कला


भीषण मुकारुङको ‘खुर्सानी डल्ले ३ बाडुल्की’मा एलिशा राईको प्रेम (भिडिओ)

भीषण मुकारुङको ‘खुर्सानी डल्ले ३ बाडुल्की’मा एलिशा राईको प्रेम (भिडिओ)

एलिशा राई


मगेन्द्र राई
असोज २५, २०८१ शुक्रबार १४:४८, काठमाडौँ

प्रसिद्ध गायक भीषण मुकारुङले ‘खुर्सानी डल्ले’को सिक्वेल ‘खुर्सानी डल्ले ३ बाडुल्की’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्।

दसैँको छेक पारेर सार्वजनिक उक्त भिडिओ दर्शकलाई ‘फेस्टिब गिफ्ट’का रूपमा ल्याएको गायक मुकारुङले नेपालखबरलाई बताए।

आफनै स्वर, शब्द र संगीतमा निर्माण भएको उक्त म्युजिक भिडिओ मुकारुङको आफ्नै युट्युब च्यानलबाट बुधबार (असोज २३ गते) सार्वजनिक गरिएको हो।

उक्त गीतको अरेन्ज राजु कार्कीले गरेका हुन् भने रेकडिस्ट सुरेश राई र डिजे मेवाहाङ हुन्। मिक्सिङ एन्ड मास्टरिङ किशोर थापाले गरेको गीत स्टुडिओ किङ माहोलमा रेकर्ड गरिएको हो।

दीपक गिरी र टिमले छायांकन गरेको उक्त भिडिओको सम्पादन र रंग अमृत चापागाईंले गरेका हुन् भने मेकअप कबिन खड्काले गरेका हुन्। म्युजिक भिडिओमा कथा कोरियोग्राफी र निर्देशन एलिस राईले गरेका हुन्। 

उक्त भिडिओमा एलिस राई र लोकप्रिय नायिका एलिशा राईले अभिनय गरेका छन्। डल्ले (अकबरे) खुर्सानी उत्पादन गरी बेच्ने एक लजालु गाउले युवक र स्कुल पढ्ने छात्राबीचको प्रेम भिडिओमा देख्न सकिन्छ। 

गाउँले परिवेश समेटेर निर्माण गरिएको भिडिओ भक्तपुरको गुन्डुमा छायांकन गरिएको हो।

आफ्नो रुचि आधुनिक गीतमा भए पनि लोकगीततर्फ पनि काम गरिरहेको मुकारुङले बताए।

पुराना पुस्ताका लोक गायकहरू स्वयं गाउँठाउँ पुगेर संकलन गर्थे, लोकगीतका रचनाकारको सट्टा संकलक हुन्थे, आजकलका गायक त्यसो गर्दैन भन्ने आरोप छ नि भनी नेपालखबरले राखेको जिज्ञासामा मुकारुङले प्रतिवाद गर्दै भने, ‘हो, पुराना पुस्ताकाहरूले त्यसो गर्थे। उनीहरूले तात्कालिक अवस्थाका सबै लोकगीत संकलन पनि गर्थे। तर संकलन गरे पनि त्यो गीत कसै न कसैले अवश्य लेखेका, बोलेका र गाएका हुन्थे, निर्जीव ढुंगामाटो, वनजंगलले त लेख्ने कुरा भएन। फेरि त्यतिबेला अभिलेख राख्ने चलन सम्भव थिएन गाउँघरमा। बोल्दाबोल्दै, गाउँदागाउँदै ती गीतहरू जनजिब्रोमा झुन्डिन्थे अनि त्यो लोकगीत बन्थ्यो। त्यसो त परिवर्तित समय र परिस्थितिमा लोकगीत पनि परिमार्जन हुँदै गएका छन्। तथापि लोकगीतमा त्यो देश, काल, परिस्थिति र स्थानीय ठाउँ, त्यो माटोको सुगन्ध भने छुट्नु हुँदैन।’

मुकारुङले थपे, तथापि पुरानो पुस्ताले छाडेको नासोलाई हामीले क्यारी अन गर्नु हाम्रो दायित्व हो।

खुर्सानी डल्लेलाई दर्शकले अत्याधुनिक रूपमा रुचाएपछि  उत्साहित मुकारुङले यही नामलाई निरन्तरता दिएका हुन्। पहिलो भिडिओ ६८ लाखभन्दा बढीले युट्युबमा हेरेका छन्। दोस्रोमा दर्शक तथा स्रोताले चाहेको चिज पस्कनबाट चुकेको हो कि भन्ने महसुस भएर तेस्रोमा उनीहरूको चाहना सम्बोधन गरिएको उनको भनाइ छ। 

भोजपुरका स्थायी बासिन्दा मुकारुङले हालसम्म आधुनिक र लोक गरी ५०० भन्दा बढी गीतमा स्वर दिएका छन् भने ६० भन्दा बढी गीतमा संगीत भरेका छन्। साथै विभिन्न देशमा आफ्नो  सांगीतिक प्रस्तुति पनि दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad