नेपालीको दोस्रो ठूलो चाड तिहारकै एक अंग बनिसकेको छ, सिस्नुपानी नेपाल समूहको देउसीभैलो। बिहीबार साँझ उक्त समूहले यस वर्षको देउसी नेपाल प्रज्ञा प्रतिष्ठानको हालमा प्रस्तुत गरेको छ।
विगत वर्षझैँ यसपालि पनि सिस्नुपानीले नेपाली समाज, राजनीति र व्यवस्थाका विसंगतिहरूमाथि विभिन्न लयमा व्यंग्यसहित मनोरञ्जनात्मक प्रस्तुतिहरू समेटेको छ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत उपस्थित उक्त कार्यक्रममा सिस्नुपानीका कलाकारहरूले विगत एक वर्षका चर्चित भ्रष्टाचार प्रकरण, राजनीतिक अस्थिरता, नेताहरूको पदलोलुप चरित्र अनि सत्तामा हुँदा एउटा र बाहिरिएपछि अर्कै व्यवहार गर्ने प्रवृत्तिको दोहोलो काढे।
जसले २७ वर्षदेखि विसंगतिविरुद्ध ‘सिस्नुपानी’ छ्यापिरहेका छन्
प्रस्तुतिमा ओली र प्रचण्डलाई शेरबहादुर देउवाका ‘स्लिपिङ पार्टनर’का रूपमा चित्रित गरिएको छ। ओलीले महिला प्रधानमन्त्रीको चारो फालेको, आरजु राणा देउवाले दौडधुप गरिरिहेका, गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा सुँक्कसुँक्क गर्न थालेको भनेर देउसीमा उल्लेख गरिएको छ। धनराज गुरुङले सहकारीको रकम पचाउन श्रीमतीसँग डिभोर्स हानेको,
प्रचण्डले सत्तामा बस्दासम्म सिंगापुरको कुरा गरेको र बाहिरिएपछि बंगलादेश बन्ने त्रास बाँडेको कुरामार्फत व्यक्त गरिएको छ। प्रचण्डलाई नै लक्षित गर्दै भनिएको छ–
बालुवाटारमा बसुन्जेल दलालीको घेरामा
वाममोर्चाको जोक सुनाउँछन् फर्की डेरामा
कांग्रेस–एमालेको टेको लाउँदै अघि बढेका
दुईटै टेको उछिट्टिँदा भुईँमा लडेका
लडे पनि लडेँ भन्न लजाउँछन् प्रचण्ड
आन्दोलनको प्राचीन गाना गाउँछन् अखण्ड
राजा फाल्ने ऊर्जा थियो, थियो तिम्रो कत्रो जोस
अब बन्ने वाम मोर्चामा होस्
उपसभामुखले दूतावासमा पत्र लेखेको प्रकरणदेखि शरणार्थी काण्डसम्म यसपालिका सिस्नोपानी देउसीका मसला बनेका छन्। सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेदेखि एनआरएनएका गुटफुटहरूमा पनि सिस्नुपानी लगाउन छाडिएको छैन।
कलाकार मनोज गजुरेलले पश्चिम नेपालको भजनको भाका टिपेर नेपालीहरूको प्रवासनको इतिहास, प्रवृत्ति र पीडाहरू पस्केका छन्। हँसाउँदै हँसाउँदै रुवाउन पुग्ने उनको शैली यसपटकको सिस्नुपानी देउसीमा पनि हेर्न पाइन्छ।
Shares

प्रतिक्रिया