राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशको हितमा नभएकोले खारेज गर्नुपर्ने बताएका छन्।
मंगलबार राजमो रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यो शासनप्रणाली भिराउनेको भन्दा भिर्नेबाट नै देशमा समस्या उत्पन्न भइरहेको बताए।
आगामी चैत २४ देखि ३० गतेसम्म जनमोर्चाले संघीयता खारेजीका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ। उक्त आन्दोलन आफ्नो पार्टीको मात्र नभएर सम्पूर्ण देशभक्त नेपालीको आन्दोलन भएको केसीले स्पष्ट पारे।
‘संघीयताको नामबाट नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रलाई सिध्याउँछन् कि भन्ने खतरा बढेको छ’ उनले भने, ‘यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्रै होइन, देशलाई माया गर्ने सम्पूर्ण देशभक्त नेपालीको हो।’
अध्यक्ष केसीले आन्दोलनलाई सफल बनाउन गत मङ्सिरमा जिल्लादेखि टोलसम्मका भेला सम्पन्न गरिसकेको र पुसमा विभिन्न तहका प्रशिक्षण कार्यक्रम गरिएको जानकारी दिए।
यसैबीच काठमाडौं केन्द्रित आन्दोलनको तयारीका लागि राजमो रुपन्देहीले जिल्लाब्यापी प्रचारात्मक अभियान सञ्चालन गर्ने जनाएको छ।
राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीका अनुसार माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभा हुनेछन् भने पुस २१ गतेदेखि सुरु भएको सङ्गठनात्मक अभियान फागुन २१ गतेसम्म चल्ने छ।
त्यस्तै, फागुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल ऱ्यालीको आयोजना गरिने छ भने फागुन ४ गतेदेखि चैत १५ गतेसम्म जिल्लाव्यापी आर्थिक अभियान संकलन गरिने भएको छ।
Shares

प्रतिक्रिया