भ्यालेनटाइन डेको अवसरमा फिल्म ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आगामी वर्ष २०८२ जेठ ३० गतेबाट रिलिज हुनेछ।
शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ।
अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यसले सिनेमाले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउदै गरेको भाईरल प्रवृतीलाई व्यंग गरेको बुझ्न सकिन्छ।
यो फिल्म निगम श्रेष्ठको निर्देशनमा तयार भएको हो। ‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ। भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ,’उनले भने।
अमर महर्जनको छायांकन रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ।
विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्।
Shares

प्रतिक्रिया