वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टलाई प्रगतिशील लेखक संघ र विभिन्न ८४ संघसंस्थाले गर्ने अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ। शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ। भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मान गर्नेछन्।
संघका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले साहित्य, शिक्षा र राजनीतिक क्षेत्रमा भट्टले गरेका कामले मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भट्टको गौरवशाली विगतबाट समाजले लाभ लिइरहेकाले सम्मान गर्न उचित ठानिएको बताए।
भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका कृति प्रकाशित छन्। उनका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन्। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौंको विश्वनिकेतन हाइस्कूलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गरेका थिए।
उनी विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल भएका थिए। विसं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक र उपनिर्देशक उनले २०४५ पछि त्रिवि अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गरेका थिए। हाल उनी अल्जाइमर रोगका कारण कर्मशील जीवनबाट अलग्गिएका छन्। रासस
Shares

प्रतिक्रिया