कला


जोखिम देखेर पनि एडल्ट फिल्ममा आए दयाहाङ, भन्छन्- दर्शकको प्रिय मात्रै बनिराख्नु मेरो धर्म होइन

जोखिम देखेर पनि एडल्ट फिल्ममा आए दयाहाङ, भन्छन्- दर्शकको प्रिय मात्रै बनिराख्नु मेरो धर्म होइन

लक्ष्मी बलायर
माघ २७, २०८१ आइतबार ९:३, काठमाडौँ

छेवाङ एक कवि हुन्। बाहिरबाट हेर्दा उनको दैनिकी सामान्य देखिन्छ। तर, भित्र असामान्य समस्याले गाँजेको छ।

उनमा इरेक्टाइल डिसफंक्सनको समस्या छ। यसै यौन समस्याका कारण छेवाङले मानसिक तनाव भोग्नुपरेको छ।

फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘दु:खी आत्मा’ को कथा यसै वरिवरि घुमेको छ। यस फिल्ममा दयाहाङ राई छेवाङ पात्रको भूमिकामा छन्।

करिब ३ वर्षअघि निर्देशक तथा लेखक दीपेन्द्र लामाले दयाहाङलाई ‘दु:खी आत्मा’ को आइडिया सुनाएका थिए। जुन आइडियाले दयाहाङमा पनि चासो जगायो। र, उनले दीपेन्द्रलाई स्क्रिप्ट लेख्न भने।

यसबीचमा दीपेन्द्रले ‘नांगो गाउँ’ बनाए। लामो समय त्यसैमा खपत भयो। त्यसपछि भने यसैको तयारीमा जुटे। 

कथा फरक भएकाले आफू यस फिल्ममा जोडिएको सुनाउँछन् दयाहाङ। ‘फिल्मको आइडिया सुनेपछि यस्तो रोग पनि हुँदो रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘पछिल्लो अध्ययनअनुसार ४० वर्षमाथिको पुरुषलाई यो समस्या देखाएको छ। अहिले त युवा पुस्तामा समेत आइसकेको छ। पुरुष–महिला– दुवैमा देखिन थालेको छ। यौन स्वास्थ्यको कथा भनिनुपर्छ भनेर रिस्क लिएर फिल्ममा जोडिएँ।’

गत असारमा मात्रै उनले फिल्मको पूरा स्क्रिप्ट पढ्न पाए। स्क्रिप्ट पढेपछि त उनलाई असहज पनि लाग्यो।

‘यस्तो विषयमा केटाकेटाको कुरा हुन सक्ला। केटीकेटीबीच पनि हुन सक्ला। तर, केटाकेटी कसरी यो विषयमा कुरा गर्न सक्छन् होला?’ उनको मनमा अनेकन प्रश्न खेल्न थाले।

पछि को-एक्टर आँचल शर्माको सपोर्टले काम गर्न निकै सहज भएको उनको अनुभव छ।

‘यसअघि पनि आँचलसँग सहकार्य भएकाले मलाई काम गर्न सहज नै भयो,’ उनले आफ्नो अनुभव सुनाए, ‘खिच्नुअघि कसरी प्रस्तुत हुने भनेर तयारी गरिन्थ्यो। इन्टिमेट सिन पनि खिच्नुपर्ने थियो। धेरै म्युजिक भिडिओ गरेको भएर आँचललाई अनुभव थियो। जसकारण उनी यो सिन भएन, यसरी गरेको भए बेटर हुन्थ्यो भनिहाल्थिन्।’

‘प्रतिक्रियाका लागि पहिल्यै तयार’
फिल्मक्षेत्रमा अहिलेसम्म दयाहाङको छवि त्यति विवादित छैन। प्रायः पारिवारिक फिल्म खेलेका उनलाई धेरै दर्शकले मन पराउँछन्। तर, ‘दु:खी आत्मा’ को टिजर र ट्रेलर सार्वजनिक भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ।

केहीले फरक फिल्म खेलेको भनेका छन् भने केहीले दयाहाङजस्तो कलाकारले ‘एडल्ट’ फिल्म खेलेको भन्दै आलोचना गरिरहेका छन्। दयाहाङले भने यस्ता आलोचनालाई स्वाभाविक र सहजरूपमा लिएका छन्। यस्तो प्रतिक्रिया सुन्न आफू पहिल्यैदेखि तयार रहेको उनको भनाइ छ।

‘यो बच्चादेखि वृद्धसम्म हेर्न कठिन होला। एउटा उमेर समूहलाई समूहगत रूपमा बसेर हेर्दा केही फरक पर्दैन। त्यही भएर हामी एडल्ड कन्टेन्ट हो भन्नुपर्छ भनेर तयार थियौं,’ उनले भने ‘मेरो फिल्म जसले हेर्नुहुन्छ, त्यो पूरै परिवारले हेर्नुहुन्छ। त्यसकारण म यो फिल्म गर्दिनँ भन्न मिल्दैन। दर्शकको प्रिय मात्रै बनिराख्नु, त्यो मेरो धर्म पनि होइन होला। मैले आफैं पनि रिस्क लिएको हो। म सबैखाले प्रतिक्रियाको लागि तयार थिएँ।’

दयाहाङ प्रायः युट्युब र सामाजिक सञ्जालमा आएका कमेन्ट हेर्दैनन्। ती कमेन्टहरू छोटो समयको भावना भएकाले खासै असर पनि नहुने उनी ठान्छन्।

उनी स्पष्ट छन्, ‘सोसल मिडियामा हामीले आवेशमै पोस्ट गरिरहेका हुन्छौं। कमेन्ट पनि आवेशमै फ्याँकिरहेका हुन्छौं। पोजेटिभ होस् वा नेगेटिभ। त्यसलै त्यतातिर मेरो ध्यान छैन।’

नेपाली समाजमा यौनलाई रहस्यको विषय बनाइयो। स्वास्थ्य र आरोग्यसँग जोडेर हेरिएन। त्यसैले यस विषयमा कुरा गर्न जरुरी रहेको बताउँछन् दयाहाङ। यस्ता विषयवस्तुलाई फिल्मका कथावस्तुमा उठान गर्न सके त्यो झनै प्रभावकारी हुने उनको बुझाइ छ।

‘अक्सर मैले देखिरहेको स्वास्थ्य समस्याको कुरामा महिलाका कुराहरू धेरै उठ्छन्। पाठेघर क्यान्सरदेखि स्तन क्यान्सरको कुरा आउँछन्। मानसिक स्वास्थ्यको विषयमा पनि खुल्न थालेका छौं। तर, यौन समस्याबारे खुलेर बोलिन्नँ,’ उनको बुझाइ छ, ‘हुन त यौन त गोप्य नै हो। तर, विषय उठाएर सामान्य छलफल हुनुपर्छ। यसलाई जति गोप्य राखियो, त्यसले नकरात्मक कुराहरू अथवा दुर्घटनाहरू आउन सक्छन्।’

कवि बन्दाको अनुभव
यस फिल्ममा चर्चित कवि श्रवण मुकारुङका १० वटा कविता समावेश गरिएका छन्। फिल्मको विषयवस्तुभन्दा पनि कवितावाचन गर्दा बढी भएको सुनाउँछन् दयाहाङ। भन्छन्, ‘उहाँका त्यति मिठा र सुन्दर कविता छन, त्यसलाई वाचन गर्नचाहिँ मलाई जोखिम लागेको थियो। एक त अभ्यासको समय थिएन। त्यसको लागि तीन–चार महिना लाग्थ्यो। त्यसैले मैले कवितालाई जति बुझेँ, त्यसलाई इमान्दारिताका साथ वाचन गर्ने कोसिस गरेँ।’

कवितामा ठूलो शक्ति हुन्छ, प्रभावकारी अभिव्यक्तिका लागि। कतिपय संवाद र भाषणभन्दा कविताका दुई हरफ काफी हुन्छन्। त्यसैले फिल्ममा कविहरूको सहकार्य हुनुलाई उनले सुन्दर रूपमा हेरेका छन्।

फिल्म खेलिसकेपछि दयाहाङले कवि आँखाबाट समाजलाई कसरी हेरिने रहेछ भन्ने बेग्लै अनुभव पनि गरे।

‘समाज जसरी सलल बगेको छ, त्यसको एउटा कुनाबाट कविले कसरी सोच्ने रहेछ भन्ने पनि अनुभूत गर्न पाइयो,’ उनी भन्छन्।

‘दुईअर्थी होइन, प्रतीकात्मक संवाद’
फिल्मको विषयवस्तु सार्वजनिक भएदेखि नै दुईअर्थी संवाद धेरै प्रयोग गरिएको भन्ने प्रतिक्रिया उनले पाइरहेका छन्। तर, दयाहाङ भने ती संवादलाई प्रतीकात्मक भन्न रुचाउँछन्।

‘त्यस्तो दुइअर्थी संवाद छैन। अब यौनको विषयमा दुईजना केटाकेटी कसरी बोल्ने त? त्यसैले संकेतात्मक तरिकाले बोलिएका संवाद चाहिने नै थिए,’ दयाहाङ प्रस्ट्याउँछन्, ‘पात्रको चरित्र कसरी निर्माण हुन्छ, त्यसले फरक पार्छ साहित्यमा होस् वा सिनेमामा। संकेतात्मक रूपले बोल्ने नेपाली संस्कृति पनि होजस्तो लाग्छ। धेरै साहित्यिक भाषामा बोलिरहेका हुन्छौं नि, त्यो हाम्रो सुन्दरता पनि हो।’

कुनै पनि फिल्म खेलेपछि दयाहाङ हिट–फ्लपको दबाब लिँदैनन्। बक्स अफिस क्षणिक हो भन्ने लाग्छ उनलाई।

‘म कहिल्यै पनि दबाब लिन्नँ,’ समकालीन रंगमञ्चमा सर्वाधिक माग भएका अभिनेता भन्छन्, ‘म जहिल्यै पनि सम्झिन्छु कि बक्स अफिस तत्कालका लागि तोकिएको हो। हामी सय वर्षअगाडि वा चालीस वर्षअघिका फिल्महरू पनि हेर्छौ नि। तिनले अहिले बक्सअफिसमा कस्तो गर्ला वा हिट दिनुपर्छ भन्ने दबाब लिन्न।’

‘स्याबास भन्नेले खबरदारी पनि गर्छन्’
दुःखी आत्मालाई दयाहाङले चुनौतीकै रूपमा स्वीकारेका हुन्, उनलाई फरक अवतारमा देखेर दर्शकहरू कतै भड्किने त होइनन् भन्ने आशंकाका बीच। तर, दर्शक भड्किनुलाई पनि उनी सकरात्मकरूपमै हेर्छन्।

‘त्यो भयो भने झनै राम्रो भयो नि, (मलाई) साइजमा त ल्याउँछ,’ निष्फिक्री सुनिन्छन् उनी, ‘मेरो लागि सधैं राम्रो मात्रै भनिदिओस् भन्ने लाग्दैन।’

जसले प्रशंसा गर्छन्, तिनले आलोचना पनि गर्ने हक राख्छन् भन्ने उनको मान्यता छ। अर्थात्, स्याबास् भन्नेले खबरदारी पनि गर्न पाउँछन्। भन्छन्, ‘मलाई यो कुरा थाहा छ कि धेरै राम्रो मेरो प्रशंसक हुनुहुन्छ भने मेरै कारणले उहाँहरू मेरो विरुद्धमा हिँड्नुहुन्छ। मैले असल काम गर्ने कोसिस गर्ने हो। तर, काम–कोसिस गर्दागर्दै खराब परिणाम आयो भने पनि त्यसलाई स्वाभाविक मान्छु।’

यौन स्वास्थ्यमा आधारित कथामा फिल्म बनाउनु नेपाली समाजमा एउटा अलग प्रयोग हो। नियमितभन्दा भिन्न बाटो हिँड्दा र भिन्न वेशमा देखिँदा ‘के गरेछ’ भन्नेहरू भइहाल्छन्। तर, १८ प्लसका लागि भनेर अहिलेको जुन फिल्ममा दयाहाङ देखिँदै छन्, लक्षित समूहले स्वीकार्ने नै छ भन्ने उनको अपेक्षा छ।

‘उहाँहरूको अपेक्षाभन्दा उल्टो वा अलिकति फरक हुनेबित्तिकै अरे भन्ने त आउँछ,’ उनको निष्कर्ष छ, ‘त्यो स्वाभाविक हो। यो रेगुलर गरेको भन्दा कन्टेन्ट नै फरक हो। हिजो सपरिवार हेर्नुहुन्थ्यो। आज १८ प्लस भनेका छौं। मैले त्यही कटौती गरिदिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad