कला


‘पूर्णबहादुरको सारंगी’ को एक महिना : ७५ करोड कमाइ, कीर्तिमानै कीर्तिमान

‘पूर्णबहादुरको सारंगी’ को एक महिना : ७५ करोड कमाइ, कीर्तिमानै कीर्तिमान

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १७:४५, काठमाडौँ

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले नेपालभित्र मात्र ५० करोडको व्यापार गरेको छ। कात्तिक १५ गतेबाट प्रदर्शनरत यस फिल्मले एक महिनामा नेपालभरि ५० करोड ग्रस कलेक्सन गरेको छ र भने विदेशमा २५ करोड हाराहारी कमाएको छ। यसबीचमा नेपाली चलचित्र उद्योगमा उसले विभिन्न कीर्तिमान राख्न सफल भएको छ।

गएको एक महिनामा देशभरिक हलहरूमा यस चलचित्रको उत्साहजनक उपस्थिति रहेको र ५० करोड हाराहारीमा व्यापार गरेको निर्देशक सरोज पौडेलले जानकारी दिए। ‘पूर्णबहादुरको सारंगीले एक महिनामा नेपालभरि ५० करोड हाराहारीमा व्यापार गरिसकेको छ। विदेशमा भने २५ करोड कमाएको छ। पाँचौं हप्तामा पनि दर्शकहरूको साथ पाउँदा निके खुसी छौँ,’ उनले भने।

एक महिनादेखि नेपाली बक्सअफिस ‘पूर्णबहादुरको सारंगी’ कै कब्जामा छ। यस फिल्मले आक्रामक व्यापार गर्दा विदेशी फिल्मसमेत छायामा परे। ‘सिंघम अगेन’ र ‘भुलभुलैया २’ जस्ता फिल्महरुले कम सो पाए। अझ भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज हुन सकेन। यस्तै, फिल्म ‘केटी हराएको सूचना’ ले पनि रिलिज मिति सार्नुपरेको थियो।

तर, कात्तिक ३० गतेबाट रिलिज भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले भने राम्रै साथ पायो। मंसिर ७ बाट विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ हलमा लागेको थियो। यसको व्यापार भने औसत छ। यी दुवै फिल्मको दाँजोमा हलमा पाँचौँ हप्तामा पनि ‘पूर्णबहादुरको सारंगी’ को सो बढी छ। मंगलबार देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स उत्साहजनक सो दिँदा बिग मुभिजले ४ र वान सिनेमाजले ७ दिएका थिए। जुन सोमा दर्शकहरूको भरपूर साथ छ।

अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड पनि यसै फिल्मको नाममा दर्ज भएको छ। व्यापारमा मात्रै होइन, ‘पूर्णबहादुरको सांरगी’ समावेश गीतहरू उत्तिकै लोकप्रिय बन्न पुगे। ‘रैया चाँदीको’ देखि ‘काँधेकुरी’, ‘नोटैले’ ‘मैझारो’ र ‘चरी’ बोलका गीतहरू टिकटकलगायत सामाजिक सञ्जालमा छाएका छन्।

‘रैया चाँदीको’ गीत युट्युबमा डेढ करोडमाथि भ्युज पाउँदा ‘काँधेकुरी’ पनि करोड क्लबमा प्रवेश गर्ने तरखरमा छ। यी गीतका शब्ददेखि संगीत र स्वरले फिल्मको भाव बोकेका कारण यी सबै गीतलाई दर्शकहरूले रुचाएका हुन्। बुधबारका लागि क्यूएफएक्सले उपत्यकाभरि २७ सो उपलब्ध गराएको छ। त्यसपछि भने यसको सो खुम्चिनेछ।  

यस फिल्ममा पश्चिम पहाडको गाइने समुदायका बाबुछोराको कथा छ। मुख्य भूमिकामा रहेका विजय बराल र अञ्जना बराइली यही फिल्मबाट करिअरको उपल्लो सिँढी चढेका छन्। रैया चाँदीको गीतमा मेलिना राईसँग पुरूष स्वर दिएका आशिष अविरलको गायकी स्थापित गराउन पनि यही फिल्म प्रस्थानबिन्दु बन्न पुगेको छ। यसअघि उनी संगीतकारको परिचयमा सीमित थिए। काँधेकुरीका गायक प्रशान्त सिवाकोटी यही गीतबाट चर्चित बन्न पुगे। 

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म १ करोड ३० लाखमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad