डकु ड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा एक युवतिको पेटमा डोरीले वाधेको र कसैले जवर्जस्ती गर्न खोजेको अनुमान लगाउन सकिन्छ। निर्माण टिमले यसको कथा र कन्सेप्ट भने सार्वजनिक नगरेपनि पोस्टर हेर्दा फिल्मले महिला हिंसाको कथा भन्ने अनुमान गर्न सकिन्छ।
सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने निर्माण टिमको तयारी छ।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई मात्रै फिचर्ड गरिएको छ, चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ। पोस्टरसँगै फिल्मका मुख्य टिम सदस्यहरू पनि सार्वजनिक गरिएका छन्।
फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले फिल्म यथार्थपरक र सचेतनामुलक बनेको बताए। ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट होइन, यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने।
फिल्मको कथा निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी शंकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोलले गरेका हुन् भने पोस्टर टौवा स्टुडियोमा निर्माण भएको हो।
यस प्रोजेक्टमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकारको अभिनय रहेको जनाइएको छ। फिल्मका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्।
फिल्मको प्राविधिक पक्षमा भरत कंडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन्।
यो डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थाहरूमा विशेष शोमार्फत प्रदर्शन गरिने निर्माण पक्षको तयारी छ। यो फिल्मका निर्माता तथा निर्देशक ज्ञवाली एक दशक लामो पत्रकारिता यात्रा पश्चात् फिल्म निर्देशनमा प्रवेश गरेका हुन्।
उनको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ १ बर्षअघि तयार भई हाल विभिन्न फिल्म फेस्टिवलहरू तथा च्यारिटी शोहरूमा प्रदर्शन भइरहेको छ। त्यस्तै, उनको अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘मौन’लाई पनि अवार्ड, विशेष प्रदर्शन तथा च्यारिटी शोहरूमा सहभागिता गराउने योजना रहेको छ।
निर्देशक ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘लापत्ता सन्तान’, ‘हनिमुन’, ‘आराध्या’, ‘लिलामी’ आदि सर्ट फिल्म निर्देशन गरेका छन्।
Shares

प्रतिक्रिया