन्दा निर्देशक बन्न निकै गाह्रो रहेछ,’ १५ वर्षकै उमेरमा फिल्म निर्माणमा होमिएकी उनले हाँस्दै भनिन्, १५ वर्षको उमेरमा मल्टिस्टार मुभी बनाए। पैसा हालेपछि सबै मेरै जस्तो लाग्थ्यो। निर्देशकको रुपमा काम गर्दा सिर्जनात्मकदेखि व्यवस्थापनका सबै कुराबीच सन्तुलन राख्ने मानसिक दबाब हुन्छ। १८ वर्षदेखि निर्देशकलाई पेलिरहेको रहेछु भन्ने लागिरहेको छ।’
नयाँ पुस्ताको आगमन सकरात्मक भए पनि उनले अनुसन्धान गरेर मात्रै यो क्षेत्रमा आउन आग्रह गरे। ‘स्क्रिप्ट आफ्नै तरिकाले लेखिन्छ र सुटिङ पनि गरिन्छ। तर, रिलिज हुँदा व्यापारमा हेरिन्छ। व्यापारीहरु भावनालाई कम प्राथमिकता दिन्छन्। त्यहाँनिर ट्युनिङ मिल्दैन। जसले भावनाबाट प्रेरित मान्छेले चित्त दुखाउँछन्। बार्गेनिङ पावर नहुँदा दु:ख पाइन्छ। पहिलो फिल्म बनाउनेले दुस्ख पाउँछ। योक्षेत्रमा आउनेमा अध्ययनको कमी छ। जसले एउटा सिनेमा बनाएर हराउँछन्। पलायन हुने सम्भावना बढी हुन्छ,’ बिडारीले भने।
२०८१ साल धेरै नयाँ पुस्ताका निर्देशकहरुको आगमन भएको वर्ष हो। नवनिर्देशकहरुले नै बोक्सीको घर, पूर्णबहादुरको सारंगी, बेहुली फ्रम मेघौलीजस्ता बक्स अफिसमा सफल चलचित्र दिए। उनले नयाँ पुस्ताको आगमन र सफलतालाई सकारात्मक भन्दै केही सुझाव पनि दिए।
‘हामी आर्टिस्टहरुले स्क्रिप्ट लेख्दा भावनात्मक तरिकाले हेर्छौं र त्यसरी नै छायांकन पनि गर्छौं। तर, जब रिलिज हुने बेला आउँछ, फिल्मलाई व्यापारको रुपमा हेरिन्छ। व्यापारीहरु भावनालाई कम प्राथमिकता दिन्छन्। त्यहाँनिर ट्युनिङ मिल्दैन, उनले भने, ‘यस्तो अवस्थामा बार्गेनिङ पावर नहुँदा पहिलो फिल्म बनाउनेले दुःख पाउँछ।’
उनले पर्याप्त अध्ययन नगरी आउँदा धेरै जना एउटा सिनेमा बनाएर पलायन हुने सम्भावना बढी रहेको मतसमेत राखे। नयाँ पुस्ताले पर्याप्त अध्ययन गरेर आउन सुझाव दिए।
यतिखेर विभिन्न जनराको फिल्महरु बनिरहेका छन् र ती दर्शकहरुको रोजाइमा पनि परिरहेका छन्। यसमा नयाँ मेकरहरुको नेतृत्व बढी देखिएको छ।
‘नयाँ निर्देशकहरु बढिरहँदा खै त नयाँ महिला निर्देशकहरू?’
प्रस्तोता गौतमको प्रश्नको जवाफ दिँदै निर्देशक चौलागाईंले भनिन्, ‘हामीले जति नै जेन्डरको कुरा नगरौं भने पनि फिल्म क्षेत्रमा पनि यो कुरा आइहाल्छ। कलाकार वा अन्य भूमिकामा महिलाले जति समय दिनुपर्छ त्यसको तुलनामा निर्देशनका लागि धेरै समय र डेडिकेसन चाहिने भएकोले महिला निर्देशक कम छन्।’
पछिल्ला वर्षहरुमा जारी, गाउँ आएको बाटो, घरज्वाइँजस्ता लेखक निर्देशकहरुले आफ्नै अनुभव र सांस्कृतिक पृष्ठभूमिबाट कथा टिपेर बनाएका चलचित्रहरुलाई दर्शक र समीक्षकहरुले पनि सराहना गरे।
घरज्वाइँ पनि मगर समुदायको भूगोल र संस्कृतिमा आधारित कथामा बनेको फिल्म हो। निर्देशक मगरले अरुको कथा भन्नुभन्दा आफ्नै समुदायको कथा भन्न सहज भएकोले आफ्नै समुदायमा फिल्म बनाएको बताए।
उनले भने, ‘अरुको कथा भन्न वर्षौ लाग्छ। सोसल जनरामा आफ्नै समुदायभित्र थुप्रै कथा देखिरहेको छु। नयाँ कथा खोज्नुभन्दा म आफ्नै नजिकको कथा भन्न रुचाउँछु। तर यसरी आफ्नै कथाभन्दा कतिपयले समुदायवाला ट्याग लगाउने गरेकोमा उनले असन्तुष्टि पोखे।’
उनले भने, ‘नेपालमा मैले नबुझेको कुरा यो समुदायवाला फिल्म, यो नेपाली फिल्म भन्ने गरिन्छ। तर, कस्तोलाई नेपाली फिल्म भन्ने? कस्तोलाई सामुदायिक? क्षेत्री बाहुनले आफ्नो कल्चरमाथि फिल्म बनाउनु हुन्छ, त्यो पनि सामुदायिक भयो नि त। त्यतातिर हेरिँदैन। हेरिन्छ अरु समुदायतिर मात्र।’
निर्देशक मगरले यथार्थवादी र सांस्कृतिक पृष्ठभूमिका फिल्मको वकालत गर्दैगर्दा निर्देशक बिडारीले हाम्रो नेपाली चलचित्रमा विधागत विविधता बढे पनि सामाजिक यथार्थ हाबी भएको र प्रस्तुतिमा नयाँपन ल्याउन हुनुपर्ने जति शिल्पगत प्रयोग हुन नसकेको टिप्पणी गरे। उनले सामाजिक कथालाई पनि फरक फरक जनरामा भन्ने प्रयास हुनुपर्नेमा जोड दिए।
निर्देशक चौलागाईंले पनि सामाजिक कथाभन्दा प्राविधिक पक्षमा नयाँ नयाँ प्रयोगका साथ नयाँ विषय र नयाँ शैलीको विकासले मात्र चलचित्र उद्योग फस्टाउने धारणा राखिन्। आफ्नो आगामी फिल्ममा दक्षिण भारतका प्राविधिकहरुको प्रयोगसमेत गरेकी उनले नेपाली फिल्मको प्राविधिक स्तर बढाउन र बजार बिस्तारका लागि यस्तो सहकार्यको आवश्यकता रहेको बताइन्।
Shares

प्रतिक्रिया