ad ad

कला


फिल्मी गीतमा करण परियारको डेब्यु

फिल्मी गीतमा करण परियारको डेब्यु

नेपालखबर
असार ३१, २०८१ सोमबार १०:१७, काठमाडौँ

साउन ३२ गतेदेखि पुन: प्रदर्शन हुने फिल्म ‘बुलाकी’का लागि दुई गीत रेकर्ड गरिएका छन्। यसको एक मार्मिक गीतमा नेपाल आइडल सिजन ५ विजेता करण परियारले स्वर दिएका छन्। 

योसँगै करणले फिल्म 'बुलाकी'मार्फत पार्श्व गायनमा डेब्यु गरेका छन्।

आइतबार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा उपस्थित करण केही नर्भस र केही उत्साहित देखिन्थे। 

गायिका समीक्षा र करण एकसाथ मिडियामा प्रस्तुत भएका थिए। नेपाली गीत-संगीतको इतिहास बोकेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउन पाउँदा पछिल्लो पुस्ताका उदयीमान कलाकारद्वय भाग्यमानी सुनिए। 

आफूहरूको स्वरबद्ध गीतले फिल्मको कमर्सियल पाटोलाई समेत सघाउने विश्वास करण र समीक्षाको छ।

बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुवै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए।

एक गीतमा करणसहित अनु चौधरीले स्वर दिएका छन् भने अर्को एक गीतमा गायिका समीक्षाले।

यो फिल्म गत वर्ष वैशाख १ गते प्रदर्शनमा आएको थियो। तर, शो नपाएको भन्दै तेस्रो दिनबाट निर्माताले हलमा रिलिज रोक्ने निर्णय गरेका थिए।

यस फिल्मले कर्णाली भेगको जारी प्रथाको कथावस्तुलाई प्रस्तुत गरेको छ। 

देश-विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा फिल्मले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनयलगायत विभिन्न विधामा उत्कृष्टको अवार्ड जितिरहेको छ।

फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमीकमजोरी सुधार्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको विष्टको भनाइ छ।

यस फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारीलगायतले अभिनय गरेका छन्। 

मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।

शिव ढकालले छायांकन गरेको फिल्म अर्जुन जिसीसँगै निर्देशक सुनारले सम्पादन गरेका हुन्। फिल्मको कथा तथा पटकथा राजबहादुर सानेले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .