कला


चाडवाडका बेला दर्शकको रोजाइमा नेपाली चलचित्र

चाडवाडका बेला दर्शकको रोजाइमा नेपाली चलचित्र

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार १५:२८, काठमाडौँ

नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन्।

विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए।

‘फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ। गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ’, उनले भने।

दसैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार गरे। चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो। तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ। यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन्।

‘दर्शकहरुले माया गर्नुभएको छ। यो मेरा लागि नौलो अनुभव हो। मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु’, अभिनेता बरालले भने।   

चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो। हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए। यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ।  

चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ। यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए।

उनले भने, ‘चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौँ।’

दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङख्या वृद्धि भएको छ। त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता उत्साहित देखिने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad