नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को विशेष प्रदर्शनी हुने भएको छ। २० अक्टोबर अर्थात आइतबार हङकङस्थित केनेडी टाउनको गोल्डेन सिन सिनेमामा रिलिज हुँदैछ।
विशेष प्रदर्शनीका लागि निर्माता अमोद राई हङकङ पुगिसकेका छन्। हङकङबासीहरुका लागि यो फिल्म विशेष भएकाले स्पेशल स्क्रिनिङ गरिएको निर्माता राईले बताए।
‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू योगदान दिएका छन्। यस फिल्ममा पनि धेरैले संलग्न भएर काम गरेका छन्,’उनले नेपालखबरसँगको कुराकानीमा भने।
विशेष प्रदर्शनीप्रश्चात यो फिल्म विदेशी फिल्मसरह हङकङका सिनेमाहलमा लाग्ने समेत उनको भनाइ छ। जसको लागि फिल्ममा चाइनिज सबटाइटल पनि समावेश गरिएको छ।
यसरी हङकङमा रिलिज हुन लागेको पहिलोपटक भएको समेत निर्माता राईले दाबी गरे। भन्छन्, ‘विशेष प्रदर्शनपछि यो फिल्म हङकङ र मकाउका हलमा लाग्दैछ। चाइनिजमा सबटाइटल भइसकेको छ। नेपालीसहित विदेशीका लागि नेपाली फिल्म देखाउन लागेको पहिलोपटक हो। नेपालीसहित विदेशीले पनि फिल्म हेर्न पाउनेछन्। यो नेपाली फिल्मक्षेत्रको लागि कोसेढुङ्गा हो’
यस फिल्मलाई हङकङको गोल्डेन सिन सिनेमाले यस फिल्मको वितरण अधिकार किनिसकेको छ। विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेकाले हङकङ वितरकले चासो देखाएको समेत उनले सुनाए। यसपछि थाइल्यान्ड, इटली लगायतका देशमा समेत प्रदर्शन गर्ने योजना रहेको छ।
नेपालबाट निर्देशक सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, मिङ्सो लिम्बू प्रदर्शनमा सहभागी हुन शनिबार नै हङकङ जाँदै छन्।
हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतको अभिनय छ।
चलचित्रको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन्।
अन्तर्राष्ट्रिय फेस्टिभलमा यो फिल्म ‘अ रोड टु भिलेज’ नामबाट प्रदर्शन भइसकेको छ। यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा पुगिसकेको छ।
ताइवानका क्वान पुन लुङले सम्पादन गरेको फिल्ममा हङकङकी संगीतकार हाइडी लीले संगीत दिएकी हुन्। फिल्मको छायांकन अमेरिकी छायाकार जोस हेरमले गरेका हुन्।
महेश राईको कथा रहेको फिल्मको पटकथारसंवाद राईसहित निर्देशक सुब्बाले लेखेका हुन्। फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा गरिएको थियो। फिल्मले गाउँमा बाटो पुगेपछि परेको असरको कथा भन्छ।
Shares

प्रतिक्रिया