साताको अन्तिम कारोबार दिन सेयरबजारमा गिरावट आएको छ। बजार कारोबार मापन गर्ने नेप्से सूचक ५.५० अंकले र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.१५ अंकले घटेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ७९ कम्पनीको कारोबार भएको थियो। जसमध्ये ५९ लाख कित्ता सेयर बिक्री भएका छन्। बिहान ११ बजेदेखि ३ बजेसम्म २२ हजार ५ सय ३१ पटक भएको खरिदबिक्रीपछि सेयरबजारमा २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
कुल १२ समूहमध्ये आज जीवन बीमा, माइक्रोफाइनान्स, अन्य, फाइनान्स, विकास बैंकको कारोबार सूचक हरियो हुँदा बाँकी समूहको सूचक राताम्य भएका छन्।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड ८७ लाखको सेयर कारोबार भएको छ। यो परिमाण आजकै सर्वाधिक कारोबार हो। त्यसपछि एनएमबी बैंकको १२ करोड ६५ लाखको, एनआईसी एसिया बैंकको ९ करोड ६८ लाखको, मञ्जुश्री फाइनान्स लिमिटेडको ८ करोड ३२ लाखको र नबिल बैंकको ६ करोड ५८ लाखको कारोबार भएको छ।
सेयर १० प्रतिशतले बढ्दा मञ्जुश्री फाइनान्सका सेयरधनीले सर्वाधिक आम्दानी गरेका छन्। त्यसपछि राधी जलविद्युत् आयोजनाको पनि ९.०४ प्रतिशतले सेयर बढेको छ। त्यस्तै, बोटलर्स नेपाल (तराई) लिमिटेडको ८.२१ प्रतिशतले सेयर बढ्दा प्रतिकित्ता ५ सय ६३ रुपैयाँ सेयरधनीको हातमा परेको छ। जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ७.०२ प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले प्रतिकित्ता १ सय ५ रुपैयाँ आम्दानी गरेका छन्। पाँचौँ स्थानमा रहेको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ६.१६ प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले ४९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
गुमाउने कम्पनीले आज ९.६९ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। सर्वाधिक गुमाएको नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको उक्त दरले सेयरमा गिरावट आएको हो। त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पनि ९.३२ प्रतिशतले सेयर मूल्य घटेको छ।
तेस्रो धेरै गुमाउने मिथिला लघुवित्त वित्तीय संस्थाको ६.६७ प्रतिशतले, युनियन हाइड्रोपावर लिमिटेडको ६.०६ प्रतिशतले र पाँचौँ धेरै गुमाएको ओरेन्टल होटल्स लिमिटेडको ४.६१ प्रतिशतले सेयरमा गिरावट आएको छ।

प्रतिक्रिया