पछिल्लो दुई महिनामा नेपाली फिल्महरुले १ अर्बको व्यापार गरेका छन्। असोज पहिलो साता रिलिज भएको ‘खुस्मा’ देखि ‘ह्रस्व दीर्घ’ सम्मका फिल्मले सय करोडको आकंडा पार गरेका हुन्।
असोज ३ गते रिलिज भएको फिल्म ‘खुस्मा’ लाई दर्शकहरुले हलसम्म तानेको थियो। उपासना सिंह ठकुरी र धिरज मगरको मुख्य भूमिका रहेको फिल्मले ६ करोड बढी कमाइ गरेको थियो।
त्यसैगरि, दसैंमा रिलिज भएका फिल्महरु पनि दर्शकहरुको रोजाइमा परे। असोज १७ गते घटस्थापनाको दिन हलमा लागेको स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले पनि चार करोड बढी कमाइ गरेको थियो। यद्यपि, निश्चलले कम सो पाएको भन्दै कात्तिक १ गतेबाट फिल्म हलबाट झिक्दै ओटीटीमा ल्याए।
फूलपातीको दिनबाट रिलिज भएका तीन नेपाली फिल्मलाई पनि दर्शकहरुले भरपुर साथ दिए। दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ ले बक्सअफिसमा उछाल ल्याए। सुरुवातमा सुस्त व्यापार गरे पनि जितु नेपालको ‘ज्वाइँ साब’ ले ४ करोड कमाएको थियो। त्यसैगरि, ‘छक्का पञ्जा ५’ २० करोड कमाउँदा हलमा प्रदर्शनरत विराजका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ ले साढे २५ करोड कलेक्सन गरिसकेको छ।
कात्तिक १५ गतेदेखि रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ ले त बक्सअफिसमा सुनामी ल्यायो भन्दा फरक नपर्ला। किनकी यसकै कारण बलिउडका ठूला फ्रेन्चाइज फिल्महरू ‘सिंगम अगेन’ र ‘भूलभुलैया ३’ पाखा लागे। नेपाली फिल्मको दबदबाबीच पछि वितरकले ‘सिंगम अगेन’लाई हलबाटै उतारे। त्यस्तै, नेपाली फिल्मकै कारण सम्भवतस् पहिलोपटक विदेशी फिल्म ‘कंगुवा’ नेपाल आउन सकेन।
विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ। एकैदिन धेरै कमाउने फिल्मसहित अत्याधिक सो पाउने फिल्मको रेकर्ड पनि कायम गरिसकेको फिल्मले घरेलु बक्सअफिसमा ३९ करोड ७४ लाख कमाइसकेको छ। बक्सअफिसमा फिल्मको रफ्तार अझै रोकिने छाँटकाँट छैन।
त्यसैगरि, कात्तिक ३० गतेबाट प्रदर्शनरत नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ यतिखेर राम्रो कमाइ गरिरहेको छ। निर्माणटिमले दिएको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले ६ दिनसम्म ५ करोड ४ लाख कमाइ सकेको छ।
विगत दुई महिनामा नेपाली फिल्मको कूल कमाइ १ अर्ब ४ करोड ६४ लाख पुगिसकेको छ। जुन नेपाली फिल्म इतिहासकै छोटो समयमा बनेको कमाइ हो।
छोटो समयमा एक अर्बको बजार बन्नु। र, विदेशी फिल्मलाई पाखा लगाएर नेपाली फिल्मले रेकर्डमाथि रेकर्ड बनाउनु। साँच्चिकै भन्नुपर्दा यो समय दुलर्भ छ। व्यापारको यो गतिलाई हेरेर धेरैले फिल्मक्षेत्रको स्वणिम युगको रुपमा व्याख्या गर्न थालेका छन्।
Shares

प्रतिक्रिया