फिल्म ‘दैव संजोग’ मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ। यस गीतलाई नयाँ भर्सनमा तयार पारेर फिल्म ‘नरसिंहाः अवतार’ समावेश गरिएको हो।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन्। यस गीतको भिडिओलाई ४ दिन लगाएर खिचिएको छ।
जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडिओ खिचिएको हो। गीतको भिडिओमा कविराज गहतराजको कोरियोग्राफी छ। फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडिओ तयार पारिएको बताए।
यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् । अभिनेता राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे। गीतको हमालसहित कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ।
गीतको भिडिओ सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ। यस फिल्ममा हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन्। चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो पूर्वमिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो। यही फिल्मबाट नायक हमाल ८ बर्षपछि पर्दामा फर्किँदैछन्। जसकारण दर्शकहरूका लागि यो फिल्म विशेष छ।
Shares

प्रतिक्रिया