राजनीति


सभापतिलाई पक्रेर सहकारीको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भयो : रास्वपा

सभापतिलाई पक्रेर सहकारीको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भयो : रास्वपा

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार २०:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेर सहकारीमा जनताको डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको बताएको छ।

शुक्रबार साँझ लामिछाने पक्राउ परेलगत्तै विज्ञप्ति प्रकाशित गरी रास्वपाले ‘बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको’ दाबी गरेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको’ पनि उल्लेख गरेका छन्।

‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ’ विज्ञप्तिमा भनिएको छ, ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ। तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन।’

रास्वपाले ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौंको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका’ आरोप पनि लगाएको छ।

साथै, उसले ‘दशकौंदेखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन’ पनि कार्यकर्ता र जनतालाई आह्वान गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad