बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ को नयाँ प्रदर्शन तय भएको छ। यो फिल्म सन् २०२५ जनवरी १७ बाट रिलिज हुँदैछ।
सेन्सरबाट सर्टिफिकेट पाएसँगै फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको हो।
ट्रेलर रिलिज भएदेखिनै ‘इमरजेन्सी’ को विरोध सुरु भएको थियो।
लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले यसलाई प्रमाणपत्र दिएको थिएन। जसकारण प्रदर्शन मिति सेप्टेम्बर ६ मा फिल्म रिलिज हुन सकेन।
सेन्सर प्रमाणपत्रको माग गर्दै फिल्म निर्माता जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज बम्बई उच्च अदालत पुगेको थियो। सिख संगठनले यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग राखेका थिए।
शिरोमणि अकाली दललगायत सिख संगठनले फिल्म निर्माताले सिख समुदायको भावनामा चोट पुर्याएको र गलत रूपमा प्रस्तुत गरेको आरोप लगाए। आफूसँग सम्बन्धित घटनालाई विकृत गरिएको शिख समुदायको आरोप थियो।
यस फिल्ममा कंगनाले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ।
कंगना यस फिल्मका निर्देशक र निर्माता पनि हुन्।
फिल्ममा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया