कला


पत्रकार प्रदीप पोखरेल निर्देशित ‘चेजिङ द ड्रिम’ले ब्राजिलमा जित्यो अवार्ड

पत्रकार प्रदीप पोखरेल निर्देशित ‘चेजिङ द ड्रिम’ले ब्राजिलमा जित्यो अवार्ड

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १२:२३, काठमाडौँ

दुई दशक लामो समय विदेशमा बसेर धेरै अनुभव बटुलेपछि गाउँ फर्केका लाक्पा ढन्डुपको कथामा केन्द्रीत नेपाली डकुमेन्ट्री ‘चेजिङ द ड्रिम’ले ब्राजिलमा सम्पन्न १० औं बाहिया इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा बेस्ट डकुमेन्ट्री सर्ट फिल्म अवार्ड जितेको छ। 

यो डकुमेन्ट्रीको निर्देशन पत्रकार प्रदीप पोखरेलले गरेका हुन्। फेस्टिवल ब्राजिलको साल्भाडारमा यही नोभेम्वर ४ देखि ७ सम्म भएको थियो।

डकुमेन्ट्रीको कथा अनुसार, उत्तरी गोरखाको बिकट गाउँ नामरुङका लाक्पा कामको खोजीमा ११ वर्षको उमेरमा काठमाडौं जान्छन्। केही वर्षपछि काठमाडौंबाट सिंगापुर पुग्छन्। व्यापारको सिलसिलामा दर्जनौं देशको भ्रमण गर्ने अवसर मिल्छ। उनको जीवनमा धेरै परिवर्तन हुन्छ। धेरै अनुभव बटुलेर झण्डै २० वर्षपछि गाउँ फर्कन्छन्। 

उनको गाउँ खासै परिवर्तन भएको हुँदैन। उनलाई आफू जन्मेको गाउँ झन् विकट लाग्छ। गाउँको मुहार फेर्न गाउँमै बस्ने संकल्प गर्छन्। गाउँ फर्केका उनी गाउँको सम्भाव्यता अध्ययन गर्न मनास्लु संरक्षण क्षेत्रको गाउँगाउँमा पुग्छन्। २७ दिन लामो अध्ययन भ्रमणपछि गाउँमै बसेर पर्यटन विकासमा लाग्ने सोच बनाउँछन्। चेजिङ द ड्रिम लाक्पाको यही कथा वरिपरि घुमेको छ। 

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त मनास्लु ट्रेक (लार्के पास) मा पर्ने उनको गाउँमा व्यवस्थित किसिमको नुब्री फोर सिजन रिसोर्ट संचालन गरेका छन्। बर्षौसम्म बाँझै मिल्किएको तीन सय रोपनी जग्गामा स्याउ रोपेर नाङ्गो पहाडलाई हराभरा बनाएका छन्। त्यहाँ उनले दर्जनौंलाई रोजगारी पनि दिएका छन्। 

अहिले मनास्लु ट्रेक राम्रो गन्तव्य बनेको छ। उनको स्याउबारी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। उनले गाउँमा स्थानीय अर्गानिक स्याउ र स्याउबाट बनेका विभिन्न परिकार पर्यटकलाई बिक्री गरेर राम्रो आम्दानी गरेका छन्। 

सर्यौ वर्ष पुराना दरवारहरुको संरक्षण गरेर त्यसलाई संग्रहालय बनाउँदैछन्। यस कार्यले यहाँको कला र संस्कृतिको संरक्षणमा सहयोग पुगेको छ। उनले यस क्षेत्रको प्रर्यटक प्रवर्धनका लागि अनेकौ गतिविधि संचालन गरेका छन्। 

डकुमेन्ट्रीमा उनको कथामात्र होइन, हिमाली सभ्यता र संस्कृतिको मिश्रण छ। 

निर्देशक पोखरेलका अनुसार, चेजिङ द ड्रिम यस अगाडि भारत, इटली, जर्मनी लगायतका फिल्म फेस्टिवलमा प्रदर्शनी भइसकेको छ। उनी यो डकुमेन्ट्री आगामी डिसेम्बरमा हुने नेपाल हुमनराइट्स इन्टरनेशलन फिल्म फेस्टिवलमा पनि छनोट भएको बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad