खरले छाएको सानो झुपडी। पिँढीमा बसिरहेका छन् एक वृद्ध। जसको हातमा छ थोत्रो रेडियो। घाममा सुकाएका छन् ब्याट्री। ती ब्याट्रीको सहायताले रेडियोबाट उनी खबर सुन्न आतुर छन्। जसलाई उनी वर्षौँदेखि कुरिरहेका छन्।
अचानक रेडियो बज्छ। एक प्रस्तोताले उद्घोष गर्छिन् : नमस्कार! यो रेडियो नेपाल हो। अब सुन्नुहोस् मध्यान्न १२ बजेको समाचार। शान्ति वार्तापछि जंगलले लगेका केही मानिसहरू घर फर्किएका छन्।
त्यसपछि रेडियोको ध्वनि धर्मराउँदै जान्छ। ती वृद्ध ‘ए नानी, कोपिला छैन’ भन्दै कराउँछन्। त्यसपछि युद्धमा हराएकी नातिनी फर्किने आशमा उनी समय काट्न थाल्छन्।
एकदिन ती उनीसँग ठोक्किन्छन् गाउँगाउँ चिठी पुर्याउने एक हुलाकी। त्यसपछि खुल्छन् युद्धकालका भयानक कथाहरू। जसले उनीहरूको खुसी लुटेको छ। परिवार खोसेको छ। त्यही गुमेको खुसी र नसुल्झिएको बोझको कथा हो : नाटक हरि हजुरबा। जुन नाटक थापागाउँस्थित मण्डला थिएटरमा चलिरहेको छ।
नाजिर हुसेनको लेखन र निर्देशनमा बनेको यस नाटकले युद्धले पारेको प्रभावको कथा भन्छ। जसलाई पीडितहरूले अझै भुल्न सकेका छैनन्। पीडाको घाउ निको हुन सकेको छैन। र, उनीहरूको जीवन आफन्तको पर्खाइमा बितिरहेको छ। हरि र हजुरबा पात्रमार्फत युद्धप्रभावितको पीडा र भोगाइलाई नाटकमा उतारिएको छ।

नाटकमा नाजिर हुलाकी अर्थात हरिको भूमिकामा छन्। र, अहिलेका चर्चित अभिनेता विजय बराल हजुरबा पात्र बाँचेका छन्। हजुरबा पात्रमा विजय निकै फिट देखिन्छन्। नाजिरले पनि हरि पात्रलाई न्याय गरेका छन्। दुवैको बेजोड अभिनयले दर्शकलाई बाँधेर राख्छ।
त्यसैगरी, फ्ल्यासब्याक दृश्यहरूले नाटकलाई झन् रोचक बनाएको छ। नाटकमा जब विगत जीवित हुन थाल्छ, त्यसका छायाहरू पनि साथमा आउँछन्। सम्बन्ध र सम्झनाको अप्रत्याशित मोडले नाटकलाई चाखलाग्दो बनाएको छ।
मानवीय सम्बन्धलाई पनि नाटकले सशक्त ढङ्गमा प्रस्तुत गरेको छ। हजुरबाको नातिनीप्रतिको माया होस् वा हरिको बुवाआमासँगको सम्बन्ध, त्यसलाई बलियो रुपमा देखाइएको छ। अझ हजुरबाले आफ्नो श्रीमतीलाई सम्झिँदाको प्रेमिल विगतले दर्शकको ध्यान खिच्छ।
प्रप्स र बिम्बको प्रयोगले नाटकलाई कलात्मक बनाएको छ। नाटकमा अनुहार ढाकेको मुखौटाको उपस्थितिले युद्धमा हराएकाहरूका आवाजहरू बोक्छ। ती आवाजहरूले, सत्य र भ्रमबीचको रेखालाई धुमिल पार्दै, मानिसहरूको मनमा गुमेका व्यक्तिहरूप्रति रहेको खाली स्थान र निको हुन नसकेको घाउको मर्मस्पर्शी चित्रण गर्छ।
माओवादीलाई जंगल र सेनालाई चोक भनेर बिम्बको रुपमा प्रयोग गरिएको छ। नातिनीको रातो रंगको स्विटरदेखि पहाडलाई देखाउँदाको दृश्य पनि बिम्बात्मक छ।
संगीत र प्रकाश पनि नाटकलाई बलियो पक्ष हुन्। नाटकमा समावेश गीतसंगीतले समयको परिवेश र पात्रअनुसारको मुड सिर्जना गर्छ। लाइटको प्रयोगदेखि सेट डिजाइन पनि नाटक सुहाउँदो छ।

समग्रमा नाटकले युद्धमा हराएका आफन्तको पर्खाइको कथा भन्छ। साथै युद्धले घर र गाउँ रित्तो भएको कुरालाई पनि समेटेको छ। अनुत्तरित चिठीहरूको माध्यमबाट नाटकले गुमेको सम्झना र नसुल्झिएको बोझको कथालाई उजागर गर्छ।
लेखनको हिसाबले नाजिरको यो डेब्यु नाटक हो। म्युजिक र कोरसको सम्मिश्रणबाट पात्रहरूको भावनात्मक र भौतिक देखाउँदै पहिलो नाटकबाटै उनले सम्भावना देखाएका छन्।
नाटकको जननी अधुरो कविता
हजुरबा पात्रले नाटकको सुरुवातमै एक कविता सुनाउँछन्:
माटोबाट सुरु भयो जीवन
माटोमै सकिन्छ
गुडमा कुर्छ बचेराले माउलाई
मान्छेले कुर्नु त एकमुठी सास नै त रहेछ
यसै कविताको विषयवस्तु वरिपरि नाटकको कथा घुमेको छ। जुन कविता नाजिरले छ/सात वर्षअघि लेखेका हुन्। त्यसै कवितालाई कथाको रुपमा बुन्दै नाटक तयार पारेको बताउँछन् लेखक तथा निर्देशक हुसेन।
‘छ/सात वर्षअघि यो कविता लेखेको थिएँ। डायरी पल्टाउँदा जहिले जहिले यो कविताको लाइन देख्थेँ, यो अपुरो कथालाई पूरा गर्न पाए हुन्थ्यो भनेर सोच्थेँ,’ उनले भने ‘एकदिन यस कविताबाट नाटक बनाउन सकिन्छ भन्ने महसुस भयो। त्यो कविता पूरा नगरीकन कथा लेख्न सुरू गरेँ। कथालाई नाटकमा ढालेँ।’
आफूले नभोगे पनि नाजिरले युद्धले गाउँलेलाई पारेको प्रभाव देखेका थिए। र, युद्धका अनेकौँ तीता समाचार पनि सुनेका थिए। त्यही युद्धको निको हुन नसकेको घाउहरूलाई कथावस्तु बनाएको सुनाउँछन् उनी।

‘युद्धको बेला देखेको अनि समाचारका आएका कुराहरू दिमागमा बसेको थियो। बेपत्ता पारिएको कथाहरू सुन्दा जहिल्यै जिरिङ्ग हुन्थ्यो। कम्तीमा थाहा हुनेले भनिदिनुपर्छ भन्ने लाग्थ्यो। त्यो रिस, नैराश्य र असहमति कसरी भन्न सक्छु भनेर नाटक लेखेको हुँ। युद्धमा हराएकालाई पर्खिने मान्छे कति धेरै हुनुहुन्छ। त्यो हिसाबमा मैले यसलाई उठान गरेको हुँ,’ उनले भने।
मण्डलालाई दोस्रो घर बताउँदै विजय बरालसँग सहकार्य गर्न निकै मन परेको सुनाउँछन् उनी। ८ वर्षपछि रंगमञ्चमा फर्किएका नाजिरले सुरुवातदेखिनै विजयसँग काम गरेको सुनाए।
उनले भने, ‘सुरुवाती कालदेखि नै विजय दाइसँग लामो समय काम गरेँ। उहाँसँग काम गर्न पाउँदा छुट्टै उर्जा आउँछ। दाइलाई ६ महिनाअघि सेयर गरेको हुँ। मैले डिजाइन गर्दा इमोसनल र फिजिकल जर्नी देखाउन मन थियो। उहाँ एकदमै उत्साहित हुनुहुन्थ्यो। उहाँ एकदमै सजिलो हुनुहुन्छ।’
यस नाटकको निर्माता पनि अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ हुन् । नाटकमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय छ। यो नाटक पुस २८ गतेसम्म चल्नेछ।
Shares

प्रतिक्रिया